गृहपृष्ठ काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड थप्ने सरकारको निर्णय

काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड थप्ने सरकारको निर्णय

Minister Khatiwada_NewsKarobar

सरकारले काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस संक्रमितहरूको संख्या थपिँदै गएसँगै ६ हजार आइसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले एकीकृत क्वारेन्टिन व्यवस्थापन समिति बनाउने र आइसोलेसन बेड थप गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता, अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकामा रहेका सरकारी अस्पताल, अन्य निजी, सामुदायिक शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठानसमेत प्रयोगमा ल्याएर हालमा कम्तिमा ६ हजार आइसोलेसन बेड थपिने छ ।

आवश्यकताअनुसार यसमा थप गर्दै जाने मन्त्री खतिवडाले जानकारी दिए । उपत्यकाबाहेक अन्य जिल्लाहरूमा प्रदेश मुख्यमन्त्री र मन्त्रीहरू सम्मिलित मन्त्रिपरिषदको कार्यालयले संक्रमण जोखिमको विश्लेषणका आधारमा आइसोलेसन बेडको प्रबन्ध गर्नुपर्ने सरकारले निर्णय गरेको छ ।

लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिका लागि स्वास्थ्य प्रोटोकल पालना गरेर होम आइसोलेसनमा बस्न पाउनेसमेत सरकारले निर्णय गरेको छ भने लक्षण भएका संक्रमितलाई मात्र कोभिड अस्पतालमा उपचार गराउने निर्णय भएको उनले बताए ।

सरकारले कोभिड-१९ को सघन उपचारका लागि सरकारी र सार्वजनिक अस्पतालबाहेक जुनसुकै स्वास्थ्य प्रतिष्ठान, निजी अस्पताल, सहकारी अस्पताल, गैर नाफामूलक सामुदायिक अस्पतालको प्रयोग गर्ने समेत निर्णय लिएको छ ।

 

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु