गृहपृष्ठ एमफोर मोटर-वेको ओहोरदोहोरमा मनभरि मुक्तक
एमफोर मोटर-वेको ओहोरदोहोरमा मनभरि मुक्तक
सिर्जनामा दूरी हुन्न को नजिक को टाढा
साहित्यको नाता हुन्छ विशेष अनि गाढा
सर्जकहरू फूल हुन् उनिएका मालाभित्र
न हुन्छ त्यहाँ सुकेका पात न त घोच्ने काँडा ।
-भरत लोहोरूङ राई
आज १३ अप्रिल सन् २०१९ – नेपाली नयाँ वर्षको दिन सखारै उठेर कफीको चुस्की सिध्याउनेवित्तिकै लिडियार्ड पार्कतिर लाग्छु साप्ताहिक ‘पार्क रन’को लागि । उमेर ढल्किँदै गएपछि आइलाग्न सक्ने सम्भावित स्वास्थ्य समस्याहरूको जोखिममा कटौती गर्नकै लागि भए पनि यो पार्क रनमा नियमित उपस्थित हुने गर्छु । नेपाली नयाँ वर्ष हो तर मेरो निम्ति अरु औसत दिनहरू भन्दा पृथक छैन किनकि मेरो पूज्य पिताजीको स्वर्गवास भएको पाँच महिना पनि नाघेको छैन र रमाईलो पार्टी र नाचगान भएका कार्यक्रमहरूमा उपस्थित हुन मनले चाहेको छैन ।
यद्यपि अन्य कार्यक्रमहरू भन्दा पृथक आज ‘नेपाल मुक्तक प्रतिष्ठान’ बेलायत शाखाको मुक्तक वाचन कार्यक्रममा सहभागिता जनाउन भने आतुर नै छु, पार्क रन मा ५ कि.मी. रनिङ गरेपछि घर फर्किंदा मोबाइलमा सेमन्तजी को मिसकल आएको देखें । तर कलब्याक नगरेर भरे बाटो कटाउनी हुनेगरी मोबाइल ह्यान्डस फ्रिमा राखेर गफ गर्दै जाने निधो गरें । बेलुकीको मोमो फ्रिजबाट निकालेर माइक्रोवेभमा एक प्लेट बनाएर घुमाए अनि टमाटरको चटनीसँग कप्ल्याककुप्लुक खाएर बाटो लागें । सप्तहान्त भएकाले छोराछोरी र श्रीमतीजी अझै बिस्तरामा नै लडिरहेका थिए । डिस्टर्व नहोस् भनेर बिस्तारै निस्किएँ !
एमफोर मोटरवेमा सत्तरी माईल प्रतिघण्टाको दरले कारलाई क्रुज कन्ट्रोलमा राखेर हुइँकिदै मोबाइल हयान्डस फ्रि सेट गरिवरी सेमन्जीतलाई कलब्याक गर्न थालें । उहाँको फोन उठेन । लाग्यो, वहाँ पनि बाटो लागिसक्नुभयो होला र चुपचाप गाडी कुदाई रहें ।
एमफोर मोटरवेको जक्सन ८ देखि उता स्पिड लिमिट ५० एमपीएच मात्र भएकाले निकै पट्यारलाग्दो भइरहेको बेला सेमन्तजीको कल आयो । उहाँ पनि बाटो लागिसक्नुभएछ । उहाँको बसाई लण्डनदेखि पूर्व अनि मेरो पश्चिम । विपरीत दिशा भए पनि गन्तव्यको दूरी भने समान नै हो । यस्ता सामाजिक कार्यक्रम, साहित्यिक कार्यक्रम, बाँसुरीवादन कार्यक्रम साथै छोराहरूको तेक्वान्दो खेलहरूको सिलसिलामा हाम्रो बाक्लै भेटघाट भए पनि खासै मज्जाले गफिन भनेको फोनमा नै हो । स्कूल कलेजताका साहित्यमा निकै रस भिजेको थियो हाम्रो, तर बेलायतको लाहुरे भएपछि भने लेख्ने र पढने क्रम मज्जाले टुट्यो हामी दुवैको । अहिले त्यही टुटेको कुण्ठित रहरले जताततै लघारिरहेको छ हामीलाई ।
माहौल पनि भएन त्यतिखेर । तर माहौलको कुरा गरिरहँदा आफू/व्यक्तिमा पनि निर्भर हुँदोरहेछ । जुन कुरा पल्टन घरभित्रै रहेर नेपाली भाषा साहित्यमा अत्यधिक योगदान दिने प्रवासी नेपाली साहित्य समाजले प्रमाणित गरेर देखाए । यसमा आवद्ध साहित्यकार भाईहरू विश्वासदीप तिगेला, सुरेन्द्र इङ्नाम, ईश्वर चाम्लिङ, नरेश काङमाङ, नवराज राई, मिजास तेम्बे, प्रकाश राई, किसन राई, जितेन्द्र चेम्जोङ, नरेश नाती, आनन्द रानोहोंछा आदिहरूको (सबै नाम याद नभएको) लगातार साहित्यिक गतिविधिले त साहित्यप्रति राख्ने गरेको पल्टनघरको नजरिया नै परिवर्तन भयो ।
उहाँहरूको पहलमा ऊ बेला ‘प्रवासी वेदनाका आवाजहरू’ पल्टन घरभित्रैबाट प्रकाशित हुनु चानचुने कुरो थिएन । खैर, मैले यसबारे लेख्ने हैसियत राख्छुजस्तो लाग्दैन । बरु उनै अभियन्ताहरूले लेखेर दस्तावेजीकरण गरे राम्रो हुने थियो । पल्टनघरको साहित्यिक इतिहासमा यो एउटा स्वर्ण चरण थियो जस्तो लाग्छ । यसो भनिरहँदा त्योभन्दा अगाडि अग्रज सर्जकहरू दयाकृष्ण राई, रक्ष राई, टंक वनेम, रामकृष्ण सुनुवार आँकाला, केदार संकेत, केदार राई, काजीमान यक्सो, गणेश राई, सूर्य राई आदिको कलमले दिएको योगदान पल्टने साहित्यले (युद्ध साहित्य) कदापि भुल्नु हुँदैन ।
करिब साढ़े १ घण्टाको यात्रा पछि हाम्रो गन्तव्य नेपाल अथेन्टिक कुजिन रेस्टुरेन्ट आइपुगियो । गाडी पार्किङको समस्याले मनमनै पिरोलिरहेको बेला भाग्यवश रेस्टुरेन्टकै स्टाफ़ भाइले पार्किङ देखाईदिनुभयो, त्यो पनि सप्तहान्तमा निःशुल्क । लण्डनमा पैसा तिरेरै भए पनि पार्किङ पाउँदा खुशी हुनुपर्नेमा निःशुल्क पाउँदा Hanwell Boston Road लण्डनलाई कार्यक्रमहरूको भेन्यू रोज्दा फाइदै हुँदोरहेछ। सेमन्तजी पनि त्यतिखेर नै आइपुग्नुभयो र निःशुल्क पार्किङको सदुपयोग गरिहाल्नु भयो ।

नेपाली अथेन्टिक कुजिन रेस्टुरेन्टमा सम्पूर्ण सजावटहरूले नेपालीपन बोकेको थियो । उपस्थित मुक्तककारहरूमा डा. रूपक श्रेष्ठ, दुर्गाप्रसाद पोख्रेल, विनोद अधिकारी, नृपेश उप्रेती, सेमन्त राई, प्रतिमा केसी, कुमार केसी, राज श्रेष्ठ, रविन्द्र जोशी अनि सानी छोरी समृद्धि पोख्रेल हुनुहुन्थ्यो । उपस्थित मुक्तकप्रेमी अग्रजहरूसँगको अभिवादन आदान-प्रदानपछि कार्यक्रम सञ्चालक कुशल गजलकार नृपेश उप्रेतीजीले बेलायतमा नेपाली मुक्तक अभियन्ता डा. रूपक श्रेष्ठज्यूको निम्न मुक्तक वाचनबाट कार्यक्रमको सुरुवात गर्नुभयो :
‘हामी यहाँ नेपाली भाषा साहित्य बग्ने कूलो बनाउँदै छौं
हामी आमाले भात पकाउने चूलो बनाऊदै छौं
हामी बिदेशिएका पटक्कै छैनौ हे साथीहरू हो
हामी त हाम्रो देशको सिमाना अझै ठूलो बनाउँदै छौं’
– डा. रूपक श्रेष्ठ
‘तन’ डायस्पोरा भए पनि ‘मन’ र मस्तिष्कले आफू जन्मेको देश र भाषाकै माया गरिरहेको हुन्छ भन्ने भाव बोकेको उक्त मुक्तकद्वारा कार्यक्रमको थालनी पछि सर्जकबीच औपचारिक परिचय र नयाँ वर्ष २०७६ को शुभकामना आदान-प्रदान भयो।
पहिलो चरणको कार्यक्रममा प्रत्येक श्रष्टाका पाँच-पाँच मुक्तक वाचन गरिएका थिए । जसमा सानी तर तेजस्वी प्रतिभावान् ९ वर्षकी नानी समृद्धि पोख्रेलबाट श्रीगणेश भयो ।
‘मलाई घुम्रिएको कपाल मन पर्छ
चौबन्दी चोली बबाल मन मन पर्छ
अरु त अरु त्योभन्दा पनि धेरै
मलाई मेरो देश नेपाल मन पर्छ’
– समृद्धि पोखरेल (९ वर्ष)
यसैगरी टेबलमा वरिपरि जसरी बसिएको थियो, त्यही क्रममा पालैपालो आफ्ना रचनाहरू वाचन गर्ने क्रम चल्यो । बिल्कुलै पारिवारिक वातावरणमा भएको यो कार्यक्रमको मध्यान्तरमा एकदमै मौलिक नेपाली परिकारयुक्त खाजापानीको बन्दोबस्त गरिएको थियो । यो प्रवन्धको निम्ति नेपाली अथेन्टिक कुजिन रेस्टुरेन्टलाई धन्यवाद दिनै पर्ने हुन्छ । मुक्तकको माहौलबाट केही विविधता दिने उद्देश्यले कार्यक्रम सञ्चालक तथा गजल लेखनमा विशेष नाम स्थापना गर्न सक्षम यो पुस्ताका कुशल गजलकार नृपेश उप्रेतीज्यूले केही गहकिला गजलहरू मज्जाले लय हालेरै सुनाउनुभयो ।
कार्यक्रमको अर्को चरणमा भने मुक्तक लेखन कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एकापसमा अन्तर्क्रिया भएको थियो । बेलायती डायस्पोरामा मुक्तक विधाका अभियन्ता डा. रूपक श्रेष्ठले पोखरा सम्मेलनको बारेमा धेरथोर जानकारी दिनुभयो । उहाँले मुक्तक लेखनलाई धनुषकाँडको उदाहरण दिएर, ‘पहिलो पंक्तिमा धनु उठाउने, दोश्रो लाईनमा ताँदो चढ़ाऊने, तेश्रो लाईनमा मज्जाले धनु तन्काएर चौथों लाईनले निशानामा ड्याम्म प्रहार गर्ने हो’ भनेर अत्यन्त सरल तरिकाले मुक्तकका आधारभूत पक्षहरूको विवेचना गर्नुभएको थियो ।

अन्तमा ‘नेपाल मुक्तक प्रतिष्ठान’ को लोगोअंकित ब्याच कोसेलीस्वरुप सम्पूर्ण सदस्यहरूलाई प्रदान गरेर ‘नेपाल मुक्तक प्रतिष्ठान-बेलायत’का अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले आगामी दिनहरूमा पनि यसरी मुक्तकीय जमघट गर्दै जाने जानकारी दिनुभयो।
समग्रमा २०७६ सालको श्रीगणेश नै मुक्तकबाट गरियो र नयाँ वर्ष पनि नयाँ शैलीमा मनाईयो । अबका दिनहरूमा मुक्तक लेखनलाई गति दिने मनमनै संकल्प पनि गरेको छु- हेरौँ के हुन्छ । करिब साँझ ५ बजेतिर सबैसँग बिदावारी गरेर पुन लण्डनको व्यस्त हाईवेलाई छिचोल्दै बाटोभरी दिउँसोका मित्रगण सर्जकहरूका निम्न मुक्तकहरू सम्झँदै गाडी घरतिर हुइँक्याएँ ।
खोले पाक्ने चूलोभित्र आगो निभेपछि परदेश पसेको
जून, घाम र वर्षात छानोभित्र छिरेपछि परदेश पसेको
मुग्लान भासियो भन्छन् बुझ्ने/नबुझ्ने सबैले अचेल
त्यही झुपडी घर साहुले लिएपछि परदेश पसेको ।
– कुमार केसी
जनताको के लाग्छ र ठेकेदारले कर छलेपछि
घरहरू सबै चुहेका छन् डढेलोले खर जलेपछि
बारी भत्क्यो मोटर आयो विकास भयो भन्छन्
सुनसान छ गाउँ ,पीपल चौतारी र बर ढलेपछि ।
– प्रतिमा केसी
बिहान ब्यूँझी बिछ्यौनाबाट उठ्न सकियोस्
आँगनी छेऊमा पुगेर आफै चुठ्न सकियोस्
नयाँ वर्षको यो पनि शुभकामना हजुरलाई
एक अर्काको दुःखसुखमा जुट्न सकियोस् ।
– राज श्रेष्ठ
मनमा वेदना बोकेर जीवन रमाउँदैछु
पसिना बेचेर धनको पोको कमाउँदैछु
एक छाक खान र एकसरो लाउन पनि
परदेशमा म कसैको पाउ नै समाउँदैछु ।
– सेमन्त राई
मीठो धून सारंगीको रेट्न सकिएन
आँगनीमै टेकेर नि भेट्न सकिएन
जिन्दगीको दौडाईमा भेटें धेरै बगरहरू
मनको तृष्णा सागरले मेट्न सकिएन ।
– रविन्द्र जोशी
बसन्तले सुस्तरी फेरि एकपटक पाइला चालेको छ
आजकाल यो तनले पनि मनभरि के-के रहर पालेको छ
मेरो आँगनमा तिम्रो आगमन हुँदा आफैभित्र यस्तो लाग्यो
गुलाफको ठूटोले फेरि एक पटक कोपिला हालेको छ ।
– डा. रूपक श्रेष्ठ
शीत बनी कर्कलाको पातमा छ माया
जून खोज्दै औंसीको रातमा छ माया
पैतलाको धूलो या शिरको आभूषण
के बनाउने अब तिम्रो हातमा छ माया
– नृपेश उप्रेती
बिटुलिए फूलबाट पराग भाग्न सक्छ
सम्हाल न पछ्यौरी दाग लाग्न सक्छ
बन्दकी परिसक्यो जवानी मेरै नाममा
राजीनामा गर अब भाग लाग्न सक्छ ।
– भरत लोहोरूङ राई
म यात्रामा छु, यात्रा आफैं मेरो उत्साहमा छाइरहेछ
म बाटोमा छु र दोबाटो दौडिएर मसँगै धाइरहेछ
यस्तो लाग्छ म स्वयं नै कसैको गन्तव्य हुँ सायद
त्यसैले म गन्तव्यतिर होइन, ऊ स्वयं मतिर आइरहेछ ।
– दुर्गाप्रसाद पोख्रेल
लौ भएछ सनसनी भागवण्डाको कुरोमा
जल्ने भए दन्दनी आफ्नै भान्सा चुलोमा
यस्तो लाग्छ भ्रष्टाचार उन्मुक्त भएको देख्दा
खाँद्नु पर्छ सबै यिनलाई कारागारको दुलोमा ।
– बिनोद अधिकारी

प्रकाशित समय १७:४७ बजे

















