गृहपृष्ठ विश्वभर ६५ लाख ३४ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’
विश्वभर ६५ लाख ३४ हजार कोरोना संक्रमित ‘डिस्चार्ज’
संक्रमितको संख्या एक करोड १५ लाख नाघ्यो, पाँच लाख ३६ हजारको मृत्यु
विश्वभर ६५ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा मात्रै करिब तीन हजारभन्दा बढी संक्रमित घर फर्किएपछि डिस्चार्ज हुनेको संख्या ६५ लाख ३४ हजार ८५१ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिले विश्वभर कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ५६ हजार ६४१ पुगेको छ । गएको २४ घण्टामा मात्रै एक लाख ८१ हजारभन्दा बढी संक्रमित देखिएका थिए । त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या पनि पाँच लाख ३६ हजार नाघेको छ । एकै दिनमा मात्रै करिब चार हजारको ज्यान गएपछि मृत्यु हुनेको संख्या पाँच लाख ३६ हजार ७७६ पुगेको हो ।
कुल संक्रमितमध्ये ४४ लाख ८५ हजार १४ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ५८ हजार ५४० जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ । सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । एकै दिनमा ४४ हजारभन्दा बढी संक्रमित थपिएपछि कोरोना संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३२ हजार ५६९ पुगेको छ । गएको २४ घण्टामा मात्रै सो ठाउँमा २५१ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै अहिलेसम्म १२ लाख ८९ हजार ५६४ जना उपचारपछि घर फर्किएका छन् भने १५ लाख ६० हजारभन्दा बढीको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये १६ हजारभन्दा बढी संक्रमितको अवस्था चिन्ताजनक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय ०८:४० बजे

















