गृहपृष्ठ बिच भलिबल कोर्ट निर्माणमा खर्च भएको ५५ लाख ‘बालुवामा पानी’

बिच भलिबल कोर्ट निर्माणमा खर्च भएको ५५ लाख ‘बालुवामा पानी’

नेपालमा १३औँ साग सम्पन्न भएको सात महिना बितिसक्यो । नेपालका मुख्य मुख्य पर्यटकीय नगरी काठमाडौँ, पोखरालगायतका स्थानमा विभिन्न खेल खेलाइएको थियो । पोखरामा महिला फुटबल, आर्चरी, भारोत्तोलन, बिच भलिबललगायतका खेल सम्पन्न भए ।

बिच भेलिबल प्रतियोगिता पोखरा तालबाराही मन्दिर घाटमा निर्माण गरेर सञ्चालन गरियो । अहिले उक्त भलिबल कोर्ट अस्तव्यस्त छ । करिब ५५ लाख रुपैयाँ लागतमा निर्माण गरिएका चारवटा बिच भलिबल कोर्ट संरक्षणमा सागपछि कसैको नजर नपर्दा अस्तव्यस्त बनेका हुन् ।

अस्तव्यस्त बिच भलिबल कोर्टको बारेमा तत्कालीन राखेप सदस्य राजेश गुरुङ, कास्की भलिबल संघका अध्यक्ष भीम पराजुलीले एक हप्ताभित्रै व्यवस्थित गरी अघि बढ्ने बताएका थिए तर अहिलेसम्म एकपटक बिच भलिबल कोर्टसम्म पुगेनन् । आधिकारिक व्यक्तिबाट यस्तो लापरबाही हुनु आफैंमा लजास्पद छ ।

कोर्टमा न ढलको उचित निकास छ न ग्राउन्ड व्यवस्थापन न त तार जाली नै । झारहरु जिङरिङ उम्रिएका छन् । ढल निकास नहुँदा ग्राउन्डमा पानी जमेको छ । प्रदेश सरकार र केन्द्र सरकारको समन्वयमा भलिबल कोर्ट निर्माण भए पनि संरक्षणको दायित्व जिम्मेवारी बहन गर्न नसक्दा सबैलाई उक्त कोर्टले जिस्क्यााइरहेको छ । अहिले त झन् सरोकारवाला निकायलाई सजिलो नै भएको छ, उनीहरुसँग एउटै जवाफ छ, कोरोनाको महामारी छ हजुर के गर्ने ?

ग्राउन्ड संरक्षणका लागि पहल भइरहेको झुटो आश्वासन दिने राखेप सदस्य राजेश गुरुङको कार्यकाल सकिएको छ । उनको सट्टामा नयाँ राखेप सदस्यको रुपमा भर्खरै सम्पन्न श्रेष्ठ नियुक्त भएका छन् । उनले पनि क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिले संरक्षणको जिम्मा लिनुपर्ने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

यति धेरै लागतमा निर्माण भएको कोर्ट खेल सम्पन्न भइसकेपछि लथालिङ छाड्नु गलत भएको उनले स्वीकारेका छन् । उनले भने, ‘निर्माण गर्ने बेलामा अर्थतन्त्रको कुरा आउँदा जानकार हुने, चासो राख्ने, निर्माण गरिसकेपछि जेसुकै होस् भनेर छोड्ने कुरा भएन नि, सबैले जिम्मेवारी बहन गनुपर्ने हुन्छ, खेल सकियो यत्तिकै छाडे, सामान्य कुलो काटेर कोर्ट संरक्षणमा पनि यिनीहरुको ध्यान गएन ।’

निर्माण समिति र कास्की भलिबल संघले कोर्टका रेखदेखदेखि जिम्मेवार बहन गनुपर्ने उनले बताए । ‘संरक्षणलगायतका विषयमा क्षेत्रीय खेलकुद विकास समिति र पश्चिमाञ्चल खेलकुद विकास समितिसँग समन्वय गरी एउटा निचोडमा पुग्छु,’ उनले भने, ‘समग्र खेलकुद क्षेत्रको विकासका लागि बजेट कहिले आउँला कहिले देला भन्ने सोच गर्ने होइन, स्थानीय तह छ, पालिका, संघ, प्रदेश सबैले तयारी गरियो भने खेलकुदको नतिजा राम्रो आउँछ, अबको खेलकुद भनेको सबैभन्दा पहिला नै राष्ट्रिय खेलकुदमा केन्द्रित हुनुपर्छ ।’

१३औँ सागका लागि पोखरा भित्रिएका सामग्रीको खोजीनीति अब छिट्टै हुने प्रतिबद्धता उनले जनाए । ‘भौतिक पूर्वाधारलाई विशेष चासो दिनुपर्ने हुन्छ, कोरोनाको बहानमा चुप लाग्यौँ भने भएका संरचना पनि रहँदैनन्,’ उनले भने, ‘भलिबल संघको मातहातबाट उपभोक्ता समिति निर्माण गरेर उपभोक्ता समितिले निर्माण गरेका कुरामा सरोकारवाला जवाफदेही हुनपर्ने हो तर त्यो हुन सकेन ।’

अहिले बिच भलिबल कोर्टको अवस्था दयनीय छ । भलिबल कोर्ट नेपाल ट्रष्टको जग्गामा निर्माण भएको छ । कास्की भलिबल संघका अध्यक्ष भीम पराजुलीले बिच भलिबल कोर्टको संरक्षणको जिम्मा आधाकारिक रुपमा दिएमा कास्की भलिबल संघ तयार रहेको बताउँछन् । ‘आधिकारिक नभएपछि गाह्रो हुँदो रहेछ, आधिकारिक रुपमा संरक्षणको दायित्व दिएको खण्डमा हामी संरक्षण गर्न तयार छौं, एक हप्तामा नै कोर्टको मुहार फेर्छौं,’ उनले भने । राज्यको सम्पत्तिमा बालुवामा पानी हालेसरह भइरहेको उनले बताए ।

पोखरामा सम्पन्न १३औँ सागअन्तर्गतको बिच भलिबल प्रतियोगिता यही कोर्टमा भव्य रुपमा सफल भएको थियो । भएका संरचनाको संरक्षण हुन नसक्दा खेलसँगै अन्य पूर्वाधार निर्माणका क्षेत्र पनि पछि परेका छन् । पर्यटकीय क्षेत्रमा रहेको बिच भलिबल कोर्टले गण्डकी प्रदेशको राजधानी पोखराको पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको थियो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ संक्रमणका कारण खेल गतिविधिमा प्रभाव परिरहेका बेला पूर्वाधार संरक्षणमा पनि चासो नदिनु गलत भएको स्थानीय बताउँछन् ।

१३औं सागअन्तर्गतको बिच भलिबल खेल प्रतियोगितामा फेवातालको आडमा रहेको यो कोर्टबाट हिमालको मनमोहक दृश्यावलोकन गर्दै खेल्न पाउँदा विदेशी खेलाडी निकै रमाएका थिए ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु