गृहपृष्ठ ‘गजल’बारे दुई गजल
‘गजल’बारे दुई गजल
गजल- १
अरबबाट हिन्दी हुँदै माया साट्न आयौ गजल
अनगिन्ती कवि मनमा छाउनसम्म छायौ गजल ।
हिमाचलको झरनाझैं शेररूपी लामो कपाल
शिरबन्दी मिसराको कति सुन्दर लायौ गजल ।
सगरमाथाजस्तै अग्लो मतला रूपी शिर तिम्रो
नझुकी नै सर्जक सबलाई म्वाई तिमीले खायौ गजल ।
संगीतबिनै मीठो लय ‘बहर’मा आऊँछ तिम्रो
मन्त्रमुग्ध सबलाई पार्ने गुण कहाँ पायौ गजल ।
काफियाको चिनो छाडी मकतामा बिदाई दिन्छौ
चिन्न तिम्लाई धेरै गाह्रो अलमलमा पार्यौ गजल ।।
गजल- २
शिरमा ‘मतला’को टोपी सुहाउने गजलमा
मकतामा श्रद्धाले त्यै शिर झुकाउने गजलमा ।
‘मिसरा ए ऊला’ले उठान गरेको उत्सुकतामा
‘ए सानी’ले सबको चित्त बुझाउने गजलमा ।
सम्पन्नता छ लयमा थुप्रै छन् सुन्दर बहर पनि
लामाछोटा शेरलाई तरनुमले लुकाउने गजलमा ।
बढाउन प्रभाव काफियामा छँदैछ साथ रदिफको
यसैले नै मुरद्दफ र गैरमुरद्दफ छुट्याउने गजलमा ।
मजा छ उस्तै मुसलसल होस कि गैरमुसलसल
फरक-फरक कथा एकै ठाऊँ सुनाउने गजलमा ।
गेयत्मक बिम्ब-प्रतीक अनि मिसिएको कोमल भाव
प्रयास भरतको तखल्लुसको स्वाद खुवाउने गजलमा ।।
संखुवासभा, हाल बेलायत
प्रकाशित समय १९:२० बजे

















