गृहपृष्ठ स्वासप्रस्वासमा समस्या भएर धनुषामा दुई जनाको मृत्यु
स्वासप्रस्वासमा समस्या भएर धनुषामा दुई जनाको मृत्यु
मिथिला विहारी नगरपालिका ५ ललिया बस्ने ४५ वर्षीय पुरुषको स्वासप्रस्वास समस्यामा कारण मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका २ कदमचोकस्थित विनय तारा फाउन्डेसनका सेक्युरिटी गार्ड ती पुरुष पाँच दिनदेखि ज्वरो र रुघाखोकीका कारण घरमै बसेर औषधी सेवन गर्दै आएका थिए ।
साउन २५ गते बिहान ७ बजे शौचालय गएका बेला स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय सुरेन्द्र साहले जानकारी दिए । शव अहिले विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा राखिएको छ ।
स्वासप्रस्वासका कारण छोटो समयमै मृत्यु भएकाले उनको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमराज भट्टराईले जानकारी दिए । स्वाब संकलनपश्चात आउने रिपोर्टका आधारमा आगामी योजना बनाइने उनले जानकारी दिए ।
हिजो राति पनि जनकपुरको काव्या हस्पिटलमा एक जना मुटु र दम रोगीको मृत्यु भएको छ । उनमा कोरोनाको लक्षण नदेखिए पनि स्वाब संकलन गरी दाहसंस्कारका लागि शव परिवारलाई नै जिम्मा लगाइएको छ ।
प्रकाशित समय १२:०५ बजे

















