गृहपृष्ठ सम्झनामा हरिभक्त कटुवाल : कहाँ दुख्थ्यो उनको घाउ ? कसैले सोधेनन्
सम्झनामा हरिभक्त कटुवाल : कहाँ दुख्थ्यो उनको घाउ ? कसैले सोधेनन्
‘यो जीन्दगी खै के जीन्दगी
भित्रभित्रै खोक्रिएर बाहिर-बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जीन्दगी खै के जीन्दगी ।’
‘यो जीन्दगी खै के जीन्दगी’ शिर्षकको कविताबाट साभार गरेको माथिका हरफ कवि हरिभक्त कटुवालका सिर्जना हुन् । नेपाली साहित्यमा एक नक्षत्रको रुपमा उनको नाम चम्किरहेको छ । आज पनि उनलाई सम्झिने हजारौँ साहित्यिक मनहरु छन् । हजारौँको ढुकढुकीमा कटुवाल अहिले पनि जीवित छन् । नेपाली साहित्यमा उनले पुर्याएको योगदान अविस्मरणीय छ ।
कटुवाल नेपाली साहित्यको ३० को दशकमा निकै चर्चित कवि तथा गीतकार हुन् । १९९२ सालमा भारतको आसाममा जन्मेको उनी २०२६ सालबाट काठमाडौँमा बस्न थालेका थिए । आर्थिक अवस्था कमजोर भएको घरमा जन्मेका कटुवालले सानैदेखि विभिन्न आर्थिक समस्याहरुको सामना गर्नुपर्यो । उनका पिता बीरबहादुर कटुवालले आमा छोरालाई बिरालोले बच्चा सारेजस्तो कहिले कता, कहिले कता सार्ने गर्थे । जता गए पनि उनीहरुको जीवनमा सुखको सास फेर्ने दिन कहिल्यै आएन । दुखै-दुखका साथ उनका पिताले उनलाई हुर्काए । तर पनि उनका पिताले उनलाई शिक्षा लिने कुरामा पछि पारेनन् ।
जस्तोसुकै कठिन परिस्थितमा पनि पिता बिरबहादुरले छोरा हरिभक्तलाई अक्षर चिनाइदिने ठूलो भूमिका निभाए । उनका पिताले उनलाई आसामकै स्थानीय स्कुलमा भर्ना गरिदिए । जहाँ उनले कक्षा १० सम्मको शिक्षा हासिल गरे । उच्च शिक्षा पढ्ने वातावारण भने उनले पाएनन् ।
कटुवालमा बहुप्रतिभावान थिए । उनको प्रतिभालाई कुनै पनि कुराले बाधा पुर्याउन सकेन । उनले सबैजसो विधामा कलम चलाएको पाइन्छ । उनी बहुआयामिक साहित्यकार हुन् । उनका प्रतिभा झन्-झन् प्रस्फुटन हुँदै गयो । त्यतिबेलाको समयमा उनले साहित्य रचनाका साथै चित्रकलामा हात बढाए । मूर्त र अमूर्त चित्रकलामा राम्रो ख्याति कमाए ।
उनले आसाममै जयकुमारीसँग बिहे गरे । उनीहरुको तीन सन्तान थिए । त्यसपछि बिस्तारै पारिवारिक जीवनमा उनी व्यस्त भए । आफ्नो बाल्यकालमा जस्तै उनको पारिवारिक जीवनमा आर्थिक संकट फेरि सुरु भयो । उनले जागिरबाट हात धुनुपर्ने परिस्थिति आयो । उनी चञ्चल स्वभावको कारण एकै ठाउँमा टिक्न गाह्रो पर्थ्यो । त्यसैले जीवनमा धेरैपटक हार्न पुगेका छन् उनी । एकचोटि उनी हेल्प इन्सपेक्टर भएका थिए । त्यसबाट पनि बञ्चित हुनुपर्यो । केही सीप नचलेर उनले तरकारी पसल गरे । त्यसबाट पनि उनलाई केही फाइदा भएन । त्यहाँबाट पनि नभएर उनले परदेशी नामक होटल खोले तर धेरै उधारोे चल्न थाल्यो । उनको कवितासंग्रह ‘यो जीन्दगी खै के जीन्दगी’ मा उनकै भोगाई समेटिएको देखिन्छ, एक हरफ त्यही कविताबाट,
‘यो हरिभक्त कटुवाल हो
जो मृत्युको डरले सधैँ भागिहिँड्छ
यो त्यही कटुवाल हो
जो स्वास्ती गरेर भए पनि
आफ्नो जागिर जोगाउनमै तल्लीन छ
अर्को, यो के भयो
खै, यो के यस्तो भयो ?
यहाँ त बाँच्नै हम्मे परिसक्यो
सुख त अब भाग्यमा कहाँ ?
मुख बाइरहेका हुन्छन् चिन्ताका अजिंगर सपनामा
मुख बाइरहेका हुन्छन् भोकका अजिंगर बिपनामा ।’
जीवनमा आएका विभिन्न उतावचढावले गर्दा जीवनलाई बुझ्ने मौका उनले पाए । उनी निकै इमान्दार पनि थिए । २० वर्षकै उमेरमा उनले आफ्ना रचनाहरु पत्रपत्रिकामा छपाउन थालिसकेका थिए । २०१४ सालमा नेपालमा राष्ट्रव्यापी साहित्य सम्मेलन भएका थियो । त्यही बेला उनी आसामबाट भाग लिएका थिए । कटुवाल काठमाडौँ प्रवेश गरेसँगै काम गर्न थाले । त्यसबेला नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मुखपत्र ‘प्रज्ञा’को प्रबन्ध सम्पादकमा भर्ना गरियो । त्यही बेला नै उनी कवि सिद्धिचरण श्रेष्ठ, माधव घिमिरे, विजय मल्ल, भूपि शेरचन आदिसँग सम्पर्कमा उनी पुगे ।
काठमाडौँमा रहँदा उनले ‘यो जीन्दगी खै के जीन्दगी’ कवितासंग्रह प्रकाशित गरे । जुन कवितासंग्रहले उनलाई चर्चाको शिखरमा पुर्यायो । त्यसपछि उनले ‘स्पष्टीकरण’ कथासंग्रह प्रकाशित गरे । हरिभक्त कवि र गीतकार दुवै हुन् । उनले थुप्रै कविता तथा गीत रचना गरेका छन् । नारायण गोपालको स्वरमा रहेका उनीद्वारा रचित ‘पोखिएर घामको झुल्को भरी संघारमा’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’जस्ता गीतहरु अझै पनि उतिकै लोकप्रिय छन् । उनका गीतहरुले सधैँ उनको याद दिलाइरहन्छ । यीबाहेक उनका कृतिहरु ‘भित्री मान्छे बोल्न खोज्छ’(कवितासंग्रह), ‘सुधा’(खण्डकाव्य) पनि निकै चर्चित छन् ।
उनले साहित्यमा भने कहिले हार मानेनन् । साहित्यमा निरन्तर लगाव राखिरहे । उनी आफैँले सांस्कृतिक कार्यक्रम र साहित्यिक गोष्ठीहरुको सञ्चालन गर्ने गर्थे । पछि उनैको सम्पादनमा ‘मुक्ति’ र ‘हिमालय’ साहित्यिक पत्रिका प्रकाशित भए । विस्तारै उनको चर्चा जताततै फैलिन थाल्यो ।
नेपाली साहित्य संस्थानमा पनि कटुवाललाई सचिव बनाइएको थियो । त्यहाँ उनी साहित्यिक व्यक्तिहरुसँग रक्सी खाएर बस्ने गर्थे । रक्सी खाएको बेला उनी निहु मात्रै खोज्ने गर्थे । त्यसैले रक्सी खाएका बेला उनका स्रष्टाहरु उनीकहाँ जाँदैन थिए । उनी यति धेरै रक्सी खान थाले जसले गर्दा साहित्यमा राम्रा भए पनि रक्सीले बिगार्यो । उनले रक्सीकै बारेमा मुक्तक पनि लेखेका छन्
‘सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसँग जिउने एउटा मिठो निहु पाएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई सलाम ।’
उनका यी मुक्तकबाट थाहा हुन्छ कि उनी रक्सीलाई कतिसम्म प्रेम गर्थे । कतिले उनलाई रक्सीसँग पनि जोडेर कुरा गर्ने गर्दछन् । तर जसले जे-जसरी उनको बारेमा व्याख्या गरे पनि नेपाली साहित्यमा कटुवाल बिर्सन नसक्ने साहित्यकार हुन् ।
२०३७ जेठसम्म हरिभक्त नेपालमै थिए । आफ्ना पिताको ४५ दिनको काम गर्न उनी आसामतिर गएका थिए । त्यही पुग्नेबित्तिकै उनलाई क्षयरोगले सताएपछि डिब्रुगढस्थित मेडिकल कलेजमा भर्ना भए । उपाचारकै क्रममा उनको त्यहाँ मृत्यु भयो । पछि उनको निधनपछि भीमकन्त उपध्यायको संकलन र सम्पादनमा ‘बदनाम मेरा यी आँखाहरु’ प्रकाशनमा आयो । उनका गीत तथा कविताहरु कालजयी बनेका छन् ।
प्रकाशित समय १९:४६ बजे

















