गृहपृष्ठ अझै पाएनन् निजी क्षेत्रले पीसीआर परीक्षणको अनुमति
अझै पाएनन् निजी क्षेत्रले पीसीआर परीक्षणको अनुमति
पीसीआर परीक्षण ल्याब । (फाइल तस्बिर)
मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पीसीआर जाँच गर्ने प्रयोगशाला रहेका छन् ।
भरतपुर अस्पतालले सञ्चालन गरेको कोभिड- १९ प्रयोगशालामा मात्र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसारको परीक्षण भइरहेको छ । निजी खर्चमा परीक्षण गर्न चाहनेलाई सो प्रयोगशालामा सुविधा छैन । चितवन मेडिकल कलेजको प्रयोगशालाले भने हालसम्म अनुमति पाएको छैन ।
जिल्लामा परीक्षण गर्न चाहनेको संख्या बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी पैसा तिरेर परीक्षण गर्न चाहना राख्नेको संख्या निकै भएको बताउँछन् । उनले भने, ‘दैनिक धेरै फोन त्यसै विषयलाई सोध्नेको आउने गर्दछ ।’ सर्वसाधारणलाई बुझाउनै कठिन हुने गरेको उनले जानकारी दिए ।
यहाँका प्रयोगशालालाई निजी खर्चमा परीक्षण गर्न दिएमा सहज हुने बताइएको छ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपाने आफुहरुले पाँच करोड ४० लाख खर्च गरेर प्रयोगशाला निर्माण गरे पनि स्वास्थ्य मन्त्रालयले अनुमति नदिएको बताए । प्रयोगशालाका लागि आवश्यक सबै तयारी गरिएको छ । ‘परीक्षणका लागि दैनिक ५० हाराहारी टेलिफोन आउँछन्,’ उनले भने, ‘अनुमतिको पर्खाइमा कलेज रहेको छ ।’
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफुलाई पनि स्वास्थ्य मन्त्रालयको निर्देशिका बाहिरका व्यक्तिले परीक्षणका लागि निकै सोध्ने गरेको जानकारी दिए । उनले भने, ‘म आज काठमाडौँ जाँदै छु । यस विषयमा मन्त्रालयमा कुरा राख्ने छु ।’
भरतपुर अस्पतालमा दैनिक पीसीआर परीक्षणका लागि सर्वसाधारण आउने गरेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रमुख डा. लुना झाले भरतपुर अस्पतालले हालसम्म रकम तिरेर परीक्षणका लागि माग नगरेको बताइन् । त्यसैगरी चितवन मेडिकल कलेजले हाल माग गरेकाले समय मिलाएर प्रयोगशालाको निरीक्षण गरी मापदण्ड पुगेको पाइएमा अनुमति दिइने उनले जानकारी दिइन् ।
स्वास्थ्य मन्त्रालयको यही साउन १४ गतेको निर्देशिकाले रुघाखोकी, स्वासप्रस्वासमा समस्या भएका, गन्ध थाहा नपाउने र पखाला लागेकालाई पीसीआर परीक्षण गर्ने उल्लेख छ । त्यसैगरी संक्रमितसँग प्रत्यक्ष भेटघाट भएका, अरु कारण पत्ता नलागेका ज्वरोका बिरामी, संक्रमितसँग प्रत्यक्ष रुपमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीको परीक्षण गर्ने निर्देशिकामा उल्लेख छ । यसैगरी १४ दिनभित्र संक्रमण फैलिएको क्षेत्रबाट आएका, सघन उपचार कक्षमा उपचार गराइरहेका, प्रतीरक्षा क्षमता कमजोर भएका, ६० वर्ष नाघेका, शल्यक्रिया गर्न तयारी अवस्थामा रहेकाको परीक्षण गर्ने मन्त्रालयको निर्देशिकामा उल्लेख छ ।
कोरोना संक्रमण भई १४ दिन काटेका तर लक्षण भएकालाई पनि परीक्षण गर्ने गरिएको छ । त्यसबाहेकका व्यक्तिले रकम तिरेर पनि यहाँ परीक्षण गर्ने अवसर नपाएका हुन् । सरकारले राजधानीसहित विभिन्न जिल्लामा रकम तिरेर परीक्षण गर्न चाहनेका लागि अवसर दिएको भए पनि यहाँ दुवै प्रयोगशालाले त्यस अवसर नपाउँदा सर्वसाधारण प्रभावित भएका हुन् । भरतपुर अस्पतालको प्रयोगशालाले निर्देशिकाअनुसारका व्यक्तिको दैनिक १५० हाराहारी परीक्षण गर्दै आएको छ । यस प्रयोगशालाले चितवनसहित १० जिल्लाका नमूना परीक्षण गर्दै आएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमण भएकाको संख्या ११६ पुगेको छ । (रासस)
प्रकाशित समय ११:५६ बजे
















