गृहपृष्ठ सात बुँदे माग राख्दै नेपाल औषधी उत्पादक संघ आन्दोलनमा
सात बुँदे माग राख्दै नेपाल औषधी उत्पादक संघ आन्दोलनमा
नेपाल औषधी उत्पादक संघ सात बुँदे माग राख्दै आन्दोलनमा उत्रिएको छ । बिना दर्ता र गुणस्तर परीक्षण स्यानिटाइजर उत्पादन गर्न दिने निर्णय फिर्ता लिन तथा २०७४ जेठ १७ र १९ गते भएका निर्णय कार्यान्वयनको माग राख्दै संघ आन्दोलनमा उत्रिएको हो ।
औषधी उत्पादक संघमा आबद्ध ६४ एलोपेथिक व्यवसायी र ३१ वटा आयुर्वेदिक व्यवसायीले काठमाडौँको बिजुलीबजारस्थित औषधी व्यवस्था विभागअगाडि बिहान ११ बजेदेखि प्लाकार्डसहित धर्ना दिइरहेका छन् । सरकारले विगतमा भएका कुनै पनि निर्णय कार्यान्वयन नगरेका आन्दोलित हुनुपरेको संघका महासचिव विप्लव अधिकारीले बताए ।
संघका सदस्य एवं एसआर ड्रग्स लेब प्रा. लि. का सञ्चालक सञ्जय अग्रवालले सरकारले दुई वर्षअघि भएका सहमति पालनामा पनि बेवास्ता गरेको बताए । ‘सधैँ पहल गरिरहेका छौँ मात्र भन्ने तर मन्त्रालयका सचिवहरू कहिले नभ्याउने भइरहेको छ,’ उनले भने, ‘स्वदेशी उद्योगको संरक्षणमा पनि सरकारको कुनै चासो देखाएन ।’
नेपालमा खपत हुने औषधीमध्ये ४८ प्रतिशत औषधी नेपालमै उत्पादन हुने तथ्य उनले प्रस्तुत गरे । बंगलादेशमा कुनै पनि घरेलु उद्योगले औषधी उत्पादन गर्न थालेपछि सरकारले आयात रोक्ने दृष्टान्त दिँदै उनले नेपाल सरकारले पनि यस्तै खालका नीतिगत योजना अघि सार्नुपर्ने बताए । आन्दोलनलाई नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ सबैको साथ रहेको संघले जनाएको छ ।
प्रकाशित समय ११:३७ बजे

















