गृहपृष्ठ फेरि कोरोना जोखिममा सुदूरपश्चिम, छैन सतर्कता
फेरि कोरोना जोखिममा सुदूरपश्चिम, छैन सतर्कता
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना संक्रमण भित्रिएपछि नेपालमा पनि गत चैत ११ देखि लकडाउन लागू गरियो । संक्रमण दर केही कम देखिएपछि चारमहिना लामो लकडाउनको गत साउन ७ गते अन्त्य गरिएको थियो । तर पुनः संक्रमणदर दिनहुँ बढ्दो क्रममा रहेको देखिएको छ ।
एकसमय देशभरमा सबैभन्दा बढी प्रभावित बनेको सुदूरपश्चिममा फेरि कोरोना संक्रमण तीव्र रुपले बढ्न थालेको छ । पछिल्लो एक साताको तथ्यांक हेर्दा सुदूरपश्चिममा संक्रमणदर बढ्दो देखिएको हो । प्रदेशमा हालसम्म करिब ५ हजारमा कोरोना संक्रमण फैलिसकेको छ । दिनानुदिन कोरोना संक्रमण फैलिरहँदा भीडभाड गर्ने र आधारभूत स्वास्थ्य मापदण्ड पालना नगर्नेमा समाजका अगुवाहरु नै अगाडि देखिएका छन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा समुदायस्तरमै संक्रमण फैलिसकेको स्वास्थ्य विज्ञहरुले आशंका गरेका छन् । महामारी फैलिँदै जाँदा लापर्बाही बढेकोप्रति उनीहरुको चिन्ता छ । कोरोनाको सुरुआती अवस्थामा निकै सतर्कता अपनाइए पनि पछिल्लो समय भने सर्वसाधारणमा समेत लापार्बाही बढेको छ । मास्क नलगाउने र एकआपसमा भौतिक दुरी कायम नगर्ने प्रवृत्ति बढिरहेको छ ।
यस्ता प्रवृत्तिले समुदाय स्तरमा कोरोना संक्रमण बढ्न सक्ने सेती प्रादेशिक अस्पतालका कोभिड- १९ विभाग प्रमुख डा. शेरबहादुर कमरले बताउँछन् । कोरोनाका बारेमा लापर्बाही नगरी सबैले सुरक्षा अपनाए भयावह अवस्थाबाट बच्न सकिने उनको भनाइ छ ।
तर सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले भने प्रदेशमा अहिलेसम्म समुदाय स्तरमा कोरोना नफैलिएको दावी गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीका अनुसार करिब ४ सय जनाको समुदायमा परीक्षण गर्दा कसैमा संक्रमण देखिएको छैन । प्रदेशमा हालसम्म बाहिरबाट आएकाहरु र उनीहरुको सम्पर्कमा रहेका केहीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सुदूरपश्चिमकै नागरिक भारतबाट आएकाले प्रदेशमा बढी संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयको दावी छ । अब कोरोना परिक्षणको दायरालाई बढाएर केही दिनभित्रै समुदायमा व्यापक परीक्षण हुने निर्देशक अवस्थीले बताए ।
कोरोना सक्रमितको संख्या बढ्दै जान थालेपछि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्बन्धित पक्षहरुसँग छलफल गरेका छन् । उनले महामारी रोकथाम र नियन्त्रणका लागि आवश्यक कदम चाल्न कडा निर्देशन दिएका हुन् । भारतबाट आएकाहरूलाई क्वारेन्टिनमा नराखी घर पठाउन थाल्दा संक्रमण समुदायमा फैलन सक्ने खतरा बढेको उनले बताए । ‘अहिले पनि भारतबाट आउने क्रम जारी छ । यस्तो अवस्थामा उनीहरूलाई सिधै घर पठाउन उपयुक्त हुँदैन,’ उनले भने । त्यसैले फेरि क्वारेन्टिन तयार गर्न निर्देशन दिएको भट्टले बताए ।
कोरोना संक्रमण ओरालो झरेको बेला संक्रमणमुक्त भइसकेको भन्दै क्वारेन्टिन नै हटाएका स्थानीय तहहरुले अब फेरि क्वारेन्टिन बनाउनुपर्ने अवस्था आएको छ । संघीय सरकारले कहिले १४ दिनमै घर पठाउने त कहिले होम क्वारेन्टिनमै राख्नुपर्छ भन्ने निर्णयले स्थानीय तह अन्योलमा छन् । त्यसैले कोरोना नियन्त्रणका लागि दीर्घकालीन योजना बनाई सबै तहका सरकार लाग्न आवश्यक छ ।
प्रकाशित समय १३:०७ बजे
















