गृहपृष्ठ चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार
चितवनमा कोरोनाको स्रोत : बाहिरी बिरामी र कामदार
शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त सहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर, जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाइ बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोनाभाइरस (कोभिड १९) भित्रिएको छ ।
जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज, सुविधा सम्पन्न आँखा अस्पताल र दुई दर्जन जति निजी अस्पतालमा आउने बिरामीका साथै कृषि, उद्योग र निर्माण क्षेत्रमा काम गर्न आउने कामदारबाट अहिले जिल्लामा कोरोना संक्रमण बढेको आंकलन गरिएको छ । बाहिरबाट आउने कामदारहरु परीक्षण नगरी आउने र यहाँ आएपछि पनि क्वारेन्टिनमा नबस्दा समस्या बढेको चिकित्सक बताउँछन् ।
अस्पतालहरुमा पर्याप्त सुरक्षा सावधानी अपनाउन नसक्दा पनि संक्रमण बढेको पाइएको छ । जिल्लाको कोरोना उपचारको केन्द्र अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित सात जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यस्तै रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित स्वास्थ्यकर्मीहरु पनि संक्रमित छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित जिल्लाका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी पनि संक्रमित भएको पाइएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै प्रदेश २ का बिरामीले यहाँका अस्पताल भरिएको बताउँछन् । ती बिरामी बिना परीक्षण आएसँगै संक्रमण फैलिएको उनको अनुमान छ । उनी भन्छन्, ‘मैले दिनमा १० जना बिरामी जाँच्दा चार जना प्रदेश २ का छन् ।’ यसरी आउने अन्य रोगका बिरामीमा पनि कोरोना संक्रमण देखिने गरेको उनले बताए ।
यससँगै उद्योग, कलकारखाना, कृषि र निर्माण क्षेत्रमा काम गर्न ल्याइएका मजदुर पनि कोरोना संक्रमणको अर्को कारण बनेको उनी बताउँछन् । लकडाउन सकिएसँगै अब कोरोना हट्यो भन्ने मानसिकताले स्वास्थ्य सावधानी अपनाउन नसक्दा समस्या झन् जटिल बनेको अधिकारीले बताए । पहिले परीक्षण कम गर्दा नदेखिएको भए पनि परीक्षण बढाएसँगै संख्या बढ्दै गएको छ ।
अस्पतालहरुले स्वास्थ्यकर्मी चिकित्सकलाई सुरक्षाका लागि सामग्री दिएको भए पनि पर्याप्त हुन नसक्दा पनि समस्या आएको उनको बुझाइ छ । सुरक्षा सामग्री त दिइएको छ तर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैन ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिश्चन्द्र न्यौपाने ढाँटेर भारतदेखिका बिरामी यहाँ आउने गरेको बताउँछन् । उनले भने, ‘गम्भीर अवस्थामा आएका एक बिरामीले माडीको ठेगाना लेखेकोमा मृत्यु भएपछि भारतबाट आएको भन्दै पिसिआर रिपोर्ट मागे ।’ वीरगन्ज क्षेत्रमा कोरोना बढेसँगै उपचार नपाएर त्यस क्षेत्रका बिरामी यहाँका अस्पताल आएसँगै संक्रमण बढ्दै गएको न्यौपानेले बताए ।
वीरगन्जतिरबाट आएका बिरामीले हेटौँडासम्म एउटा एम्बुलेन्स र पूर्वी चितवनसम्म अर्को हुँदै अस्पताल आउँदा तीन‑चार वटासम्म एम्बुलेन्स फेरेर आएको उनको आंकलन छ । यसरी एम्बुलेन्स फेर्दासमेत जोखिम बढी हुने गरेको छ ।
वीरगन्जतिरबाट आएका बिरामीले हेटौँडासम्म एउटा एम्बुलेन्स र पूर्वी चितवनसम्म अर्को हुँदै अस्पताल आउँदा तीन‑चार वटासम्म एम्बुलेन्स फेरेर आएको उनको आंकलन छ ।
चिकित्सक स्वास्थ्यकर्मीले पिपिई लगाएर काम गर्नै नसकेको न्यौपाने बताउँछन् । उनी भन्छन्, ‘सबै ठाउँमा एसी नहुने हुँदा चितवन जस्तो गर्मी ठाउँमा पिपिई लगाएर काम गर्न नसकिने अवस्था छ ।’ मास्कसमेत लगाउने बानी नभएको भन्दै उनले बेलाबेलामा मास्क खोल्ने र हातले छुने गर्दा पनि जोखिम उच्च भएको बताए ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं प्रदेश सभा सदस्य विजय सुवेदी रोग नियन्त्रणका लागि योजनाबद्ध किसिमले काम गर्न नसकिएका कारण समस्या भएको बताए । समग्र जिल्लाको रोग निदानका लागि व्यवस्थित योजना नभएको तथा उपचार छ्यासमिस भएको उनको बुझाइ छ ।
कोरोनाका संक्रमित र अन्य बिरामी एकै ठाउँमा उपचार गर्दा पनि समस्या भएको उनको ठम्याइ छ । स्वाब संकलनका लागि पनि अस्पताल नै जानुपर्ने हुँदा थप जोखिम भएको हो । अगुवाहरुले नै स्वास्थ्य सावधानी नअपनाउँदा समुदायमा सकारात्मक सन्देश गएको छैन । लामो लकडाउनपछि स्वास्थ्य सावधानी अपनाउन सकेको भए यो अवस्था नआउने सुवेदी बताउँछन् । समयमै योजनाबद्ध रुपमा काम गर्न नसकेमा अन्य बिरामीले उपचार नपाउने अवस्था सिर्जना हुनेछ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी लकडाउन खुकुलो भएसँगै कृषि र उद्योग क्षेत्रमा आएका कामदार र विदेशबाट आएका नेपालीले समुदायमा कोरोना फैलाएको बताउँछन् । लकडाउनको समयमा आएकाहरु क्वारेन्टिनमा बसेको भए पनि पछि आउनेहरु आफ्नो सुरमा हिँड्डुल गर्ने गरेकाले समस्या भए उनको अनुमान छ । ‘लकडाउन खुकुलो भएपछि को आयो कता गयो पत्तो भएन, क्वारेन्टाइनमा पनि बसेन, कसैलाई मतलब पनि भएन,’ उनी भन्छन्, ‘जिल्लामा कोरोना चौथो चरणमा पुगेको छ, ‘हाइ ट्रान्समिसन’ हुने अवस्था आएको छ ।’ लकडाउनलाई अझै केही समय कायम नगर्ने हो भने कोरोनाले प्राकृतिक कोर्स पूरा गर्ने र त्यसले क्षति ठूलो गराउने उनले बताए । यसबाट ६० प्रतिशत जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ ।
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशका विभिन्न क्षेत्र हुँदै भारतीय पनि उपचारका लागि आउने गर्छन् । अधिकांश बिरामी सीमावर्ती जिल्लाका हुने गरेका छन् । दैनिक ५०‑६० वटा एम्बुलेन्स बिरामी बोकेर आउने गर्छन् । यसरी बिरामीको आवतजावत बढी हुँदा कोरोना संक्रमण फैलिएको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले बताए ।
अस्पतालमा कार्यरत सात जना स्टाफनर्स र तीन जना सरसफाइका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालको अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको छ । गौतम परीक्षण बिना संक्रमित क्षेत्रका बिरामी धेरै आउँदा रोग फैलिएको बताउँछन् ।
संक्रमण फैलिन नपाओस् भन्नका लागि स्थानीय प्रशासन पहिलेदेखि नै चनाखो नबनेको भने होइन । तर, लकडाउन खुलेसँगै स्थानीय प्रशासनको निर्देशन अवज्ञा भएका कारण अहिलेको अवस्था सिर्जना भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई बताउँछन् । ‘प्रशासनले जे आंकलन ग‑यो त्यही अवस्था हुँदै आएको छ, अटेर गरेकै कारण समस्या उत्पन्न भएको हो,’ उनले भने, ‘प्रशासनले पटक पटक निर्देशन जारी ग‑यो, तर पालना भएन ।’
उद्योग, कलकारखाना, कृषि, निर्माणमा काम गर्न आएका मजदुरले पु‑याउनु पर्ने सावधानी नपु‑याउँदा ठूलो समस्या आएको हो । ‘वीरगन्जको उपचार सेवा प्रभावित भएसँगै त्यस क्षेत्रका बिरामी उपचारका लागि यहाँ आउनुको विकल्प थिएन,’ उनले भने, ‘तर जुन सावधानी अपनाउनु पर्थ्यो, त्यो हुन नसक्दा अहिलेको अवस्था आएको हो ।’
भरतपुर महानगरपालिकाको अगुवाइमा जिल्लामा संक्रमण देखिनुअघि नै भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल स्थापना गरिएको थियो । पछि सो अस्पताल भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको भए पनि हाल बन्द छ । संक्रमितको उपचार भरतपुर अस्पतालले मात्रै गरिरहेको छ । निजी क्षेत्रबाट पुष्पाञ्जली अस्पतालले एक जना संक्रमित राखेर उपचार गरिरहेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ७५ शय्याको भरतपुर अस्पतालको आइसोलेसन कक्ष भरिइसकेको छ । ३० जना घरकै आइसोलेसनमा बसिरहेका छन् । आज एकैदिन थपिएका ५० जना संक्रमितको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता जिल्लामा सुरु भएको पौडेलले बताए ।
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल कोरोना अस्पताललाई निरन्तरता नदिएर अरु बिरामी उपचार भएको अस्पताल र घरमा संक्रमित राख्दा रोग फैलिएको बताउँछिन् । लकडाउनको समयमा महानगरले ५० वटा क्वारेन्टिन स्थापना गरेर विदेशबाट आएकाहरुलाई व्यवस्थित गरेको भए पनि लकडाउन खुलेपछि देशकै विभिन्न क्षेत्रबाट आएकाहरुको व्यवस्थापन गर्न नसक्दा समस्या आएको उनको भनाइ छ ।
‘देशैभरिबाट आएका क्यान्सरका बिरामी र प्रदेश २ बाट आएका बिरामीको उचित व्यवस्थापन हुन सकेन,’ उनी भन्छिन्, ‘लक्षण देखिएर समस्या भएकालाई अस्पतालमा राख्नुपर्छ । अन्यलाई छुट्टै आइसोलेसनमा राखेमात्र रोग फैलनबाट रोकिन सक्छ ।’ राजधानी काठमाडौँ जान कडाइ गरिएपछि तराईका बिरामीहरुको उपचारको केन्द्र भरतपुर बनेको छ । सबै खालका उपचार हुने भएकाले वीरगन्ज प्रभावित भएसँगै सीमावर्ती क्षेत्रका बिरामी धमाधम चितवन आउने गरेका छन् ।
हालसम्म जिल्लामा २५५ जनामा संक्रमण भएको छ । जसमध्ये २९ जना स्वास्थ्यकर्मी र चिकित्सक छन् । जिल्लाको प्रयोगशालामा १५ हजार हाराहारी नमुना परीक्षण भइसकेको छ । जसमध्ये जिल्लाका चार हजार नमुना परीक्षण गरिएको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका १३२ जना छन् । यस्तै कालिका नगरपालिकाका पाँच, रत्ननगर नगरपालिकाका नौ, माडी नगरपालिकाका ४१, खैरहनी नगरपालिकाका सात, राप्ती नगरपालिकाका ६० र इच्छाकामना गाउँपालिकाका एक जना छन् ।
संक्रमण बढ्दै गएपछि माडी नगरपालिकाबाहेक सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लाका उच्च तहका व्यक्ति नै कन्ट्याक्ट ट्रेसिङमा परेकाले अहिले क्वारेन्टिनमा छन् । प्रदेश सभाका तीन सदस्य, भरतपुर महानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रमुख नेताहरु, मेडिकल कलेज र क्यान्सर अस्पतालका प्रमुखलगायत क्वारेन्टिनमा छन् ।
चितवन जिल्ला नेपालको मध्य भागमा पर्छ । राजधानी काठमाडौँ, पोखरा लगायतका सहरहरुलाई तराईसँग जोड्ने मुख्य विन्दु चितवन हो । यातायातको सहज पहुँचका कारण पूर्वदेखि पश्चिमसम्मका मानिस सुविधा लिन यहाँ आउने गर्छन् ।
मेडिकल सिटीका रुपमा परिचय पाएको यो जिल्ला देशकै तेस्रो पर्यटकीय गन्तव्य पनि हो । यस्तै शिक्षाको प्राप्तिका लागि आवश्यक पूर्वाधारका हिसाबले पनि चितवन अगाडि छ । देशभरका ७६ जिल्लाका मानिसको बसोबास छ यहाँ । जसका कारण विभिन्न जिल्लाबाट मानिसको आवतजावत भइरहन्छ । यो पनि यहाँ कोरोना महामारी फैलनुको एक कारण बनेको बताइन्छ । (नारायण अधिकारी/रासस)
प्रकाशित समय १३:२० बजे

















