गृहपृष्ठ सुनको अक्षरले लेखिएका बौद्ध धर्मग्रन्थ ५ करोडमा विक्री गर्न खोज्ने पक्राउ
सुनको अक्षरले लेखिएका बौद्ध धर्मग्रन्थ ५ करोडमा विक्री गर्न खोज्ने पक्राउ
सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै विक्री गर्न खोज्ने ६ जनालाई चन्द्रागिरी नगरपालिका- १५ ढुंगेअड्डाबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खोटाङ दिक्तेल नगरपालिका- ४ घर भएका ३२ वर्षीय गेहेन्द्र सिंह आत्रय, काभ्रे पाँचखाल नगरपालिका- ३ घर भएका ४२ वर्षीय जनक गिरी, ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका- १ घर भएका ३१ वर्षीय सुबासकुमार बस्नेत, ओखलढुंगा सुनकोशी गाउँपालिका- २ घर भएका ३३ वर्षीय हरिबहादुर लामिछाने, काठमाडौँ तारकेश्वर नगरपालिका- ११ घर भएका ६४ वर्षीय राजेन्द्रबहादुर जोशी र नुवाकोट ककनी गाउँपालिका- ८ घर भएका ३४ वर्षीय रोशन तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई लामा भाषामा लिखित पुरानो बौद्ध धर्मग्रन्थको १६ पाना ५ करोड रुपैँयामा खरिदविक्रीको लागि छलफल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुमध्ये जनक गिरीको साथबाट तिब्बतियन लिपिमा सुनौलो अक्षरले लेखिएको उक्त बुद्ध धर्मको पाना बरामद भएको हो । उनीहरू उपर प्राचीन स्मारक संरक्षण ऐन, २०१३ बमोजिम थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रकाशित समय १८:१३ बजे

















