गृहपृष्ठ ओली सरकारको उपलब्धि : घर-घरमा समृद्धि
ओली सरकारको उपलब्धि : घर-घरमा समृद्धि
हालैका दिनहरूमा नेपालले विश्वलाई नै चकित तुल्याउने गरी व्यापक आर्थिक विकास गरेको छ । यो प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सबल नेतृत्व क्षमताको प्रतिफल हो । नपत्याए, भर्खरै ऊर्जामन्त्री वर्षमान पुनले दिएको अभिव्यक्ति हेरौं । उनले भनेका छन्, ‘कोरोना भाइरस (कोभिड-१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा ३.२ प्रतिशत वृद्धि हुनु सुखद् हो । कोभिड-१९ महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन् । यस्तो अवस्थामा पनि ३. २ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो। यो सरकारको सफलता हो ।’ कसरी ३.२ प्रतिशतको आर्थिक वृद्धिदर? कुन-कुन १८ देश? कसका प्रतिवेदन भनेर खोज्नतिर नलाग्नुस । जंगेले टेलेपछि टेलो-टलो भन्ने सुन्नु भएको छैन? सरकारका मन्त्रीले भनेपछि, त्यो पनि ऊर्जामन्त्रीले, भनेपछि सकियो, हो ठोकुवा नै ३.२ प्रतिशतको वृद्धिदर हासिल भएको छ ।
विचरा अमेरिकादेखि भारतसम्ममा विकसित र उदाउँदा अर्थतन्त्र भएका देशहरू इतिहासकै सर्वाधिक ऋणात्मक अवस्थामा पुगेको बेला नेपालमा भने यत्रो सकारात्मक वृद्धिदर हासिल भएका बेला प्रश्न नगर्नुस्, नेपालले उच्च आर्थिक वृद्धिदरमा त यस वर्ष ९० को दशकपछि विस्फोटक वृद्धिदर हासिल गरेको चीनलाई पनि उछिनेको छ । यो प्रधानमन्त्री ओलीकै सक्षम नेतृत्वका कारण सम्भव भएको हो । त्यसैले नेपाललाई विश्वले नै छक्क परेर हेरेका छन्, उदेक मानेर हेरेका छन्, ताज्जुप लागेरै हेरेका छन्, उल्का लागेरै हेरेका छन्, चकित परेरै हेरका छन् र, भन्दैछन्- अरे बाबा सारा संसार संकटमा परेका बेला, विश्व नै सन् १९३० पछिको ऐतिहासक महामन्दीमा फसेका बेला नेपालजस्तो सानो देश, भूगोलका आधारमा यित्रु देशले कसरी यो चमत्कार गर्यो । हो, यो चमत्कार प्रधानमन्त्री ओलीको नेतृत्वमा मात्रै सम्भव भएको हो ।
यसअघि पनि प्रधानमन्त्री ओलीको नेतृत्वमा उच्च आर्थिक वृद्धिदर हासिल भएकै हो ! नपत्याए वर्ष यही साउन महिनाताका सरकारका मन्त्रीहरू र प्रधानमन्त्री ओलीका सल्लाहकारहरूले सेयर गरेको ट्वीट हेर्नुस्, जसमा०७५-७६ मा ७.१ प्रतिशत वृद्धिदर हासिल भई इतिहासकै तीव्र आर्थिक वृद्धिदर हासिल भएको उल्लेख छ । (अरे बाबा, आव ०४०-४१ मा आर्थिक वृद्धिदर ८.७९ प्रतिशत ,आव ०५०-५१ मा र ०७३-७४ मा ८.२ प्रतिशत रह्यो त त्यो कुनै हिसाबको विषय हो । प्रधानमन्त्री ओलीको नेतृत्त्वपछि कुरा गर्नुस् । इतिहास उहाँबाट मात्र लेखिइन्छ ।)
निर्वाचनअघि एमालेका तर्फबाट प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने भनेकै हो, पुगेको पनि छ । त्यो डलर अमेरिकी हो कि जिम्मावेयिन त्योचाहिँ नसोध्नुस् । भन्नका लागि एकथरि आलोचकहरू देशका समग्र अर्थतन्त्रको गणना गरेर त्यसलाई कुल जनसंख्याले भाग लगाएर निकालिने प्रतिव्यक्ति आयले समग्र देशवासीको प्रतिनिधित्व गर्दैन भन्छन् । त्यसरी पनि हेर्नु भएन, काठमाडौं उपत्यकाको मात्र प्रतिव्यक्ति आय ३२०० अमेरिकी डलरबराबर छ । र, इतिहासदेखि नै काठमाडौं उपत्यकालाई नेपाल भनिन्थ्यो । नेपाल भनेको काठमाडौं भनेर बुझ्नुभयो भने सरकारले नगरेको देखिँदैन । सरकारले लकडाउनका बेला पनि काम गरेकै हो, नपत्याए उपत्यकाका सडक युरोपजस्ता भनेर लेखिएका समाचार अहिले पनि गुगल गर्नुभयो भने भेटिन्छ । (वर्षामा डुबान र हिलोले बिगार्यो त सरकारको थोडी गल्ती हो ? तपाईं बाटोमा हिँड्न जान्नु हुन्न भने सरकारको के गल्ती ? हिलोमा बचेर हिँड्नु पर्छ नि ! )
सरकारले लकडाउनका बेला पनि काम गरेकै हो, नपत्याए उपत्यकाका सडक युरोपजस्ता भनेर लेखिएका समाचार अहिले पनि गुगल गर्नुभयो भने भेटिन्छ ।
सरकारको आलोचना गर्न चीन, भारत र युरोपबाट कोरोना ल्याएका छन् । यति र उति संक्रमित भनेका छन्, उति मरे भनेका छन् । सरकारले पीसीआर चेक गरेन भनेर आलु-चना गरेका छन् । सरकारले ल्याइदिएको हो कोरोना? सरकारले फैलाइ दिएको हो कोरोना? सरकारले नगरेको हो? ओम्नीका भाइहरूलाई लगाएर त्यत्रो आरडीटी किन्द्या छ, अब त्यसमा पनि कमिसन खायो भनेका छन् । हल्ला मच्चाएका छन् । अन्तः नचलेको कुरा यहाँ पनि चलेन त चलेन, खाली रडाको मच्चाएका छन् । सरकारले नगर्दा पनि गरेन भन्ने गर्दा पनि गरेको नदेख्ने? अब क्वारेन्टाइन बनाएन भने, नबनाएको हो? त्यत्रा स्कुल स्कुलमा, पहराका खोँचमा, बेन्च जोडेर ‘मृत्यु र यातना चेम्बर’जस्ता क्वारेन्टाइन नबनाइदिएको हो? त्यतिकै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारका काम नदेख्नेलाई मोतियाबिन्दु लागेको छ भनेका हुन्? सरकारका काम नदेख्नेलाई त मोतियाबिन्दुमात्र होइन,रतन्धो र सेतो मोथ पुतलीबाट सार्ने भाइरसका संक्रमण पनि भएकै हो ।
सरकारले कोरोना नियन्त्रणका लागि त्यत्रो पाँच महिना लडकाउन गरिदिएकै हो, लकडाउनमा कोरोना मासिएन त सरकारको कसरी गल्ती भयो? अझ प्रधानमन्त्री ओली स्वयंले बेसार र तातोपानी खानु भनेर कोरोनाको औषधि पनि सिफारिस गरिदिनु भएकै हो । नेपालका यत्रा ५० वटा औषधि कम्पनी छन्, कसैले आजसम्म बेसारोओल्डिटक्सिन, औषधिका क्याप्सुल नबनाउनु त सरकारका गल्ती होइन नि ।
सरकारका आलोचना गर्नैका लागि पानी पर्यो, बाढी पहिरो गयो, नेपालीका धनजन भयो, सरकारले विपद् व्यवस्थापनमा केही गरेन भनेर समाचार लेखेका छन्, सम्पादकीय लेखेका छन् । असार लागेपछि राष्ट्रिय विपद् व्यवस्थापन समितिको बैठक बसेकै हो । विपद् व्यवस्थापन प्राधिकरण बनाइ देऊ भने बनाइ दिएकै हो । असार-साउनमा पानी नपरे कहिले पर्छ? के अब सरकारले नेपाल ढाक्ने छाता बनाइदिनु पर्यो । धन्न मान्नुस, यता ओम्नी–सोम्नीबाट खरिद गराउने कुनै योजना ल्याउनु परेन ।
प्रधानमन्त्री ओलीका कुरा गर्नेवित्तीकै तपाईहरू खाली रेल, पानीजहाज र फ्याट स्विच थिच्दा ह्वारर बल्ने ग्यासका कुरा गर्नु हुन्छ । मान्छेलाई तनाव दिने पनि एउटा सीमा हुन्छ नि, रेलका लागि उता हिमालपारि सर्वे गर्दैछन् । पानीजहाज अफिस खुलिसक्यो, अब जहाज ल्याउन र टिकट काट्न मात्रै बाँकी छ । पूर्व-पश्चिम विद्युतीय रेलमार्गको काँकडभिट्टा-गड्डाचौकी खण्ड ९४३ किमीको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । यसमध्ये बर्दिबास-निजगढ खण्डको बर्दिबास-लालबन्दी क्षेत्रमा २८ किमी ट्रयाक बेड बनेको छ, ६० वटा जति कल्भर्ट, जनावर मार्ग बनेको छ । काठमाडौ-वीरगन्ज रेलमार्गको भारतीय परामर्शदाता लगाएर (कसले लगायो नसोध्नुस नि फेरि) सम्भाव्यता अध्ययन भइरहेको छ । यति भएपछि अब रेल नआएर हुन्छ ? विराटनगरका निजी तबरबाट बनाइएका गोबरग्यास बलेन त के भो? काठमाडौंमा गुहेश्वरीस्थित फोहरमैला व्यवस्थापनबाट निस्केको ग्यासबाट अग्नि प्रज्वलित हुन थालेपछि अब त्यही ग्यास पाइपबाट घरघरमा पठाइनेछ ।
काठमाडौंका धाराधारामा पानी पठाउन यसो परीक्षण गर्दैमा पाइप फुटेर इन्जिनियरकै ज्यान गयो त, यसमा सरकारको कुनै दोष छ ?
ओली सरकारका नेतृत्वमा अर्थतन्त्रका रूपान्तरण हुने मेगा परियोजनाहरू पनि धमाधम बनेकै छन् । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको दमकमा भ्युटावर बनिसकेको छ । देशका विभिन्न जिल्लाहरूमा २६ वटा सभा हलहरू बन्दैछन भने ५ वटा त बनिसकेकै छन् । ओली सरकारका समयमा धमाधम काम भइरहेको यसले नै देखाउँछ । मेलम्ची पूरा पनि भएकै हो । काठमाडौंका धाराधारामा पानी पठाउन यसो परीक्षण गर्दैमा पाइप फुटेर इन्जिनियरकै ज्यान गयो त, यसमा सरकारको कुनै दोष छ ? सरकारले त काम गरेकै छ । पहाडमा खानेपानी पुर्याउन दुई वटा मल्टीस्टेज लिफ्ट प्रणाली बनाइएकै छन, त्यसबाट साढे १८ हजार जनाले खानेपानीका सुविधा पाएका छन् । प्रधानमन्त्री (बे)रोजगार कार्यक्रमअन्तर्गत देशैभरि युवाले रोजगारी पाएका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा १ लाख ८७ हजार ‘बेरोजगार’ले रोजगारी पाए, पहेँला ज्याकेट लाएका कस्ता बेरोजगारले रोजगारी पाएका थिए भनेर प्रश्नचाहिँ नगर्नुस । सरकारले वैदेशिक सम्बन्ध बलियो बनाउन गत वर्ष ऐतिहासिक रेकर्ड कायम गर्यो । यो वर्ष पनि कोभिडले गर्दामात्रै हो, नभए राष्ट्रपतिदेखि प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मका विदेश भ्रमण यतिबेला चालू भइसक्थ्यो, जसले नेपालको विदेश सम्बन्ध ‘बलियो’बनाउँथ्यो । लक्ष्यअनुसार बजेट खर्च नभए पटक-पटक लक्ष्य संशोधन गर्नु परे पनि ‘आवश्यक परेका कसैलाई’ बजेट खाँचो नहोस् भनेर ऐतिहासिक रुपमा नै सर्वाधिक रकमान्तर गरियो अनि ऐतिहासिक रुपमा नै सर्वाधिक बढी आर्थिक सहायता पनि बाँडियो ।
विकास एकै पटक हुने पनि होइन, विस्तारै बन्दैछ, हुँदैछ, सरकारले सुस्त-सुस्त, अलिअलि गरेर काम पनि गर्दैछ नि । केही नै भएन भनेर गरिने सरकारलाई यस्ता झीना मसिना आलोचनाले केही फरक पर्दैन, किनकी नेकपा डबलको सरकार समृद्धिको दृढ निश्चयमा संकल्पित छ । यसका लागि यती, ओम्नीदेखि भट्टसम्मका साथ लिँदैछ, यी व्यापारिक समूहलाई कसरी व्यक्ति-व्यक्तिका समृद्धि ल्याउने भन्ने कडा अनुभव छ । उनीहरूसहित सरकारका मान्छे सुखी भएपछि सबै सुखी । पञ्चायतकालमा रेडियो नेपालबाट गीत बज्थ्यो- सबै नेपाली पञ्च, सबै नै पञ्च नेपाली । त्यसैले मान्नुस, सरकार सुखी त सबै नेपाली सुखी ।
सरकारले आमनारिकले सुखी र समृद्धि महसुस गर्न सकुन् भनेर नेपालको नयाँ नक्सा बनाइसक्यो । हुँदाहुँदै प्रधानमन्त्रीजीले अयोध्या पनि ठोरीमै ल्याइदिइसक्नु भो । अब, त्यो नक्सा र ठोरीवाले श्री रामप्रभुका कृपासँगै २१ प्रतिशत नेपालीको चरमगरिबी दूर हुन्छ । हरेक नेपालीको प्रतिव्यक्ति आय ह्वातै बढ्ने छ । नेपालको आर्थिक वृद्धिदर १० प्रतिशत पन्ध्रौं योजनाले पुर्याइ दिइसक्यो । अबको २ वर्षमा उच्च मध्यम आय भएको मुलुकमा स्तरोन्नति भइ विकासित राष्ट्रका बाटोमा जानेछ ।
प्रकाशित समय १५:१० बजे

















