गृहपृष्ठ पर्सामा १०९ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

पर्सामा १०९ जना संक्रमित थपिए, दुई जनाको मृत्यु

कोरोनाभाइरस संक्रमणबाट वीरगन्जमा दुई वृद्धले ज्यान गुमाएका छन् । वीरगन्जस्थित नारायणी अस्पताल र अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत दुई वृद्ध पुरुषले मंगलबार संक्रमणबाट ज्यान गुमाएका हुन् ।

मृत्यु हुने एक वीरगन्ज महानगरपालिका ४ विर्ता निवासी ८४ वर्षीय वृद्ध र एक जना वडा नं. १३ भिस्वा निवासी ५७ वर्षीय पुरुष छन् । दुईमध्ये एक जनामा मृत्युपछि संक्रमण पुष्टि भएको छ ।

साउन २७ गतेदेखि संक्रमण पुष्टि भई गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका ८४ वर्षीय पुरुषको गए राति साढे १० बजेको करिबमा आइसीयुमा उपचार गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई दम, उच्च रक्तचाप, मधुमेह जस्ता रोग पहिलादेखि नै रहेको चिकित्सकले बताएका छन् ।

त्यसैगरी स्वासप्रस्वासमा समस्या आएपछि हिजो नारायणी अस्पतालको सेमी आइसोलेसनमा भर्ना भएका ५७ वर्षीय पुरुषको दिउँसो साढे ३ बजेतिर मृत्यु भएको थियो । मृत्युपश्चात् उनको स्वाब लिएर पिसिआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर २३ पुगेको छ ।

११७ जना संक्रमित थपिए

पर्साको सदरमुकामबाट सुरु भएको कोरोनाभाइरस संक्रमण बढ्ने लहर अब जिल्लाको ग्रामीण भेगमा प्रवेश गरेको छ । नारायणी अस्पतालले मंगलबार गरेको परीक्षणमा पर्साको ग्रामीण क्षेत्रबाट सबैभन्दा धरै संक्रमित थपिएका छन् ।

नेपाली सेनाका जवान, भारतीय महावाणिज्य दूतावासका कर्मचारी, निजी अस्पतालका निर्देशक, स्वास्थ्यकर्मीसहित पर्सामा १०९, बारामा सात जना र सप्तरीका एक जना गरी ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको बहुदरमाई नगरपालिकामा मंगलबारको रिपोर्टअनुसार एकैचोटि ९० जनामा संक्रमण देखिएको छ । नगरपालिकाका विभिन्न वडाका ९० जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यस्तै जिराभवानी गाउँपालिकामा ४ जना, छिपहरमाई गाउँपालिकामा एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रशासनले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ८१ जना पुरूष र ३६ जना महिला छन् । संक्रमित हुनेमा ७ वर्षको बालकदेखि ७० वर्षका वृद्ध पुरुष छन् । त्यसैगरी वीरगन्ज महानगरपालिका १६ का दुई जना, वडा नम्बर ५, १० र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासका ४४ वर्षीय एक जना महिला कर्मचारी पनि संक्रमित भएकी छन् । वीरगन्जस्थित भवानी अस्पतालका निर्देशक र वयोधा अस्पतालका विभिन्न वार्डमा कार्यरत ६ जना कर्मचारीसमेतमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाराका विभिन्न ठाउँका चार जना र सप्तरी जिल्ला १८ वर्षका युवकमा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जयमोद ठाकुरले जानकारी दिए । साउन ३१ गतेदेखि भदौ २ गतेसम्मका स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ११७ जना संक्रमण पुष्टि भएको ठाकुरले बताए । जिल्लामा कुल संक्रमितको संख्या बढेर १ हजार ५८३ पुगेको छ ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु