गृहपृष्ठ सीपीएलमा सन्दीपको खेल आज

सीपीएलमा सन्दीपको खेल आज

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने खेल्दैछन् । सन्दिप सहभागी जमैका तलावाज र सेन्ट लुसिया जोउक्स आज भिड्दैछन् । ट्रिनिडाड एन्ड टोबागोमा हुने खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ सेटमा स्थान बनाउने बलियो सम्भावना रहेको छ । जमैका रोव्मन पावेलको कप्तानीमा मैदान उत्रने छ भने सेन्ट लुसियाको कप्तानी ड्यारेन स्यामीले गर्ने छन् । तुलनात्मक रुपमा सेन्ट लुसियामाथि जमैका हाबी हुने देखिएको छ ।

यस यामको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन् । सीपीएल भदौ २५ गतेसम्म चल्ने छ । सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् । सीपीएलमा कूल ३३ खेल हुने छन् ।

यसअघि मंगलबार भएको उद्घाटन खेलमा ट्रीनबेगो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । ट्रीनबेगो नाइट राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गरेको थियो । यस्तै दोस्रो खेलमा बार्बाडोस ट्राइडेन्ट्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्सलाई ६ रनले पराजित गर्दै विजयी हात पारेको थियो । कोरोना भाईरसको महामारीको कारण यस सिजनका सबै खेल बन्द रंगशालामा भइरहेको छ ।

सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् । सीपीएलमा सन्दीप एक मात्र नेपाली खेलाडी हुन् ।

सन्दीप सीपीएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमार्फत टोबागो पुगेका थिए । यसबीच सन्दीपले दुईपटक पीसीआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सीपीएल खेल्ने बाटो खुला भएको हो ।

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु