गृहपृष्ठ सुदूरपश्चिमका नाकामा हुँदैन स्वास्थ्य परीक्षण, होम क्वारेन्टिनले बढायो कोरोना

सुदूरपश्चिमका नाकामा हुँदैन स्वास्थ्य परीक्षण, होम क्वारेन्टिनले बढायो कोरोना

विद्यालयमा बनाइएको क्वारेन्टिन। (फाइल तस्बिर)

सुदूरपश्चिममा कोरोनाभाइरस संक्रमण भयावह बन्न थालको छ । भारतबाट आउने नागरिकलाई होम क्वारेन्टिनका नाममा सिधै घरमा पठाइँदा स्थिति विकराल बन्दै गएको हो ।

होम क्वारेन्टिनमा बसेकाहरू खुल्लेआम हिँडडुल गर्न थालेपछि संक्रमण फैलिँदै गएको हो । प्रदेशको बढी जनसंख्या भएको जिल्ला कैलालीमा कोरोना संक्रमणले भयावह अवस्था सिर्जना गर्ने देखिएको हो । विगतमा सीमा नाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइन्थ्यो । त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर घर पठाइयो । तर अहिले भने परीक्षणविना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाउने गरिएको छ ।

अहिले सीमा नाकामा यस्ता लापरबाही प्रशस्तै भइरहेको छ । कैलालीको त्रिनगर नाकाबाट प्रवेश गर्नेहरू प्रदेशका विभिन्न जिल्लाभर छरिएका छन् । नाकामा सामान्य परीक्षण नगरेर घर पठाउँदा रोजगारी बन्द भएपछि भारतबाट नेपाल फर्केका उनीहरु समेत त्रसित छन् । भारतबाट त्रिनगर नाका आइपुगेका दुर्गा भण्डारीले आफू पनि सिधै घर जाने बताउँछन् । ‘ज्वरो नापेर होम क्वारेन्टिनमा जान निर्देशन दिइएको छ । त्यहीअनुसार हामी होम क्वारेन्टाइनमा बस्नेगरी घर जान लागेका छौं,’ उनको भनाइ छ ।

अन्य कतिपयले भने नाकामा कुनै पनि किसिमको स्वास्थ्य परीक्षण नगरिएको बताएका छन् । त्रिनगर नाकामा भेटिएका बझाङका पृथ्वी थापाले सामान्य ज्वरो जाँचसमते नभएको बताए । ‘रोजगारी खोसिएपछि भारतबाट नेपाल आयौं । तर यहाँ नाकामा सामान्य परीक्षण पनि भएको छैन,’ उनी भन्दैथिए, ‘यत्तिकै घर जान डर लागिरहेको छ । कतै हामीबाट परिवारमा कोरोना सर्ने त होइन भन्ने पीर लागेको छ ।’

आफूहरू क्वारेन्टीन बस्न तयार भए पनि परीक्षणविनै घर जानुपर्ने बाध्यता रहेको नाकामा भेटिएकाहरू बताउँछन् । ‘हामी सरकारी क्वारेन्टिनमा बस्न तयार छौ,’ कैलालीका पदम सापकोटाले भने, ‘तर अहिले कहीँ क्वारेन्टिन छैनन् । यस्तै घर जानुपर्ने भयो ।’ होम क्वारेन्टिनमा बस्न त भनिए पनि तोकिएको मापदण्ड पूरा गर्न नसकिने उनले बताए । ‘घरमा साना बालबालिकादेखि बुढा बुवाआमा हुनुहुन्छ । एउटै भान्सा, एउटै शौचालय प्रयोग गर्नुपर्छ,’ उनले समस्या सुनाए ।

विगतमा कोरोना व्यवस्थापनमा सबैको ध्यान केन्द्रित थियो । सबै स्थानीय तहहरुले क्वारेन्टिन र आइसोलेसन बनाएका थिए । त्यतिखेर भारतलगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई १४ देखि २१ दिनसम्म अनिवार्य क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपछि मात्रै घर पठाइन्थ्यो । तर अहिले त्यस्तो छैन । भारतबाट आउनेहरू सिधै घर गइरहेका छन् । अहिले घर-घरमा कोरोना संक्रमित हुन सक्ने जोखिम बढेको छ । लापरबाहीले कोरोना भयाभह बन्न सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी बताउँछन् । ६० प्रतिशत क्वारेन्टिन खाली गराइसकेका स्थानीय तहमध्ये केहीले फेरि क्वारेन्टिन बनाइरहेको धामीले बताए ।

सीमा क्षेत्रसँग प्रत्यक्ष जोडिएको धनगढी उपमहानगरपालिकाले पनि क्वारेन्टिनहरु खालि गराएको थियो । भारतबाट आएकाहरू धमाधम घर जाँदा संक्रमण फैलिएपछि उपमहानगरपालिकाले फेरि क्वारेन्टिन बनाउन सुरु गरेको छ । कैलालीमा भेटिएका संक्रमितमध्ये आधाभन्दा बढी धनगढीकै छन् । समुदायमा पनि संक्रमण् फैलिसकेको आशंकाले यसको रोकथामका लागि फेरि क्वारेन्टिन बनाउन सुरु गरिएको उपमहानगरले जनाएको छ । एक सातायता भारतबाट आउनेहरुलाइ क्वारेन्टिनमा राख्न थालेको क्वारेन्टाइन व्यवस्थापन संयोजक नारायण बरालले बताए ।

विद्यालय सञ्चालन गर्नुपर्ने भन्दै सुरुमा संघीय सरकारकै निर्देशनको पालना गर्दै स्थानीय तहले होम क्वारेन्टिनमा बसाउन थालेका थिए । कोरोनाको संक्रमण समुदायस्तरमै बढ्न थालेपछि केही स्थानीय तह क्वारेन्टिन बनाउन लागेका छन् । तर अधिकाशं स्थानीय तहले भने होम क्वारेन्टिनमै पठाइरहेका छन् ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु