गृहपृष्ठ बुद्ध एयरको सिमरा उडान परीक्षण
बुद्ध एयरको सिमरा उडान परीक्षण
नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुद्ध एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुद्ध एयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरेको हो ।
जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।
चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्ध भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ । नेपालकै सबैभन्दा पुरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भीडभाड हुने गर्छ ।
बुद्ध एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज छन् । भदौ १ बाट हुने उडानका लागि बुद्ध एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्यान्ड सेनिटाइज, फेसमास्क र फेससिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाइ गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १२:३७ बजे

















