गृहपृष्ठ महासंघको निर्वाचन फेरि अन्योल, छलफलका लागि बोलाइयो बैठक
महासंघको निर्वाचन फेरि अन्योल, छलफलका लागि बोलाइयो बैठक
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव फेरि अन्योल भएको छ । महासंघले साउन २६ र २७ गते गर्ने भनिएको ५४औं महाधिवेशन तोकिएकै समयमा गर्न किशोर प्रधान पक्षले आनाकानी गरेपछि निर्वाचन अन्योल भएको हो ।
निर्वाचन तोकिएकै मितिमा गर्ने कि सार्ने भन्ने विषयमा छलफल गर्न बिहीबार दिउँसो २ बजेका लागि महासंघको पदाधिकारी बैठक बोलाइएको छ । स्रोतका अनुसार निर्वाचन सार्ने विषयमा छलफलका लागि अध्यक्ष भवानी राणाले पदाधिकारी बैठक बोलाउन लगाएकी छन् ।
अध्यक्ष राणा, वरिष्ठ उपाध्यक्ष गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका र उपाध्यक्ष (उद्योग वाणिज्य) किशोर प्रधान चुनाव सार्ने पक्षमा छन् भने चुनाव सार्न हुँदैन भन्ने पक्षमा उपाध्यक्ष (वस्तुगत) उमेशलाल श्रेष्ठ, उपाध्यक्ष (एसोसिएट) चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष निरक केसी छन् ।
बैठकमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, जिल्ला/नगर उपाध्यक्ष, वस्तुगत र एसोसिएट गरी तीन जना उपाध्यक्ष र एक जना कोषाध्यक्ष रहनेछन् । पदाधिकारी बैठकमा विशिष्ट सदस्य पूर्वअध्यक्ष चण्डीराज ढकाल पनि उपस्थित हुन्छन् तर उनको मताधिकार हुँदैन ।
कोरोनाभाइरस (कोभिड १९) महामारी फैलिन नदिन सरकारले गरेको लकडाउन साउन ७ गतेदेखि हटाए पनि लामो दूरीका सवारी साधन चलेका छैनन् । विज्ञहरूले सरकारले बिनायोजना लकडाउन खोलेको भन्दै समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्नेतर्फ सचेत गराएका छन् । यसैलाई आधार बनाएर संस्थापन पक्ष र अध्यक्षका प्रत्यासी किशोर प्रधान पक्ष निर्वाचन सार्ने तयारीमा रहेको बुझिएको छ ।
सरकारले लकडाउन हटाए पनि एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन मिल्दैन । महाधिवेशनमा देशभरबाट कम्तीमा एक हजारभन्दा बढी व्यवसायी सहभागी हुनुपर्छ ।
साउन २६ र २७ गते हुने महासंघ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानल घोषणा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिसकेका छन् । प्रधानलाई वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरूको समर्थन छ । ढकाललाई पूर्वअध्यक्ष एवं महासंघका विशिष्ट सदस्य चण्डीराज ढकालको साथ छ ।
प्रकाशित समय १२:०० बजे

















