गृहपृष्ठ करारका कर्मचारीको म्याद थप्दै कर्णाली सरकार
करारका कर्मचारीको म्याद थप्दै कर्णाली सरकार
कर्णाली प्रदेशका विभिन्न जिल्ला तथा नाकाहरुमा करारमा काम गर्ने स्वास्थ्यका कर्मचारीको म्याद थपिने भएको छ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) को नियन्त्रण र रोकथामका लागि नियुक्त गरेका २३४ स्वास्थ्यकर्मी तथा साविकको घरेलु उद्योग कार्यालयका करारका कर्मचारीको म्याद थप्ने तयारी गरेको हो ।
भदौ १५ गते सोमबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । कर्णालीका विभिन्न जिल्लामा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिएका १७६ जना स्टाफ नर्स र अनमी तथा विभिन्न पाँचवटा नाकामा खटाइएका ३२ जना हेल्थ असिस्टेन्ट र २६ जना नर्स तथा अनमीहरुको करार अवधि थपिने भएको हो ।
नाकामा खटिएका स्वास्थ्यकर्मीको हकमा २०७७ असोज मसान्तसम्म म्याद थपिएको भए पनि कोरोना महामारी रहिरहेकाले २०७८ असार मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
जिल्लाहरुमा खटिएका १७६ जना कर्मचारीको भने माघ मसान्तसम्म करारको म्याद थपिएको हो । साविकको घरेलु उद्योगका करारका कर्मचारीहरुलाई पहिलेकै सेवा सुविधा लिने गरी पुस मसान्तसम्म खटाउने गरी मन्त्रिपरिषदले निर्णय गरेको छ ।
त्यस्तै बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन कार्यविधि २०७७ स्वीकृत गर्ने, कर्णाली प्रदेश विशेष कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७७ स्वीकृत गर्ने, प्राविधिक जनशक्ति सेवा करारमा छनौट गर्नेसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०७७ स्वीकृत गर्ने, कर्णाली प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ लाई मन्त्रिपरिषद्, प्रशासन तथा विधेयक समितिमा पठाई निर्णयअनुसार गर्ने, भूमि व्यवस्था कृषि तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन एकीकृत कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।
प्रकाशित समय २०:५८ बजे

















