गृहपृष्ठ गंगालालमा उपचाररत ७ जनामा कोरोना पुष्टि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
गंगालालमा उपचाररत ७ जनामा कोरोना पुष्टि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार सोमबार अस्पताल भर्ना भएका ७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालले मंगलबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि इमर्जेन्सीबाहेकका सेवा बन्द गरेको छ । भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणी अधिकारीले जानकारी दिए ।

सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको थियो । त्यस्तै सोमबार नै ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक/एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण पुष्टि भइसकेको छ ।
यसअघि केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।
प्रकाशित समय १२:४८ बजे

















