गृहपृष्ठ साधारण कृष्णमा असाधारण गुण
साधारण कृष्णमा असाधारण गुण
‘यदा यदा हि धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानमधर्मस्य, तदात्मनं सृजाम्यहम्’
‘अर्थात् जब जब संसारमा धर्म नास हुँदै जान्छ र अधर्म बढ्दै जान्छ, तब तब धर्मको रक्षाका लागि म स्वयं यो धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।’
उल्लिखित अंश श्रीमद् भागवत गीतामा कृष्णले भनेका भनाइ हुन् ।
आज कृष्ण जन्माष्टमी । श्री कृष्णको जन्मदिन । देशभर कृष्णको पूजा आराधना गरी मनाइँदै छ । यसपालि कोरोनाभाइरसका कारण कृष्ण मन्दिरहरुमा मानिसको चहलपहल भने छैन । ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिर पनि पूर्णरुपमा बन्द गरिएको छ । मन्दिर बन्द भए पनि मानिसहरुले आफ्नै तरिकाले घरघरमा कृष्ण जन्माष्टमी मनाइरहेका छन् ।
हिन्दू धर्मावलम्बीका विभिन्न भगवानमध्ये कृष्ण पनि एक हुन्, जसलाई विष्णु भगवानका आठौँ स्वरुप मानिन्छ । पौराणिक कथाअनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानिसको रक्षा गर्न विष्णुको आठौं अवतारको रुपमा कृष्णले जन्म लिएका हुन् ।
जन्म
श्रीकृष्णको जन्म भदौ कृष्ण अष्टमीको दिन मथुरामा भएको थियो । उनी पिता वसुदेव र माता देवकीको कोखबाट जन्मिएका हुन् । मातापिता मामा कंशको जेलमा कैद भएका बेला कृष्णको जन्म भएको हो । कंशले जन्मनेबित्तिकै उनलाई मार्ने योजना बनाएका थिए । कारण थियो– जब वसुदेव र देवकीको विवाह सम्पन्न भयो, कंश स्वयं उनीहरु चढेको रथ लिएर जाँदै थिए । बाटोमा भविष्यवाणी भयो– तिमी जसलाई पु¥याउन जाँदै छौ, उसकै आठौँ सन्तानले तिमीलाई नाश गर्नेछ ।’
यो सुनेपछि कंशले त्यही दिनबाट बहिनी ज्वाइँलाई जेलमा राखे र आठौँ सन्तानको प्रतीक्षा गर्न थाले । देवकीले जन्माएका सातवटै बच्चालाई कंशले मारिदियो । तर, आठौँ बच्चाको जन्मले उनको काल निम्त्याइरहेको थियो । कंश जसरी पनि त्यो बच्चालाई मार्न चाहन्थ्यो ।
तर, कृष्णको जन्म भएको जेलका पहरेदारहरुले थाहा पाएनन् । कंशले समेत पत्तो पाएन । जन्मनेबित्तिकै वसुदेवले कृष्णलाई गोकुल लगेर यशोदाकी छोरीसँग साटिदिए । यसबारे यशोदालाई थाहा भएन । पछि जेलका पहरेदारहरुले बच्चा जन्मेको थाहा पाए र कंशलाई खबर गरे । कंश आएर हेर्दा छोरी जन्मेको देखे । उसले तिनलाई पनि मार्न खाज्यो । तर, त्यो शिशु कंशको हातबाट फुत्किएर आकाशमा गइन् र भनिन्, ‘दुष्ट कंश ! तैंले मलाई मार्न सक्दैनस्, बरु तँलाई मार्ने अर्को जन्मिसकेको छ ।’
बाल्यकाल
कृष्णको बाल्यकाल गोकुलमै बित्यो । गोपिनीहरुसँग नाच्दै, खेल्दै उनले बाल्यकाल बिताए । माता यशोदालाई छल्ने, ढाँट्ने, अनेकौँ माग राखेर सताउने गर्थे उनी । गोपिनीहरुका दही र मखन चोरेर खाएर हैरान पार्थे । कृष्णको बाल्यकाल अत्यन्तै चञ्चल प्रवृत्तिको थियो ।
राधा र कृष्णको प्रेम
अहिले पनि प्रेम गर्ने जोडीहरुलाई उदाहरण दिनुप-यो भने राधाकृष्णको जस्तो जोडी भन्ने गरिन्छ । अनि कसैलाई आर्शिवाद दिनुप-यो भने पनि राधा र कृष्णको जस्तो जोडी होस् भनिएको पाइन्छ । आजका दिन धेरैजना विवाह बन्धनमा पनि बाँधिने गर्छन् । उनीहरुको माया गहिरो थियो । कयौँपटक कृष्णले राधालाई बज्रको जंगलमा घुमाएका कुरा कथामा वर्णित छन् । भनिन्छ– कृष्णले मुराली बजाउँदा राधा मुग्ध हुन्थिन, गोपिनीहरु हुरुक्कै हुन्थे, जनावरहरु चर्न छाडेर सुनिरहन्थे, पन्छीहरु नाच्थे ।
कृष्णले जीवनमा कहिल्यै घमण्ड गरेनन्, अहंकार उनमा पाइँदैन । धर्मशास्त्रीहरुले उनलाई ज्ञानको अनन्त उचाइ र भगवानको पूर्णावातर मान्छन् । उनी साधारण मानिस जस्ता देखिन्छन् तर उनका काम असाधारण छन् ।




तस्बिरहरू गत वर्ष ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरका हुन् ।
प्रकाशित समय १७:०० बजे

















