गृहपृष्ठ पर्सामा ४४ थुनुवासहित थप १४१ जनामा कोरोना, नगर प्रमुखका बुवा र आमालाई पनि संक्रमण

पर्सामा ४४ थुनुवासहित थप १४१ जनामा कोरोना, नगर प्रमुखका बुवा र आमालाई पनि संक्रमण

पर्सामा अहिलेसम्मकै सार्वाधिक कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार पर्सा, बारा र रौतहटका गरी १४१ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमा ८ देखि ७९ वर्ष उमेर समूहका २२ महिला र १२० जना पुरुष छन्, जसमा चार जना बारा, चार जना रौतहट र बाँकी सबै पर्साका छन् ।

पर्सामा समुदायस्तरमा फैलिएको कोरोना संक्रमणले विभिन्न प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पर्सागरि प्रहरी हिरासतमा रहेका ४४ जना थुनुवामासमेत कोरोना संक्रमण देखिएको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका एक महिलासहित ४३ जना थुनुवा र कार्बाहीमा रहेका एक प्रहरी गरी ४४ जनाको संक्रमण पुष्टि भएको हो ।

कन्ट्राक्ट ट्रेसिङका अधारमा विभिन्न स्थानबाट आएका उनीहरुको स्वाब संकलन गर्दा ४४ जना संक्रमित फेला परेको उनले बताए । संक्रमितहरु वीरगन्ज महानगरपालिकाको भन्सारस्थित इनर्वा, वडा प्रहरी कार्यालय श्रीपुर र विर्तामा रहेका थुनुवाहरू रहेको नारायणी अस्पतालले जनाएको छ ।

त्यसैगरी, थपिएका संक्रमितमध्ये नेपाली सेनाका पाँच जना र वीरगन्ज कारागारका दुई जना छन् । वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीका ७२ वर्षीय बुवा र ६८ वर्षीया आमामा पनि कोरोना पुष्टि भएको छ । उहाँहरु अहिले होम आइसोलेसनमा रहेको नगरप्रमुख सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका २५ खलवाटोल सिर्सियाका २७ जना पुरुषमा समेत कोरोना संक्रमण देखिएको छ । त्यसैगरी वीरगन्ज महानगर १० आदर्शनगर र अशोक बाटिकाका ६ महिलासहित ११ जना, चिनीमिलका २ महिलासहित ४ जना, वीरगन्ज ११ का २ जना, वडा नम्बर १३ तेजारथ टोल, मुर्लि १२, भिष्वा १५, घडिअर्वा १०, पिपरा, गण्डकलगायत स्थानका एक/एक जना संक्रमित थपिएका छन् ।

बाराको हने कलैया, चिउटाहा, लिपनिमाल वडा नम्बर ३, जितपुरका एक/एक जना संक्रमित र ईशनाथ नगरपालिका रौतहटका २ महिलासहित ३ जना, गौर नगरपालिकाका एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित राख्ने आइसोलेसन वार्ड नभएकाले अहिले समस्यामा उत्पन्न भएको जनाइएको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु