गृहपृष्ठ सन्दीप आवद्ध जमैका सीपीएलको सेमिफाइनलमा
सन्दीप आवद्ध जमैका सीपीएलको सेमिफाइनलमा
नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेलअगावै सेमिफाइनल पुग्न सफल भएको हो ।
यसअघि सन्दीपको टोली जमैकाको बिहीबार राति सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससँगको खेल भने वर्षाका कारण रद्द भएको थियो । उक्त खेलमा दुवै टोली एकएक अंक बाँड्न बाध्य भए । तीन अंकमा सीमित सेन्ट किट्स प्रतियोगिताबाट बाहिरिएको छ । उसले हालसम्म नौ खेलमा एकमा जीत तथा आठमा पराजय भोगेको छ । जमैका हालसम्म आठ खेलमा तीनमा जीतका साथ सात अंकसहित चौथो स्थानमा छ ।
लिगमा शतप्रतिशत नतिजा निकाल्न सफल ट्रिनबागो नाइट राइडर्स १६ अंक बनाउँदै यसअघि नै सेमिफाइनल पुगिसकेको छ । उसले दुई खेल खेल्न अझै बाँकी छ । लिगमा सबै खेल खेलिसकेको गुयाना अमेजन वारियर्स हालसम्म १० खेलमा ६ मा जीतका साथ १२ अंक बनाएर अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।
यस्तै सेन्ट लुसिया जुक्स पनि सेमिफाइनलमा पुगिसकेको छ । उसले हालसम्म आठ खेलमा पाँचमा जित निकाल्दै १० अंक जोडेको छ । साविक विजेता बारबाडोस ट्रिडेन्ट्स भने नौ खेलमध्ये दुईमा मात्र विजयी भई चार अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रकाशित समय १६:०२ बजे

















