गृहपृष्ठ नयाँ साधारण : अवसर र चुनौती

नयाँ साधारण : अवसर र चुनौती

यो चर्चाको विषय आफैंमा स्पष्ट रुपले साधारण हो तर विगत ५‑६ महिनाको लकडाउनले यस विषयलाई साधारणबाट अपरिहार्य बनाएको छ । म आफैँमा अर्थशास्त्रको विज्ञ त होइन तर मेरो अर्थशास्त्रलाई बुझ्ने, अर्थशास्त्रलाई चिन्ने व्यक्तिगत रुचि र कोरोनालाई अर्थतन्त्रसँग जोडेर लेखिएका केही लेखबाट प्रेरित भएर केही शब्द लेख्ने जमर्को गरेको छु ।

अन्तर्राष्ट्रिय मजदुर संगठनले भर्खरै गरेको अध्ययनअनुसार १ अर्ब ५० करोड मानिसले कोरोनाको स्वास्थ्य जोखिमपछि पनि बेरोजगारी वा थोरै घण्टा काम वा न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था रहने देखाएको छ । त्यस्तै त्यो प्रक्षेपणमा वर्षको अन्त्यसम्ममा झन् खराब हुनसक्ने सम्भावना पनि उल्लेख छ ।

त्यसैगरी अहिले विश्व अर्थशास्त्र जगतमा नयाँ शब्द न्यु नर्मल ‘new normal’ को प्रयोग अन्तर्राष्ट्रिय जर्नलमा प्रचलित हुँदै गएको छ । जुन शब्द नेपाली अर्थशास्त्र जगतमा धेरै सुन्नमा आइसकेको छैन । यो शब्दले कोभिड १९ को असरपछिको संसार पूर्णरुपले कोभिड १९ पूर्वको संसारमा फर्कने सम्भावना न्यून हुने र कार्यशैली, अन्तर्राष्ट्रिय व्यापार र जीवनशैलीमा केही स्थायी परिवर्तन आउनेमा अर्थशास्त्रीहरु सहमत देखिन्छन् । कार्यसम्पादनको नयाँ भविष्य हामीले सोचेभन्दा छिटो आउने र धेरै चुनौती जस्तैः आय ध्रुवीकरण, कामदार जोखिम, नयाँ पेसामा जानुपर्ने बाध्यता आदि सँगसँगै आउने तर यी परिवर्तनको प्रक्रिया प्रविधिको प्रगतिको नतिजामात्र नभई स्वास्थ्य र सुरक्षासम्बन्धी नयाँ विचारले गर्दा पनि हुने उल्लेख गरिएको पाइएको छ । इतिहास हेर्दा पनि हरेक महामारीले मानवलाई विगतसँग सम्बन्ध तोडेर नयाँ विश्वको कल्पना गर्न वाध्य बनाएको कुरा देख्न र पढ्न पाइन्छ ।

कुनै पनि उत्पादक यो माहामारीको असरबाट अछू त छैन । यद्दपि, कसैको उत्पादनको माग अकासियो भने कसैको भासियो । आपूर्ति अवरोध, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता इत्यादि कारणले अहिलेको अवस्थामा व्यापार र व्यापारीहरु आवश्यकताले भन्दा पनि सहकार्यले नयाँ र रचनात्मक तवरबाट चलायमान हुनुपर्ने स्थिति उजागर भएको छ । यसको उदाहरण भ्याक्सिनको खोजी, मास्क तथा अन्य महत्वपूर्ण मेडिकल हार्डवेयरको उत्पादन जस्ता कार्यमा असाधारण उपलब्धि, आपसी सहयोगबाट सम्भव हुने कुरा देख्न सकिन्छ ।

अवश्य पनि यो सजिलो छैन तर यसतर्फको प्रथम खुड्किला ज्ञान स्थानान्तरण, सामूहिक रुपमा सम्पत्ति र सामग्रीको प्रयोग, अझै राम्रो नेतृत्व, प्रविधिमुखी अर्थतन्त्र जस्ता प्रारम्भमा सुन्दा हाउगुजी लाग्ने तर समय अन्तरालसँगै अभ्यस्त हुँदै जाने क्रियाकलापबाट सुत्रपात गर्नुपर्ने हुन्छ ।

अब विश्व अर्थतन्त्रलाई नेपाल र दक्षिण एसियाको केही अर्थिक पाटोसँग जोड्नु पनि आवश्यक छ । नेपालमा पनि कोभिड १९ को असर करिब सबै क्षेत्रमा देख्न सकिन्छ, केही क्षेत्रमा नकारात्मक असर लामो अवधि रहने विज्ञहरुको विचार छ । उदाहरणका लागि पर्यटन, मनोरन्जन, उड्डयन, होटल, विप्रेषण आदि । यो भूमण्डलीकरणको युगमा एक क्षेत्रमा देखिएका आर्थिक प्रदूषणहरु त्यही क्षेत्रमा सीमित होलान् भन्ने सकारात्मक कल्पना गर्नु पनि प्रति-फलदायी र अतार्किक हुन्छ ।

यो भूमण्डलीकरणको युगमा एक क्षेत्रमा देखिएका आर्थिक प्रदूषणहरु त्यही क्षेत्रमा सीमित होलान् भन्ने सकारात्मक कल्पना गर्नु पनि प्रति-फलदायी र अतार्किक हुन्छ ।

विश्व बैंकको प्रक्षेपणअनुसार नेपालको बैंकिङ क्षेत्रको महत्वपूर्ण तरलताको स्रोत विप्रेषण १४ प्रतिशतले घट्नेछ जबकि विप्रेषणको योगदान आर्थिक उत्पादनको २५ प्रतिशत हिस्सा बराबर छ । साथै पर्यटनबाट हुने नगद प्रवाहमा पनि भारी गिरावट आउने उल्लेख गरिएको छ, जसले कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशत हिस्सा ओगटेको छ ।

यसको थोपा‑थोपा गरेर झर्ने (Trickle down) नकारात्मक असर ठूलो हुने भन्नेमा दुई मत नहोला । साथै नेपालको अत्यन्त गरिब मुलुकको सूचीबाट आफूलाई हटाउने लामो प्रयास र आकांक्षालाई पनि कोभिड १९ ले ठेस पु‑याएको देखिन्छ । त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषको रिपोर्टलाई हेर्ने हो भने गत वर्षको अनुपातमा नेपालको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (७.१ प्रतिशतबाट घटेर २.५ प्रतिशत) ४.६ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ, जसलाई विश्व बैंकले संशोधित गरेर ०.५ प्रतिशतमा झारेको छ । यसको असर विस्तृत रुपले बुझ्न अकुन्स ल (rule of thumb) को अभिप्रायलाई खोतल्न सकिन्छ तर त्यो यस लेखको क्षेत्रभन्दा बाहिर पर्न जान्छ ।

नेपाली अर्थतन्त्रमा विप्रेषण र कृषिक्षेत्रको योगदानको अनुपात करिब‑करिब बराबर भएको तथ्य विभिनन रिपोर्टबाट उजागर हुन्छ। साथै, विश्व बैंक र एसियन डिभेलपमेन्ट बैंकको अध्ययनले हामीलाई आशावादी बनाउनुपर्छ भन्ने मलाई लाग्छ किनकि लामो अवधिको ट्रेन्ड हेर्दा विप्रेषणको अनुपात बढिरहेको र कृषिको घटिरहेको छ । अनुमान लगाउन सकिन्छ, अधिकांश युवा तातो घाममा जोखिमपूर्ण काम गर्न विदेश पलायन हुनुपर्ने वाध्यात्मक अवस्था बढ्नु र कृषि उत्पादन घट्नु एउटै सिक्कका दुई पाटा थिए । अब त्यो ट्रेन्डलाई उल्टाउने अवसर र चुनौती दुबै हाम्रासामु आएको छ । श्रमिक निर्यात गर्ने देशलाई कृषि उत्पादन निर्यात गर्ने बनाउन पहिलो चुनौती घडेरीलाई खेत बनाउने हुनेछ ।

यो सम्भावित यू (U) आकारको रिकभरीलाई भी (V) आकारमा परिवर्तन गर्न र यसको असरलाई न्यूनीकरण गर्न नागरिक स्तरबाट पनि महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । उदाहरणका लागि नयाँ कार्य कुशलताको विकास, एक-आपसमा सहयोग र सद्भावको विकास, आफूसँग भएको स्रोत र साधनको उच्चतम प्रयोग, ‘मवाद’बाट छुटकारा इत्यादि । प्रत्येक गिरावटको अर्को पक्ष उच्च बिन्दु हुन्छ, यो सत्य हो कि कोभिड १९ का पनि केही सकारात्मक पाटो छन् । जस्तैः वास्तविक सम्बन्ध बनाउन सहयोग, सरसफाइका लागि जीवनशैलीमा परिवर्तन, सस्तो घरजग्गा, डिजिटल किफायती शिक्षा आदि ।

यी सबै आर्थिक गिरावटको असर धेर वा थोर जे भए पनि हाम्रो लेखाइ, बोलाइ, देखाइ र फेसबुकमा मात्र सीमित अहिलेसम्मको नयाँ सोचलाई गराइमा ढाल्न सक्ने इच्छा शक्ति र कार्य कुशलताको विकास र पालनपोषण गर्नैपर्छ । सबै कुराहरु पुरानै तवरले चल्छ भन्ने सोचमा परिवर्तन गर्नुपर्ने अवस्थाको सिर्जना भएको बुझ्न जरुरी छ । यस्ता प्रतिकूल अवस्थाबाट मानव जाति कैयौँ पटक लडेर जित हासिल गरिसकेको र विभिन्न परिस्थितिमा मिल्न सक्ने सामाजिक प्राणी हौँ हामी । तथापि, वर्तमान र आउने दिनहरुमा केवल आफूलाई आर्थिक मानवको चित्रण गरेर सायद समाधान खोज्न कठिन हुनेछ, सामाजिक मानवको परिकल्पना गर्नु अयुक्ति नहोला ।

(लेखक न्यौपानेले नर्वेबाट अन्तर्राष्ट्रिय व्यापार र बजार शास्त्रमा स्नातकोत्तर गरेका छन् ।)

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु