गृहपृष्ठ कोरोना महामारीले सुख्खा बन्दरगाह एक तिहाइमात्र सञ्चालनमा
कोरोना महामारीले सुख्खा बन्दरगाह एक तिहाइमात्र सञ्चालनमा
नयाँ व्यवस्थापन प्रिस्टिन भ्याली ड्राइपोर्टलाई
कोरोना भाइरस महामारी (कोभिड-१९ )फैलिएपछि वीरगन्जस्थित देशकाे मुख्य सुख्खा बन्दरगाह (इन्ल्याण्ड क्लियरेन्स डिपो/ड्राइपोर्ट) को सञ्चालन ३५ प्रतिशतमा खुम्चेको छ । नेपालको समग्र आयात-निर्यात व्यापार नै प्रभावित भएपछि सुख्खा बन्दरगाहको कारोबार पनि संकुचित भएको हो ।
२०५७ सालदेखि निर्माण सुरु भई २०६१ सालदेखि सञ्चालनमा आएको सुख्खा बन्दरगाहको ४ हजार ५०० कन्टेनर व्यवस्थापन र भण्डारण गर्ने क्षमता छ ।
भारतको कोलकाता र विशाखापट्नम बन्दरगाहबाट रक्साैल हुँदै सोझै सिर्सिया सुख्खा बन्दरगाहसम्म भारतीय रेलमार्फत मालवाहक रेलहरु आवत-जावत गर्दछन् ।
गत आर्थिक वर्ष २०७६/७७ मा सिर्सिया सुख्खा बन्दरगाह हुँदै १ खर्ब ४६ अर्ब ७५ करोड रूपैयाँ मूल्यबराबरको वस्तु आयात भयो भने ४ अर्ब २३ करोड ६५ लाख रूपैयाँ मूल्यबराबरको वस्तु निर्यात भयो । यो कुल आयातको १०.३४ प्रतिशत र कुल निर्यातको ४.३६ प्रतिशत हो ।
अघिल्लो आव २०७५/७६ भन्दा आयात ११.३९ प्रतिशतले घटेको छ भने निर्यात भने ८५ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । सुख्खा बन्दरगाहसहित वीरगन्जले समग्र आयातमा ४५ प्रतिशत र निर्यातमा झन्डै २७ प्रतिशत हिस्सा ओगटेको छ । गत आवमा सिर्सिया सुख्खा बन्दरगाह भन्सारले ३८ अर्ब १९ करोड ७३ लाख रूपैयाँ राजश्व संकलन गरेको छ ।
यसैबीच, सुख्खा बन्दरगाहको व्यवस्थापन फेरिएको छ । बन्दरगाह निर्माण सम्पन्न भएदेखि सन् २००४ बाट भारतको सरकारी निकाय भारतीय रेलवेको अंग कन्नकोर रेलवेजको स्थानीय साझेदार हिमालयन टर्मिनल प्रालि सञ्चालन हुँदै आएको बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले पाएको हो ।
पटक-पटक गरी म्याद थपिदै सञ्चालन गरिरहेको हिमालयन टर्मिनलको ठेक्का अवधि सकिएपछि प्रिस्टिन भ्यालीले नयाँ जिम्मेवारी पाएको हो । प्रिस्टाइनले ५ वर्षका लागि बन्दरगाह सञ्चालनका लागि जिम्मेवारी पाएको छ । शुक्रबार आयोजित विशेष कार्यक्रमका बीच नयाँ व्यवस्थापनले पर्सा जिल्लाको सिर्सियामा रहेको ३८ हेक्टरमा रहेको बन्दरगाहको व्वस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो ।
सुख्खा बन्दरगाहको नियमक नेपाल यातायात विकास निगमका निर्देशक हेमेन्द्र मोहन शाहही भने ‘१६ वर्ष अघिदेखि सञ्चालनमा आएको यो बन्दरगाहको व्यवस्थापन पहिलो पटक निजी साझेदारीको काँधमा सुम्पेका छौं ।’
कोभिड- १९ को कहरका बीच व्यवस्थापन सम्हालेको कम्पनीका लागि को आगामी दिनहरुमा ठूलो चुनौती रहेको नेपाली साझेदार भ्याली टर्मिनल्सका निर्देशक माधव बराल बताउँछन् । कोभिडको प्रकोप समाप्त हुने समय सीमा यकिन नभएको हुनाले आयात र निर्यातमा आएको ह्रास थप बढ्ने सम्भावना रहेको बराल बताउँछन् ।
यद्पि यो मन्दी अवधिमा सडकमार्फत भइरहेका आयात र निर्यातलाई रेलमार्फत सुख्खा बन्दरगाहमा ल्याउन थप पहल गर्ने एवं नेपाल भित्रको वितर व्यवस्थापनलाई थप चुस्त बनाउने योजनामा प्रिस्टिन भ्याली लागेको बराल बताउँछन् ।
टर्मिनल व्यवस्थापन कम्पनीका निर्देशकहरु रजनीश कुमार र बाबुराजा रावलले यो साझेदारीले लाभग्रहीलाई प्रदान गर्ने सेवामा स्तरोन्नति गरिने र व्यापक रुपान्तरण गरिने बताए ।
यसका साथै पूर्वाधारको विस्तार र स्तरोन्नति गरि बन्दरगाहको क्षमता अभिवृद्धि गराउने उनीहरूकाे भनाइ थियो ।
प्रिस्टिन भ्याली ड्राइपोर्टको भारतीय साझेदार ‘प्रिस्टिन मेगालजिस्टिक्स पार्क प्रालिले आफ्नै ३५ वटा कन्टेनर रेलहरु मार्फत विगत १० वर्षदेखि भारतको लुधियाना, कानपुर, सिलिगुढी, पट्ना लगायत धेरै स्थानहरुमा इन्ल्याण्ड क्लियरेन्स डिपोहरु सञ्चालन गर्दै आएको छ ।
नेपालमा सञ्चालन साझेदारीसँगै पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरेको हो । नेपाली साझेदार ‘भ्याली टर्मिनल्स’, भ्याली ग्रुपको लजिस्टिक्स क्षेत्रमा काम गर्ने भगिनी कम्पनी हो । भ्याली ग्रुपले कुखुराजन्य उत्पादन र वितरण, फास्ट फुड, अटो मोबाइल, निर्माण सामाग्री उत्पादन, पूर्वाधार, आइटी आदि क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
प्रकाशित समय १३:०६ बजे

















