गृहपृष्ठ घर फर्कन आन्दोलन गर्छन् संक्रमितहरू, ज्वरो नापेर संक्रमणमुक्त भएको घोषणा
घर फर्कन आन्दोलन गर्छन् संक्रमितहरू, ज्वरो नापेर संक्रमणमुक्त भएको घोषणा
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितलाई रिपोर्ट नआउँदै घर पठाइएपछि गाउँमा त्रास छाएको छ । आरडीटी पोजेटिभपछि घर पठाएका कयौँ नागरिकहरुमा पीसीआर पनि पोजेटिभ देखिएपछि गाउँमा त्रास बढेको हो । विगतमा कोरोना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरी कोरोना नेगेटिभ नआउँदासम्म घर नपठाइए पनि पछिल्लोसमय रिपोर्ट नआउँदै घर पठाएका व्यक्तिहरुमा कोरोना देखिएपछि संक्रमणको त्रास बढेको हो ।
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का ५० जनालाई गत जेठ ३० गते पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको थियो । आरडीटी पोजेटिभ आएका उनीहरुको जेठ १८ गते स्वाब संकलन गरिएको थियो । धेरै दिनसम्म रिपोर्ट नआएपछि उनीहरुलाई ३० गते घर पठाइएको थियो । असार ४ गते मात्रै उनीहरुमध्ये १८ जनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आयो । गाउँमा रोपाइँ गर्नदेखि आफन्तसँग निकै घुलमिल भइसकेका उनीहरुलाई ४ गते स्थानीय जनप्रतिनिधिले होम आइसोलेसनमा बस्न निर्देशन दिएका थिए । ४ गतेपछि होम आइसोलेसनमा बसेकाहरु केही दिनदेखि घर परिवारसागँगै बस्न थालेका छन् । पीसीआर रिपोर्ट नआउँदै घर पठाएका उनीहरु नतिजा नआउँदासम्म सबैसित घुलमिल भए पनि रिपोर्ट पोजेटिभपछि होम आइसोलेसनमै बसेको बताउँछन् ।
भारतबाट फर्केर स्थानीय विद्यालयको क्वारेन्टिनमा बसेका गौरीगंगा नगरपालिका १ का चन्द्र विक पनि आरडीटी पोजेटिभ आएपछि क्वारेन्टिनमै बसेका विक जेठ ३० गते घर फर्के । घर फर्केपछि उनी घर परिवारसँगै बस्ने, खाना खाने गर्न थाले । तर असार ४ गते उनको पीसीआर रिपोर्ट आयो । त्यसपछि मात्र स्थानीय जनप्रतिनिधि र प्रहरी घरमै आएर उनलाई होम आइसोलेसनमा बस्न निर्देशन दिए । अनिमात्र घर छेउमै रहेको छाप्रोमा उनी र उनीसँगै आएका उनका भाइ पनि होम आइसोलेसनमा बसे ।
संक्रमित भएका उनीहरुको घर वरिपरी रातो रिबन लगाएर स्थानीय जनप्रतिनिधिले सिल गरे । असार १२ गते उनीहरुलाई अब कोरोना ठिक भइसकेको भन्दै स्थानीय जनप्रतिनिधिले सबैसँग बस्न सकिने सुझाव दिए । ‘वडा अध्यक्ष र प्रहरी घरमै पुगेर थर्मल गनले ज्वरो जाँच गरी अब कोरोना संक्रमण निको भइसकेको भन्दै आफूलाई घरमा बस्न भन्नु भो । १२ गतेदेखि घर परिवारसँगै बसिरहेको छु,’ उनले भने ।
घर परिवारसँगै बसिरहे पनि कोरोनामुक्त भइसकेको छु भन्ने आफूसित प्रमाण नभएकाले मनमा धेरै त्रास भएको उनले बताए । उनले भने, ‘नत क्वारेन्टिनमै बसेका बेला समयमै रिपोर्ट आयो, नत संक्रमण पुष्टि भइसकेपछि अस्पताल नै लगिया । अहिले झन् चेकजाँच नै नगरी कोरोना ठिक भइसकेको भनेका छन्, कसरी पत्याउने ?’ समाजले समेत आफूहरुलाई नपत्याउने हुँदा पीसीआर जाँच गरिदिन उनले आग्रह गरेका छन् ।
चक्र विकसँगै क्वारेन्टिनबाट घर गएका वडा नम्बर १ कै कृष्ण रम्तेलको पनि असार ४ गते पीसीआर रिपोर्ट पोजेटिभ देखियो । घर फर्केको एक सातापछि उनको रिपोर्ट आएको थियो । रिपोर्ट आउनुअघि उनले पनि आफन्तको घरदेखि चौमाला बजार पुगेर कपाल काट्नसमेत भ्याए । जब रिपोर्ट पोजेटिभ आयो, बल्ल उनलाई पनि होम आइसोलेसनमै बस्न निर्देशन दिइयो । होम आइसोलेसनमै बस्न भने पनि घर एउटै थियो छुट्टै ‘कोठामा त बसेको छु तर पानी एउटै, ट्वाइलेट एउटै हुँदा घर परिवारलाई नसर्ने भन्ने त हुँदैन होला,’ उनले चिन्ता प्रकट गरे । परिवार तथा आफन्तसँग समेत घुलमिल भए पनि कन्ट्रयाक्ट ट्रेसिङका लागिसमेत पहल नभएको उनले बताए । अन्य संक्रमित जस्तै आफुलाई समेत १४ दिन पुगिसकेकाले परिवारसँगै बस्न थालेको उनले बताए । तर आफूसँग कोरोनामुक्त भएको वा नभएको कुनै प्रमाण नहुँदा समाजले हेर्ने नजर उस्तै रहेको उनले बताए ।

परिवारमा उस्तै त्रास
करिब १४ दिनको होम आइसोलेसनपछि घर परिवारसँगै बस्न थाले पनि घर परिवारलाई पनि कोरोना संक्रमणको त्रास उस्तै छ । घर पठाएको ६ दिनपछि कोरोना संक्रमित भएका उनीहरुका परिवारको कन्ट्रयाक्ट ट्रेसिङसमेत हुन सकेको छैन । कोरोना संक्रमितको पुनः जाँच नगरी घुलमिल हुँदा परिवारमा पनि त्रास बढेको छ ।
चन्द्र विककी आमा पार्वती छोरा कोरोनाबाट मुक्त भइसकेको भनेर जनप्रतिनिधिले भनेको बताउँछन् । ‘जनप्रतिनिधि तथा प्रहरीले नै भनेपछि १२ गतेबाट घरमै राखेकी छु,’ उनले भनिन्, ‘डर त छ तर के गर्नु, हाम्रो सरकार स्थानीय सरकार नै हो । उसले घरमै राख्न सुझाव दिएपछि घरमै राखेकी छु ।’
छिमेकी पनि त्रासमा
घर परिवासँगै टोलमा पनि कोरोनाको त्रास बढेको छ । कोरोना संक्रमणपछि उनीहरुले विभिन्न ठाउँ गइसके पनि कन्ट्रयाक्ट ट्रेसिङका लागि कुनै निकायको पहल हुन नसकेको स्थानीयले बताएका छन् । कोरोना रिपोर्ट नआउँदै घर पठाएको स्थानीय तहले झन् घर परिवारसँग घुलमिल हुनुभन्दा पहिले कोरोना जाँच नगर्दा त्रास छाएको गौरीगंगा नगरपालिका १ का जगत बोहराले बताए ।
नेपाली कांग्रेसको ध्यानाकर्षण
कोरोना रिपोर्ट नआउँदै घर पठाइएपछि प्रदेशको नेपाली कांग्रेस संसदीय दलले चासो देखाएको छ । दलका नेता डा. रणबहादुर रावल सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको छ । सरकारले कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आइसोलेसनमै राखेर उपचार गर्नु पर्नेमा उल्टै रिपोर्ट नआउँदै घर पठाएर गाउँमा संक्रमण बढाउने काम गरेको नेता रावलले बताए । यस्ता कार्य रोकी पीसीआरपछि मात्रै घर पठाउनुपर्ने र कन्ट्रयाक्ट ट्रेसिङ गरी सम्पर्कमा आएका सबैको परीक्षण हुनुपर्ने उनको भनाइ छ ।
आन्दोलन गरेर आफैँ घर गए : स्थानीय तह
विद्यालयको क्वारेन्टिनमै बसेका ५० जना आफैँ घर जान पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रे पनि सकेसम्म रोक्ने प्रयास गरेको स्थानीय सरकारको दावी छ । गत जेठ ३० गते आफैँ घर गएका स्थानीयलाई पीसीआर रिपोर्ट आएपछि होम आइसोलेसनमै बस्न आग्रह गरेको गौरीगंगा नगरपालिका १ का अध्यक्ष जगतराम चौधरीले बताए । ‘हामीले क्वारेन्टिनमै बस्न आग्रह गरेका थियौँ,’ वडा अध्यक्ष चौधरीले भने, ‘पीसीआर रिपोर्ट आएपछि मात्रै पठाउने भन्ने हामीले सोचेका थियौँ तर उनीहरु घर जानुपर्ने भन्दै आन्दोलन गरी आफैँ घर गए । घर गइसकेपछि रिपोर्ट पोजेटिभ आएसँगै हामीले होम आइसोलेसनमै बस्न भनेका हौँ ।’ होम आइसोलेसनमा १४ दिन पुगेसँगै नसर्ने भन्ने स्वास्थ्य निर्देशनालयको पत्रअनुसार हामीले केही घुलमिल हुन सकिन्छ भनेर आफूहरुले भनेको उनले बताए ।
१४ दिनपछि होम आइसोलेसनमा बस्नुपर्ने नियम आफूलाई उचित नलागे पनि बाध्य भएर घर पठाउनु परेको चौधरीले बताए । ‘सबैलाई आइसोलेसनमै राखेर उपचार गर्न नभ्याए पनि क्वारेन्टिनमै पनि राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सरकार नियमनै त्यस्तो बनाउँछ हामी स्थानीय जनप्रतिनिधिले के गर्ने ?’ उनले समस्या सुनाए ।
संक्रमितको सम्पर्कमा गएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने तयारी गरे पनि प्रदेशको स्वास्थ्य निर्देशनालयले स्वाब राख्ने ठाउँ नभएको भन्दै स्वाब संकलन नै रोक्न भनेको उनले बताए । उनले भने, ‘अब कसरी कन्ट्रयाक्ट ट्रेसिङ गर्ने भन्ने चिन्तामा छौँ । यस्तो जटिल विषयमा स्वास्थ्य निर्देशनालयले चासो दिनुपर्छ ।’
एकातिर रिपोर्ट नआउँदै घर गएकाहरुका कारण टोलमा संक्रमणको त्रास फैलिरहेको छ भने, अर्कोतिर फेरि पीसीआर नगरिकनै घर परिवारसँग घुलमिल हुँदा संक्रमणको जोखिम बढाएको छ । संक्रमितको सम्पर्कमा आएकाहरुसँगै परिवारको कन्ट्रयाक्ट ट्रेसिङ गरी होम आइसोलेसन बस्ने नियम बन्द गर्न स्थानीयको माग छ ।
प्रकाशित समय १९:०४ बजे

















