गृहपृष्ठ कोरोना नेगेटिभको प्रमाणपत्र नदिए समाजमा कसरी बस्ने ?

कोरोना नेगेटिभको प्रमाणपत्र नदिए समाजमा कसरी बस्ने ?

सुर्खेतमा पिसिआर परीक्षण नै नगरी घर फर्काउन खोजेको भन्दै कोरोना संक्रमितहरुले आपत्ति जनाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको नयाँ बसपार्कको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले पिसिआर गरेरमात्रै घर पठाउनुपर्ने भन्दै विरोध गरेका हुन् ।

वीरेन्द्रनगर १२ का ५१ वर्षीय संक्रमितले समाजले यसै पनि कोरोना संक्रमितहरुलाई नराम्रो नजरले हेर्ने गरेको तर नगरपालिकाले भने १४ दिन राखेर पिसिआर परीक्षण नगरी घर पठाउन खोजेको गुनासो गरे । ‘समाजमा दोषी बनाएर ल्याउने ? अहिले नेगेटिभको प्रमाणपत्र नदिएपछि कसरी समाजमा बस्ने ?’ उनले प्रश्न गरे ।

उनका अनुसार आइसोलेसनमा रहेको सबैले शुक्रबार बिहानदेखि नास्ता र खाना खान बन्द गरेका छन् । जबसम्म पिसिआर गरेरमात्रै घर पठाउने वातावरण बन्दैन, तबसम्म कसैले पनि केही नखाने उनले बताए ।

अर्का ३२ वर्षीय युवकले पनि पिसिआर नगर्दा समाजमा कोरोनाको त्रास झन् बढ्ने बताए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिका सुर्खेतका स्वास्थ्य संयोजकले सरकारको मापदण्ड भन्दै १४ दिन आइसोलेसन बसेपछि पिसिआर गर्न नपर्ने भनेपछि तनाव बढेको छ ।

वीरेन्द्रनगर नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले नेपाल सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसन राखेपछि पिसिआर गर्न नपर्ने भए पनि यसअघि सबैको पिसिआर गरी पठाएको बताए । पिसिआर नगर्दा समाजमा झनै कोरोना फैलने डर भएकाले यस विषयमा छलफल गरेको उनको भनाइ छ ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु