गृहपृष्ठ कर्णालीमा २२४ जनामा मात्रै कोरोना, १ हजार ३६५ जना कोरोनामुक्त
कर्णालीमा २२४ जनामा मात्रै कोरोना, १ हजार ३६५ जना कोरोनामुक्त
कर्णाली प्रदेशमा कोरोना ‘एक्टिभ केश’ २२४ वटा रहेको छ । हालसम्म संक्रमण भएकामध्ये १ हजार ३६५ जना कोरोनामुक्त भएका हुन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार हालसम्म कोरोनाको कारण प्रदेशभर आठ जनाको मृत्यु भइसकेको छ ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये कोरोना संक्रमणको जोखिममा दैलेख जिल्ला रहेको थियो । दैलेखमा ७८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेखपछि कोरोनाको संक्रमण बढी भएको जिल्ला सुर्खेत हो । सुर्खेतमा ४१६ जनामा कोरोना भेटिएको थियो ।
त्यस्तै सल्यानमा २११, कालिकोटमा ५०, जुम्लामा ३४, जाजरकोटमा १९ र रुकुमपश्चिममा १५ जनालाई कोरोना भएको थियो । डोल्पामा ४, हुम्लामा २ र मुगुमा ५ जनामा कोरोना देखिएको थियो । कर्णाली प्रदेशमा कोरोना संक्रमण हुनेहरुमा अधिकांश पुरुष थिए । १ हजार ४३८ जना पुरुष र १५७ महिलामा कोरोना पुष्टि भएको थियो । हालसम्म कर्णाली प्रदेशमा १ हजार ५९५ जनामा कारोना पुष्टि भएको थियो ।
पैसा तिरेर परिक्षण गर्न पाइने
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पैसा तिरेर पिसिआर परीक्षण गर्न पाइने भएको छ । पाँच हजार ५ सय रुपैयाँ तिरेर कोरोनाको पुष्टिका लागि पिसिआर परीक्षण गर्न पाइने भएको हो । अस्पतालका प्रमुख डा. डम्बर खड्काका अनुसार जिल्लाबाहिर जानको लागि पिसिआर रिपोर्ट नेगेटिभ चाहिने भएकोले नागरिकको सहजताका लागि पैसा तिरेर पिसिआर परीक्षण गर्ने गरी केन्द्रबाट निर्देशन आएको हो । ‘यसले सरकारी ढुकुटीसमेत बच्छ,’ उनले भने, ‘यो पहिले नै गर्नुपर्ने निर्णय हो ।’
खड्काले समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिसकेको भए पनि परीक्षण भएकाहरुमध्ये पोजेटिभ देखिनेहरुको संख्यामा भने कमी आएको बताए । उनका अनुसार दैनिक एक सयभन्दा बढीको पिसिआर परीक्षण गर्ने गरिएको भए पनि रिपोर्ट भने कमैको पोजेटिभ आउने गरेको छ । डा. खड्काले देश बाहिरबाट आएकाहरुबाहेक समुदाय स्तरबाट आएका कोरोना पोजेटिभहरुको ट्राभल हिस्ट्री खोजी गरी पिसिआर परीक्षण नगरिएको बताए ।
प्रकाशित समय २०:५२ बजे

















