गृहपृष्ठ युवाहरु बिग्रिउँ कि, साठी कटेका वृद्ध नेता सुध्रिन्छौ ?

युवाहरु बिग्रिउँ कि, साठी कटेका वृद्ध नेता सुध्रिन्छौ ?

हाम्रा बाबुबाजेले बुनेका निँगालोका (बाँस प्रजाति) मोट्टा, कुरु, खार्या र सुप्पा अझै सुरक्षित छन् गाउँबस्तीका घरहरुमा । १९९० को दशकमा जन्मेर घ्यू, मह र गाई-भैंसीको गोरसमा जीउ धानेका बाजे/बज्यै पनि जीवितै छन् अचेल पनि । तिनले तानाशाही राणा शासनकाल धाने, निर्दलीय पञ्चायत धाने, अनि निरंकुश राजतन्त्र र बहुदलीय व्यवस्था पनि धाने । आज संघीय लोकतान्त्रिक गणतन्त्रको नांगो नाच हेरेर घरको पिंढी र कौसीमा जीवन धान्दैछन् ती वृद्ध बा-आमाहरु ।

राज्य सञ्चालनका शासन व्यवस्था र शासकीय स्वरुप त दशकपिच्छे बदलिए । तर बदलिएनन् ती वृद्ध बा-आमाका भोटो र जामाहरु । दिनदहाडै लुटपाट, ठगी नभएको चोक रहेन । भ्रष्टाचार र कमिसन नजोडिएर घर भित्रिने कुनै थोक भएन । यिनै हुन् त्यो पुस्ताले ग्रहण गरेका उपलब्धिहरु, अनि हाम्रा शासकहरुले नागरिकलाइ गरेका उपहारहरु ।

२००७ साल यताका शासन व्यवस्था र उपलब्धिलाई हेर्दा मुलुक त केवल राजनीतिक व्यवस्था अभ्यासको प्रयोगशाला मात्र बन्यो । हलो जोत्ने खेतमा हिंसाको खेती भयो । कोदो उमार्ने करेसामा क्रोधको उत्पादन गराइयो । के नेपाली धर्ती यतिका लागि मात्र हो त ? फेरि आज सेवा सुविधा र शक्तिको विकेन्द्रीकरणका नाउँमा संघीयताको अभ्यासमा बामे सर्दैछौं आज हामी । स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग र स्थानीय रुपमै दक्ष जनशक्तिको उत्पादन र परिचालनको नारा गुञ्जँदैछ छ कानका वरिपरि ।

संघीयता कार्यान्वयनको तीन वर्ष पुगिसक्दा पनि उपलब्धि भने अझै शुन्यप्राय नै छ । सत्तरी वर्ष लामो संघर्षको इतिहासले स्थापित गरेका केही मुलभूत मान्यता र सिद्धान्तलाई वर्तमान शासक वर्गको अहंकारले वर्षासँगै आएको बाढीमा मिसाउने प्रयत्न भइरहेको छ । शासक वर्गको कार्यशैली र अभिव्यक्तिको टिप्पणी गर्दा लोकतान्त्रिक गणतन्त्र र व्यवस्थाविरोधी भइन्छ यहाँ । रत्तिभर आलोचना खेप्न नसकी तत्काल प्रतिक्रियामा उत्रने प्रधानमन्त्री ओलीको आचरणले नागरिक तप्कामा वाक्कदिक्क छाएको मात्र छैन, संविधानमा उल्लेख हक,अधिकारको मजाक पनि उडाएको छ ।

आफू अनुकुल हुँदा सबै ठिकठाक हुने र आफू प्रतिकुल हुँदा सबै बेठिक हुने भन्ने मान्यताले ग्रस्त छन् हाम्रा प्रधानमन्त्रीसमेत । मुलुकको कार्यकारी प्रमुखमा आसीन व्यक्तिको अहंकार र राष्ट्र प्रमुख महामहिम विद्यादेवी भण्डारीको कार्यशैलीका कारण लोकतान्त्रिक गणतन्त्रमाथि सूर्यग्रहण छाएको छ । त्यो सूर्यग्रहणले राशिफलजस्तै गरी नजिकका आफन्तजन, नातागोता र आफ्नै वरिपरिकालाई फाइदाजनक नै छ भने आमनागरिक र मुलुकको भविश्यका निम्ति घातक सावित भइसकेको छ ।

कहीँ असंख्य विकृतिको कारखाना छ भने त्यो नेपाली राजनीति क्षेत्र नै हो । त्यस्तै सबैभन्दा छोटो समयमा आर्थिक रुपमा मजबुत र सम्पन्न हुने कुनै सहज बाटो र व्यवसाय छ भने त्यो पनि राजनीति नै हो । नीति मध्येको सर्वोत्कृष्ट नीति, विशुद्ध अनि निस्वार्थ सामाजिक सेवाभाव हुनुपर्ने राजनीति आज यति घिनलाग्दो र फोहोर बनाइयो, कि कुरा गरिसाध्य छैन ।

विधिले व्यक्तिलाई बाध्नु पर्ने ठाउँमा व्यक्तिले विधिलाइ बन्धक बनाइरहँदा हामीले अभ्यास गरिरहेको व्यवस्थाको पनि औचित्य समाप्त हुन सक्छ । हिजो आठ/नौ महिने र एक डेढ वर्षको मात्र निश्चित आयु लिएर आएका सरकारहरुको विकल्पमा आज नेकपाको दुईतिहाइ बहुमतप्राप्त सरकार पाँच वर्षका लागि सत्तामा छ । करिब छब्बीस महिने कार्यकाल सम्पन्न गरिसक्दासम्म मुलुकका निम्ति उपलब्धि त परै जाओस् उल्टै झन सत्तारूढ दल नेकपा आफैँ भित्रको किचलो र कुर्सीको लुछाचुँडीमा ध्यानमग्न छ । पद्धति र आचरण असल छैन भने दुइतिहाइले पनि चिउरा भिज्दैन भन्ने कुरा हाम्राअगाडि प्रष्ट भइसकेको छ ।

युवावस्थामा भरपुर जोश, जाँगर र उमंग रहँदा अहिलेका सत्तारुढ, प्रतिपक्षी दललगायत अन्य दलका नेतृत्व र नेताहरुले मुलुकका निम्ति ठूलो बलिदान र संघर्ष गरेको ईतिहास किमार्थ भुल्न सकिँदैन र भुल्नु पनि हुन्न । तर पचास/साठी वर्षको उमेरसम्म आइपुग्दा उहाँहरुको उर्जा शिथिल र स्वास्थ्य प्रतिकुल हुँदासमेत मुलुकको भविष्य उनीहरुकै जिम्मा छोडिएको छ आज । भएभरको जोश, जाँगर , दक्षता र क्षमता विभिन्न किसिमका आन्दोलन र संघर्षमा खर्चिसकेका उहाँहरुसँग अब बाँकी रहेको भनेको व्यक्तिगत लोभ/लालच इर्ष्या र कुण्ठा मात्र देखिन्छ । र अब उहाँहरुको हातबाट देश उँभो लाग्न सक्दैन भन्ने कुरा प्रष्ट भइसक्दा पनि युवापुस्ता चुपचाप बस्नु हुन्न । बरु हरेक राजनीतिक दलमा आवद्ध र आस्था राख्ने युवाहरुले एकपटक उनीहरुलाई प्रश्न गर्नैपर्छ कि- ‘साठी कटेका नेताहरु सुध्रिनुहुन्छ कि हामी बिग्रिउँ ?’

फ्रान्सको प्रधानमन्त्री पदबाट राजीनामा दिएर एडवार्ड फिलिप नगर प्रमुख बने । २६ वर्षका युवक हार्दिक पटेल भारतीय कांग्रेस पार्टीबाट गुजरात प्रदेशको कार्यकारी अध्यक्षमा निर्वाचित भए । करिब ६ करोड जनसंख्या भएको गुजरात प्रदेशबाट २६ वर्षको कलिलो युवकले कांग्रेस आइबाट नेतृत्व गर्नुले आम युवाहरुमा नवीन जोश र उत्साहको माहोल सिर्जना गरिदियो । तर हाम्रोमा भने यहाँ हरेक राजनीतिक दलका वडा, नगर जिल्लादेखि लिएर केन्द्रीय कमिटीसमेत वृद्ध संघ, संगठनजस्तै मात्र छन् । आफ्ना स्वार्थका निम्ति ओठेभक्ति र युवा सहभागिताका कोरा नारा दिनेहरुले आजको युवा पुस्तालाइ सत्ता र पद प्राप्तिको सिँढीका रुपमा साधनजस्तै प्रयोगमात्र गरिरहेका छन् । अनि ह्वीलचेयरमा बसेर सरकारले दिएको वृद्धभत्ताबाट चियाको चुस्की लगाउँदै सुस्केरा हाल्ने बेला मुलुक र पार्टीको नेतृत्वमा अडिग भए ।

क्षमता र विचारलाई पाखा लगाएर मर्यादाक्रम र वरियताको नाउँमा युवाहरुलाइ निर्णय प्रक्रिया र नेतृत्वमा आउन हरेक राजनैतिक दल र संघ संगठनहरुमा बन्देजजस्तै बनाइएको छ । हाम्रा पछिल्ला राजनैतिक घटनाक्रम र आन्दोलनका परिवर्तनले राजनीतिलाइ अर्थोपार्जनको एक बलियो आधारका रुपमा स्थापित गरिदिँदा पद र कुर्सीका निम्ति मरिहत्ते गर्ने प्रवृत्ति नै राजनीतिको पहिलो परिचय र परिभाषा बन्यो । कहीँ असंख्य विकृतिको कारखाना छ भने त्यो नेपाली राजनीति क्षेत्र नै हो । त्यस्तै सबैभन्दा छोटो समयमा आर्थिक रुपमा मजबुत र सम्पन्न हुने कुनै सहज बाटो र व्यवसाय छ भने त्यो पनि राजनीति नै हो । नीति मध्येको सर्वोत्कृष्ट नीति, विशुद्ध अनि निस्वार्थ सामाजिक सेवाभाव हुनुपर्ने राजनीति आज यति घिनलाग्दो र फोहोर बनाइयो, कि कुरा गरिसाध्य छैन ।

यही घिनलाग्दो राजनीतिक अभ्यासका कारण आज नेपाली युवाहरु ठ्याक्कै दुई भागमा विभाजित देखिन्छन् । युवा पुस्ताको एउटा यस्तो जमात छ जो सीमित नेताहरुको भरियाबाहेक अरु केही बन्न सकेका छैनन् । अनि अर्को जमात तिनै राजनीतिकर्मी नेता र पार्टीलाइ गाली गर्नुसिवाय केही गर्दैनन् । यी दुवै प्रवृत्ति सरासर गलत र मुलुकको हितविपरीत छन् । कुनै राजनीतिक दलको झोले कार्यकर्ता बनेर भरिया हुनु र राजनीतिलाइ गाली गरिरहनुले समाजलाइ कहीँ-कतै पुर्‍याउँदैन । बरु आम रुपमा युवाहरु संगठित भएर पार्टी र मुलुकको नेतृत्व अनि निर्णय प्रक्रियामा हस्तक्षेप गर्नु नै जरुरी देखिन्छ ।

म मौन छु , तपाईं मौन हुनुहुन्छ । यो मौनताको भाव बुझ्ने न सरकार छ, न प्रतिपक्ष छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा अगाडि बढिरहेका बेला यी भोका पेटहरुले राष्ट्रियता धान्नुको पीडा कि त सिमानामा जंगेपिल्लर बनेर बसेका नागरिकलाई थाहा छ, कि त यमलोकका हाम्रा वीर पुर्खा र महान सहिदहरुलाई थाहा छ ।

पन्ध्र वर्षको उमेरमा विद्यालय पढ्दै गर्दा पकेट खर्चका लागि पत्रिका बेच्ने सन्ना मरिन ३४ वर्षको उमेरमै ‘संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्री’को रुपमा फिनल्यान्डको प्रधानमन्त्री बन्न सक्छन् भने दशकौंदेखि नेपालका राजनीतिक परिवर्तन र आन्दोलनको नेतृत्व गर्ने हाम्रा युवा नेताहरु मुलुक हाँक्न सक्दैनन होला त ? सक्छन । मात्र इच्छाशक्ति र इमान्दारिता हुनुपर्‍यो, देखाउनुपर्‍यो । सधैँभरि अयोग्य र असक्षम सावित भइसकेका ‘बाजे नेता’हरुलाई काँध थापिरहनुभन्दा युवाहरु आफैँले नेतृत्व लिनुपर्छ ।

च्याउजस्तै उम्रेका नेपालका दर्जनौं राजनीतिक दलहरुले गर्दा आज २०% मत प्राप्त गर्नेले ८०% प्रतिशत जनमतको खिल्ली गर्दै शासन चलाएरहेका छन् । त्यसैले यस प्रकारको निर्वाचन प्रणालीले पनि लोकतन्त्रलाई कमजोर बनाइदिएको छ । यस्ता थुप्रै प्रणालीगत त्रुटिहरुलाई सुधार र परिमार्जन गर्ने हो भने पनि युवाहरुको एकीकृत आवाज र अभियानले मुलुकलाइ विकासको गतिमा अनिवार्य तान्न सकिन्छ । बेलैमा विदेश छिरेर अलिकति आर्थिक रुपमा मजबुत र सम्पन्न भएका युवायुवती नेपाल फर्कौं अभियानमा छन् भने मुलुकभित्र अझै पनि कहींकतै आफ्नो सुन्दर भविश्य नभेट्टाएका युवाहरु वैदेशिक रोजगारलाई नै निर्विकल्प लक्ष्यका रुपमा लिएर मेनपावर कम्पनीको गेटअगाडि मेलाजस्तै भेला भइरहेका छन् । तर सरकार मौन छ, अनि नेताहरु व्यक्तिगत लाभ-हानिको प्रतिस्पर्धामा तल्लीन छन् ।

यसरी नै कति दिन चल्छ ? कहिलेसम्म चल्छ ? यी प्रश्न तत्कालका लागि अनुत्तरित छन् र समाधानका निम्ति सार्थक प्रयास पनि छैन । मुलुकको वार्षिक बजेटको करिब ३०/३५ प्रतिशत अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ! खर्बौको आयात छ, लाखौंको निर्यात छ । केही छिमेकीको बक्रदृष्टिका कारण र सन्तुलित परराष्ट्र नीतिविपरीत हुनेगरी हाम्रा राजनीतिक नेतृत्वले गरेका विदेशिहरुसँगको अनावश्यक ‘चुम्बन-चाकडी’ले गर्दा वैदेशिक सम्बन्ध बिग्रँदो छ । यी र यस्तै-यस्तै समस्यामा मुलुक कुहिरोको कागजस्तै भएको छ ।

समस्याका पहाडहरु खडा गर्ने ल्याकत सरकार, प्रतिपक्ष र सबै राजनीतिक दलहरुसँग प्रशस्त छ । तर निकासका बाँधहरु खोल्ने कला कसैमा देखिँदैन । अनावश्यक ढिपी गरेर आत्मरतिमा रमाउँदै हाम्रा राजनीतिक नेतृत्वले मुलुकलाई अनिर्णयको बन्दी बनाएको छ । तर मुलुकका निम्ति ओभोर टाइम काम गर्नुपर्ने युवापुस्ता मौन छ । म मौन छु , तपाईं मौन हुनुहुन्छ । यो मौनताको भाव बुझ्ने न सरकार छ, न प्रतिपक्ष छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रा अगाडि बढिरहेका बेला यी भोका पेटहरुले राष्ट्रियता धान्नुको पीडा कि त सिमानामा जंगेपिल्लर बनेर बसेका नागरिकलाई थाहा छ, कि त यमलोकका हाम्रा वीर पुर्खा र महान सहिदहरुलाई थाहा छ ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु