गृहपृष्ठ कोरोनाबाट एक घण्टाको फरकमा आमाछोराको मृत्यु
कोरोनाबाट एक घण्टाको फरकमा आमाछोराको मृत्यु
सुनसरीको धरानमा आइतबार कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ । धरान १७ का ७४ वर्षीया आमा र ६० वर्षीय छोराको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक दुवैलाई हिजो राति उपचारको लागि प्रतिष्ठान लगिएको थियो । मृतक आमामा अत्यधिक खोकी, श्वास फेर्न समस्या, एक हप्ता देखि ज्वरो आएको थियो । उनी मधुमेह र उच्च रक्तचापको बिरामी पनि भएको बताइएको छ । अस्पतालमा ल्याउँदा उनको अवस्था गम्भीर भइसकेको र कोरोना आशंका गरी स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
छोरालाई पनि श्वास फेर्न समस्या, अत्यधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो । उनी मधुमेहको दिर्घरोगी र केही महिनादेखि कलेजोकत्र समस्याले ग्रस्त थिए । उनको पनि आज बिहान कोरोना पोजेटिभ पुष्टि भएको प्रवक्ता सापकोटाले बताएका छन् । प्रवक्ता सापकोटाका अनुसार छोराको बिहान ७ः४५ बजे र आमाको ८ः३७ बजे मृत्यु भएको हो ।
योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रदेशमा ३१ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये २२ जना प्रदेशका र बाँकी प्रदेश बाहिरका हुन् ।
प्रकाशित समय १४:०० बजे

















