गृहपृष्ठ एकैदिन ७० लाख कित्ता सेयर किनबेच, २ अर्ब ८० करोडको कारोबार
एकैदिन ७० लाख कित्ता सेयर किनबेच, २ अर्ब ८० करोडको कारोबार
सेयर बजार परिसूचक नेप्से सोमबार करेन्सन हुँदा ७० लाख कित्ता सेयर कारोबार भएको छ । आइतबार ८४ अंकले बढेको बजार सोमबार १४ अंकले करेक्सन भएको हो । गत साताभर ६३ अंकले बढेरको नेप्से यो साताको पहिलो दिन नै ८४.२६ अंकले बढेर १४७९.०३ अंकमा पुगेको थियो ।
सोमबार नेप्सेमा तीव्र उचार चढाव आयो । बजार खुलेको केही बेरमै ४ प्रतिशतले बढेपछि नेप्सेमा पहिलो सर्किट लाग्यो । २० मिनेट बन्द गरेर खोलिएको बजार फेरि १ मिनेटमै ५ प्रतिशतले बढेपछि सर्किट लाग्यो । त्यसपछि खुलेको बजारले नकारात्मक दिशा समातेको हो ।
अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेपछि नेप्से ओरालो लागेको हो । गत साताभरको ६३ अंकको वृद्धिलाई क्यासमा बदल्न अल्पकालीन लगानीकर्ताले सेयर बेच्न थाले भने तरलता वृद्धिका कारण ब्याजदर घटेको मौका पारेर बजार प्रवेश गर्नेहरूका कारण बजारमा ठूलो कारोबार भयो ।
यससँगै एकैदिन ७० लाख कित्ता सेयर किनबेच भएको छ । यसअघि लकडाउनपछि ३७ लाख ३३ हजार कित्ता हाराहारी कारोबार भइरहेको थियो ।
नेप्सेमा सोमबार १८१ कम्पनीको ७० लाख १ हजार २५१ कित्ता सेयर २ अर्ब ८० करोड २२ लाख रूपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि ७२ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने युनाइटेड फाइनान्स, एनआइसी एसिया लघुवित्त र स्पर्श लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंक, विकास बैंक, वित्त र म्युचुअल फन्डबाहेकका सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो ।
प्रकाशित समय १६:२५ बजे

















