गृहपृष्ठ कुहिरो

कुहिरो

यो..
कुहिरो . .
कमलको पत्रदलजस्तै कोमल हातहरू फैलाएर
क्लियोपेट्राको शरीर लिएर
किन
आएको होला ?
छोप्न यो सहरलाई
कुनै एउटी आमाले, मजेत्रोभित्र न्यानो पारेर
सप्पै स्नेहरू पोखाएझैं सन्तानलाई

कहिले
अग्लो भवनहरूको चेपबाट
स्नेहको स्पर्श गर्दै जान्छ
सयौं बुटहरू खाँदै
चोटैचोट बोकेर लडिरहेको सडकलाई
सुम्सुम्याउन पुग्छ ।

यो . .
सहर . .
गिटी र बालुवाको थुप्रोहरूमा
विश्वासलाई ताला झुण्डाएर
विभिन्न रंगका पहिरनहरूमा पुरिएर
रड र सिमेन्टको जेलभित्र थुनिएर
मरूभूमि भइसकेको छ . .

व्यर्थै,
दुधले नुहाएको त्यो शरीर
जुनको चोखो उज्यालोले पखालेको
त्यो कोमलता
यो खस्रो कंक्रिटको पर्खालहरूमा रगडिन्छ
अग्ला अग्ला टावरहरूसँग ठोकिन्छ
ठूला ठूला चक्कामुनि पेलिन्छ

यो . .
कुहिरो . .
किन आएको होला
संवेदनहीनताको
उपनिवेश भइसकेको यो सहरमा . . ।

प्रकाशित समय १३:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु