गृहपृष्ठ महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

कोभिड १९ संक्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई निषेधाज्ञा आदेश जारी भएको छ । भदौ १ मध्यरातदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजार क्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका ३ र ५ मा मात्र साउन २१ गतेदेखि  पटक‑पटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । केही दिनयता जिल्लाका सबैजसो भेगमा संक्रमण बढेको हुँदा रोकथामका लागि आवागमन रोक्न जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गरेको आदेशमा उल्लेख छ ।

जिल्लास्थित कोभिड १९ संक्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक काम र निर्माण कार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरातसम्मलाई  निषेधाज्ञा जारी गरिएको महोत्तरी प्रशासनले जनाएको छ । हिँडडुल, सवारी साधन, हाटबजार र मेलाजात्रा भने पूर्ण बन्द हुनेछन । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने प्रजिअ कटुवालले बताए ।

यसअघि पनि जिल्ला प्रशासनले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । तर, स्थानीय तह र उद्योग वाणिज्य संघको समन्वयमा बर्दिवास, भंगाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द गराउँदै आएका थिए । ती प्रयत्न प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो ।

महोत्तरीमा  कोभिड १९ संक्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसमध्ये १२ जनामा सोमबार संक्रमण पुष्टि भएको कार्यालयका कोभिड १९ रोकथाम अभियानका स्रोत व्यक्ति एवं जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । संक्रमितमध्ये ३७० जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । (रासस)

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु