गृहपृष्ठ कोरोनाभाइरस संक्रमित निको हुने दर १५७ प्रतिशतले बढ्यो
कोरोनाभाइरस संक्रमित निको हुने दर १५७ प्रतिशतले बढ्यो
नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमित निको हुने दर १५७ प्रतिशतले बढेको छ । चैत १६ गतेसम्म कुल कोरोना संक्रमितमध्ये २१.३७ प्रतिशतमात्र निको भइरहेकोमा असार १६ सम्म आइपुग्दा निको हुने दर ५४.३९ प्रतिशतमा आइपुगेको हो ।
त्यस्तै मृत्युदरमा पनि उल्लेख्य सुधार आएको छ । चैत १६ गतेसम्ममा कुल संक्रमितको ४.६९ प्रतिशतले ज्यान गुमाइरहेकोमा वैशाख र जेठमा ज्यान गुमाउनेको संख्या ७ प्रतिशत हाराहारी पुगेको थियो । असार १६ सम्म आइपुग्दा कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या ४.८८ प्रतिशतमा झरेको छ ।
विश्वभर कोरोनाभाइरस संक्रमण तीव्र रुपमा फैलिइरहे पनि मृत्युदर घट्दो क्रममा र निको हुने दर बढ्दो क्रममा देखिएपछि विभिन्न देशहरूले लकडाउन खुकुलो बनाउँदै लगेका छन् । कतिपय देशहरूले लकडाउन पुरै खुला गरेका छन् भने केहीले आंशिक खुला गरेका छन् ।
डिसेम्बर ३१ अर्थात् पुस १५ गते चीनको वुहानमा पहिलोपटक देखिएको कोरोनाभाइरस चैत १६ गतेसम्ममा विश्वभर ८ हजार ६४ हजार ८२५ जनामा फैलियो । सो अवधिसम्म ४.६९ प्रतिशत अर्थात् ३२ हजार १८२ जनाको ज्यान गएको थियो भने २१.३७ प्रतिशत अर्थात १ लाख ४६ हजार ४०० जना निको भएका थिए ।
वैशाख १६ गतेसम्ममा कोरोना संक्रमितको संख्या बढेर ३० लाख ६४ हजार २२५ जना पुग्यो । वैशाख १६ सम्ममा मृत्युदर सर्वाधिक ६.९ प्रतिशत अर्थात् २ लाख ११ हजार ५३७ पुग्यो । कोरोनालाई जित्नेको संख्या पनि बढेर ९ लाख २२ हजार ३८७ पुग्यो । यो कुल संक्रमितको ३०.१ प्रतिशत थियो ।
वर्ल्डोमिटरका अनुसार असार १६ गतेसम्ममा विश्वभरका १ करोड ४ लाख २ हजार ६३८ मानिसमा कोरोना संक्रमण फैलिएको छ भने ५ लाख सात हजार ५१८ जनाको मृत्यु भएको छ । यो कुल संक्रमितको ४.८८ प्रतिशत हो । त्यस्तै निको हुने दरमा उल्लेख्य वृद्धि भएको छ । असार १६ सम्ममा कुल संक्रमितको ५४.३९ अर्थात ५६ लाख ५८ हजार ३९७ जना उपल उपचारपछि घर फर्किएका छन् ।
संख्यात्मक हिसाबले अमेरिकामा कोरोना संक्रमित र मृतकको संख्या धेरै छ । अमेरिकामा हालसम्म २६ लाख ८१ हजार मानिसक संक्रमित भएका छन् भने १ लाख २८ हजार ७८३ जनाको ज्यान गइसकेको छ । त्यस्तै ११ लाख १७ हजार मानिस निको भएर घर फर्किएका छन् ।
ब्राजिलमा १३ लाख ७० हजार, रुसमा ६ लाख ४१ हजार र भारतमा ५ लाख ६७ हजार मानिस कोभिड १९ को सिकार बनेका छन् । मृत्यु हुनेको सूचीमा अमेरिकापछि ब्राजिल ५८ हजार ३८५, बेलाय ४३ हजार ५७५, इटली ३४ हजार ७४४, फ्रान्स २९ हजार ८१३, स्पेन २८ हजार ३४६ र मेक्सिको २७ हजार १२१ छन् । भारतमा हालसम्म १६ हजार ९०४ जनाको ज्यान गएको छ ।
नेपालमा सोमबारसम्ममा १३ हजार २४८ जना संक्रमित फेला परेका छन् । तीमध्ये ३ हजार १३४ जना निको भएर घर फर्किएका छन् भने २९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
(इन्फोग्राफ : डीआर)
प्रकाशित समय १३:२७ बजे

















