गृहपृष्ठ ३ चरणका खेल बाँकी हुँदा रियललाई उपाधिका लागि ५ अंक आवश्यक

३ चरणका खेल बाँकी हुँदा रियललाई उपाधिका लागि ५ अंक आवश्यक

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले आठौं जित हासिल गरेको छ । घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा शुक्रबार आलाभेसविरुद्ध २-० को सहज जित दर्ता गरेसँगै रियलले अंक तालिकामा ४ अंकको अग्रता हासिल गर्‍यो ।

३५ खेल खेलसकेको रियललको ८० अंक रहेको छ । उपाधि होडमा रियललाई पछ्याइरहेको बार्सिलोनाले ३५ खेलबाट ७६ अंक जोडेको छ । अब लिग उपाधिका लागि रियललाई बाँकी ३ खेलबाट केवल ५ अंक आवश्यक छ । रियलले अब ग्रानडा, भिल्लारियल र लेगानेससँग खेल्न बाँकी छ ।

रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले खेलको ११औं मिनेटमा गरेको गोलमा अग्रता लियो । आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए ।

दोस्रो हाफको सुरुवातीमै रियलले अग्रता दोब्बर बनायो । रोड्रिगोको थ्रु पासमा बेन्जेमाले बल अगाडि बढाउँदै पेनाल्टी एरियाभित्र दिएको पासलाई मार्को एसेन्सियोले गोलमा परिणत गरे ।

रेलिगेसन खतरामा रहेको आलाभेस भने ३५ खेलमा ३५ अंकसहित अंक तालिकाको १७औं स्थानमा छ । लिगमा अब ३ चरणका खेल बाँकी छन् ।

प्रकाशित समय १५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु