गृहपृष्ठ टिचिङ अस्पतालको खाताबाट साढे १६ करोड ‘गायब’

टिचिङ अस्पतालको खाताबाट साढे १६ करोड ‘गायब’

teaching-hospital-newskarobar फाइल तस्बिर

देशकै ‘आदर्शवान’ डाक्टरहरूले नेतृत्व गरेको  प्रतिष्ठित र पुरानो मेडिकल कलेज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (बोलीचालीका भाषामा टिचिङ अस्पताल)को साढे १६ करोड रूपैयाँ बैंकमा दाखिला नै नभइ ‘गायब’ भएको छ ।

महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले टिचिङ अस्पतालको नगदी किताबले बैंकमा ९८ करोड २७ लाख ७५ हजार रूपैयाँ मौज्दात देखाए पनि २०७६ असार मसान्तको बैंक स्टेन्टमेन्टअनुसार ८१ करोड ८३ लाख ६७ हजार रूपैयाँमात्रै मौज्दात छ । यसरी बैंकमा घटी देखिएको १६ करोड ४४ लाख ८ हजार रूपैयाँबारे छानबिन गर्न महालेखाले सिफारिस गरेको छ ।

अस्पतालको स्रेस्ताअनुसार नेपाल बैंकमा रहेको पाँच वटा खाता, नबिल बैंक र हिमालयन बैंकमा रहेको एक-एक वटा खातामा १ करोड ६२ लाख २० हजार रूपैयाँ मौज्दात भएको देखाए पनि बैंकमा भने ११ लाख ७० हजार रूपैयाँमात्रै मौज्दात छ । यसरी यी तीन वटा खाताबाट पनि १ करोड ५० लाख ५० हजार रूपैयाँ ‘गायब’ देखिएपछि महालेखाले यसमा छानबिन गर्न सिफारिस गरेको छ ।

प्रतिवेदनअनुसार अस्पतालले ग्लोबल बैंक लिमिटेडमा २ करोड ६४ लाख ३८ हजार रुपैयाँ ऋणात्मक मौज्दात देखाए पनि बैंक विवरण नै पेश गरेको छैन ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको यो अस्पताल चलाउन सरकारले अनुदान दिन्छ भने अस्पतालले आफैले चिकित्साशास्त्र (मेडिकल) अध्ययन गर्ने विद्यार्थीहरूबाट शुल्क असुली तथा उपचारका लागि देशैभरिबाट आउने बिमारीहरूबाट समेत शुल्क लिने गर्छ । यसरी विभिन्न माध्यमबाट जम्मा गरिएको रकम बैंकमा दाखिला नै नगरी बीचबाटै ‘गायब’ हुन थालेपछि टिचिङ अस्पतालको व्यवस्थापनमाथि गम्भीर प्रश्न उब्जिएको छ ।

विगतमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अस्पतालको डिन नियुक्तिका विषयमा अनसन बसेका समयदेखि नै यसको व्यवस्थापनमा देखिएका कमीकमजोरीहरू बाहिर आएका थिए । अस्पतालको आर्थिक मामिलामै प्रश्न उठेको यो पहिलो पटक हो ।

प्रकाशित समय १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु