गृहपृष्ठ राजस्व चुहावट : ७७ करोड बिगो दाबीसहित मुद्दा

राजस्व चुहावट : ७७ करोड बिगो दाबीसहित मुद्दा

rajaswa-newskarobar

भन्सार चोरी पैठारी, झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरुविरुद्ध बिगो असुल गरी सोहीबराबरको जरिवाना र कैद सजायको माग दाबीसहित राजस्व अनुसन्धान विभागले बुधबार उच्च अदालत पाटनमा मुद्दा चलाएको हो ।

झुटा तथा नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरी राजस्व छली गर्ने न्यु कोइराला ब्रदर्स इन्टरप्राइजेजले एक करोड ७० लाख १९ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैदको माग दाबीसहित बुधबार मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

यस्तै काठमाडौँ महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोवार गर्ने समर ट्रेडर्सले पनि राजस्व चुहावट गरेको भेटिएको छ । राजस्व छली गरेको अभियोगमा चार करोड ५८ लाख रुपैयाँ बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको छ । विदेशबाट मोबाइललगायत इलेक्ट्रोनिक्स सामान चोरीपैठारी गरी राजस्व चुहावट गरेको कसूरमा काठमाडौँको टोखास्थित ग्रान्डी अपार्टमेन्टमा बस्ने मयुर मालाकारसहित दुई जनाविरुद्ध ४३ करोड १८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको मैनालीले बताए ।

यस्तै झुटा तथा नक्कली मूल्य अभिवृद्धिकरको बिजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौँ महानगरपालिका ४ मा रहेको जिमी ग्रुप प्रालिले राजस्व चुहावट गरेको अभियोगमा १८ करोड रुपैयाँ बिगोबराबरको राजस्व छलेको पाइएको छ । ललितपुर महानगरपालिका ३ स्थित न्यु क्रिएसन इम्पेक्स प्रालि, बंगलामुखी ट्रेड एन्ड सप्लाई र काठमाडौँ महानगरपालिका २८ स्थित बिएस ट्रेड इन्टरनेसनलले नौ करोड रुपैयाँ बिगोबराबरको राजस्व चुहावट गरेको अभियोग छ । उक्त कम्पनीविरुद्ध जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । (रासस)

प्रकाशित समय १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु