गृहपृष्ठ नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ इन्डेक्स भने नेगेटिभ

नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ इन्डेक्स भने नेगेटिभ

सेयर बजार परिसूचक नेप्से ४ अंकले बढेको बजारमा आइतबार सेन्सेटिभ इन्डेक्स भने नकारात्मक बनेको छ । प्राविधिक समस्याका कारण मध्याह्न १२ बजेपछि करिब तीन घण्टा कारोबार बन्द गरेर पुनः खोलिएको बजार सकारात्मक भएर बन्द भएको हो ।

प्राविधिक समस्या समाधान भएपछि दिउँसो सवा ३ बजे बजार खोलिएको थियो । बैंक, विकास बैंक र म्युचुअल फन्डबाहेकका समूह बढेपछि नेप्से ४.६४ अंकले बढेर १४६२.६७ अंकमा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आइतबार ०.८ अंकले घट्यो । बैंकहरूको वर्चस्व रहेको ‘क’ वर्ग बैंक समूह नकारात्मक बनेसँगै सकारात्मक हुन सकेन ।

आइतबार १८६ कम्पनीको ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर १ अर्ब ६१ करोड ४५ लाख रुपैयाँमा किनबेच भयो । बढेको बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यस्तै सगरमाथा इन्स्योरेसन्स, उन्नति सहकार्य लघुवित्त, हिमालयन पावर पार्टनर, अरुण काबेली पावरलगायत कम्पनी पनि सर्वाधिक बढ्ने १० कम्पनीको सूचीमा छन् ।

आइतबार सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३४ करोड ३२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यसअघि ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) र ब्याक अफिस सिस्टमबीच म्याचिङमा समस्या आएपछि १२ बजेपछि बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले प्रविधिमा नयाँ किसिमको समस्या देखापरेको र त्यसलाई हल गर्न तीन घण्टा लागेको बताए ।

आइतबार कारोबार खुलेदेखि नै सिस्टममा समस्या आएको थियो । कतिपयले बाइ र सेल अर्डरमा राखेको सेयर संख्या दोब्बर र तेब्बर परेको थियो । लगातार समस्या देखिएपछि १२ बजेपछि सूचना निकालेर कारोबार रोकिएको हो ।

प्राविधिक रुपमा नेप्सेका प्रणालीहरू बलिया नहुँदा लगानीकर्ताले पटक‑पटक समस्या झेल्दै आएका छन् । नेप्सेले दीर्घकालीन समाधानका लागि पहल भइरहेको बताए पनि समस्या दोहोरिने क्रम रोकिएको छैन ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु