गृहपृष्ठ सलह किराले नेपालको कुन ठाउँमा कति पुर्यायो क्षति ?
सलह किराले नेपालको कुन ठाउँमा कति पुर्यायो क्षति ?
सबैभन्दा बढी प्रभावित दाङ र प्युठान
नेपालमा सलह भित्रिएको एक हप्तामै देशभर फैलिएको छ । सुरुमा पाँच जिल्लामा मात्रै देखिएको सलह किरा हप्ता दिनमै अधिकांश जिल्लामा पुगेको हो ।
गत असार ११ बिहीबार नेपालमा भित्रिएको सलह किराले असार १३ गतेदेखि फैलिन सुरु गरेको थियो । मकै, धान लगायतका कृषिबालीमा क्षति पुर्याइरहेको सलह अरेबियन देश इरान हुँदै अफगानिस्तान, पाकिस्तान, भारतबाट नेपालमा प्रवेश गरेको हो ।
अहिलेसम्म सलह किराले ११ सयभन्दा बढी हेक्टरमा लगाइएको खेतीबाली तथा वनस्पतिलाई क्षति पुर्याइसकेको छ । हावाको दिशाअनुसार उड्ने सलह किराको झुण्डले बालीनालीदेखि रुख-विरुवामा पनि क्षति गरिरहेको कृषि मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदीका अनुसार यो सलह किराले किसानलाई निकै आतंकित तुल्याएको छ । ‘शुक्रबारसम्म मात्रै सलह किराले देशभर एक हजार ११८ हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ । हिजो र आज भने के कस्तो क्षति भयो, जिल्लाबाट जानकारी आएको छैन,’ उनले भने ।
अहिलेसम्म क्षति भएकामध्ये सबैभन्दा बढी दाङमा देखिएको छ । दाङमा सामान्य रुपमा क्षति भए पनि मकै र तरकारीमा ५८० हेक्टर क्षेत्रफलमा क्षति पुर्याएको छ । किटनाशक औषधिलगायत विभिन्न उपायपछि अहिले किसानले सो क्षेत्रबाट सलह भगाएको सुवेदीले बताए । त्यस्तै प्युठानमा पनि २८३ हेक्टर क्षेत्रफलमा सलहले क्षति पुर्याएको छ । प्युठानमा मकै, फलफूल, तरकारी र भटमासमा धेरै क्षति पुर्याएको छ । अहिले पनि सो क्षेत्रमा सलह किरा सक्रिय रुपमा मकैमा देखिएको र केही संख्यामा भने उत्तरतर्फ लागेको सलह सूचना केन्द्रले जनाएको छ ।

त्यस्तै अर्घाखाँचीमा पनि तरकारी र मकैमा १०० हेक्टर क्षेत्रफलमा सामान्य क्षति पुर्याएको छ । मकवानपुरमा मकै र तरकारीमा १०५, पाल्पामा ५० हेक्टर क्षेत्रफलमा सामान्य क्षति पुर्याएको छ । केन्द्रका अनुसार रोल्पा र सिन्धुलीमा पनि क्षति भएको छ । ती जिल्लामा के, कति क्षति भयो भन्ने यकिन जानकारी भने नभएको अधिकृत सुवेदीले बताए । उनका अनुसार अहिलेसम्म ५२ जिल्लामा सलह किरा सक्रिय रुपमा देखिएको छ । धेरैजसो ठाउँमा स-साना झुण्डमा देखिएको हुँदा ठूलो क्षति भने नभएको उनले बताए ।
नेपालबाट पनि भारतका केही ठाउँहरुमा सलह किरा फैलिएको छ । भारतबाटै नेपाल पसेको सलह किरा नेपालबाट फेरि भारतको उत्तर प्रदेशसम्म पुगेको छ । नेपालको सिमानानजिकै पर्ने भारतको उत्तर प्रदेशको इटावामा रुपन्देहीबाट गएका २ झुण्ड किरा फैलिएको सलह सूचना केन्द्रले जनाएको छ । रुपन्देहीबाट पाँच सय किलोमिटर टाढा रहेको इटावामा फैलिएर पूर्वतर्फ स्थानान्तरण भई मध्यप्रदेशको दिलवारा ललितपुरमा करिब ७६४ किलोमिटरमा सलह फैलिएको छ ।
नेपालमा पनि गत १३ गते बारा र पर्साबाट फैलन सुरु गरेको सलह किरा एक हप्तामै रौतहट, मकवानपुर र चितवनमा पनि पुगेको देखिन्छ । १२ देखि १५ लाखको झुण्डमा रहेका किराले त्यसै दिन सर्लाहीबाट सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुर सहितका जिल्लाहरुका फैलिएको थियो ।

प्रकाशित समय ०८:५२ बजे

















