गृहपृष्ठ वीरगञ्जको कोभिड अस्पतालमा वृद्धको मृत्यु

वीरगञ्जको कोभिड अस्पतालमा वृद्धको मृत्यु

नारायणी कोभिड विशेष अस्पताल गण्डकको आइसोलेसनमा भर्ना भएका एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ३ निवास ६५ पुरुषको गण्डक अस्पतालको इमर्जेन्सी कक्षमा उपचारको क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।

कोरोना परीक्षणका लागि उनको स्वाबको नमूना नारायणी अस्पताल पठाइए पनि उनको पीसीआर रिपोर्ट भने अहिले आउन बाँकी रहेको अस्पतालका चिकित्सक डा. नीरज सिंहले बताए ।

केही दिनदेखि सामान्य ज्वरो र रुघाखोकीबाट ग्रसित उनी बिहीबार श्वासप्रश्वासको समस्या लिएर वीरगञ्जस्थित एडभान्स मेडिकेयर हस्पिटलमा उपचार गराउन पुगेका थिए । एडभान्समा पुग्दा उनको अक्सिजन लेभल असन्तुलित हुँदा चिकित्सकले तत्कालै आइसीयुमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिए ।

अस्पतालमा कार्यरत चिकित्सक र उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि एडभान्समा इमर्जेन्सीबाहेक अन्य सेवा बन्द भएको कारण उनलाई नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल रिफर गरिएको थियो ।

अस्पतालबाट नेसनल मेडिकल लैजान एम्बुलेन्स समेत नपाएर बिरामीलाई अटो रिक्सामा राखेर अस्पताल पुर्‍याइएको मृतकका आफन्तले बताए । तर, नेसनलले उनलाई भर्न गर्न नमानेपछि वीरगञ्ज-३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

‘चिकित्सकको सल्लाहअनुसार हामीले उनलाई नेसनल मेडिकल कलेज लागेका थियौं, तर त्यहाँ हामीलाई यहाँ यस्तो विरामीको उपचार हुँदैन भनेर ढोकाबाट नै फर्काइयो,’ वडा अध्यक्ष स्वर्णकारले भने, ‘अनि नारायणी अस्पतालका डा. नीरज सिंहसँग समन्वय गरेर हामीले उनलाई कोभिड अस्पताल गण्डकमा लिएर भर्ना गर्यौं । त्यहाँका चिकित्सकले धेरै प्रयास गरे तर उहाँले राति अढाई बजेतिर प्राण त्याग्नु भयो ।’

नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको लापरवाहीका कारण दुई दिनमा दोस्रो व्यक्तिको मृत्यु भएको हो । हिजो मात्र अस्पतालले वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरका चलितर महतोलाई भर्ना गर्न नमानेपछि उनको अस्पतालको गेट अगाडि  निधन भएक थियो ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार एक सूचना जारी गर्दै निजि अस्पतालहरुलाई विरामीहरुलाई उचित उपचार गर्न निर्देशन समेत दिएको छ ।

नेशनल अस्पतालका कोभिड संयोजक डा. असरफ हुसेनसँग यस विषयमा बुझ्दा आफूलाई कुनै जानकारी नभएको भन्दैअस्पताललाई बद्नाम गराउन पटक-पटक यस्तो गरिएको हुनसक्ने आशंका व्यक्त गरे ।

प्रकाशित समय १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु