गृहपृष्ठ होटल व्यवसायीको ऋण तिर्ने समय दुई वर्ष थप्न माग

होटल व्यवसायीको ऋण तिर्ने समय दुई वर्ष थप्न माग

लगानी डुब्ने चिन्तामा होटल व्यवसायी

कञ्चनपुरका होटल व्यवसायीलाई लगानी डुब्ने चिन्ता बढ्न थालेको छ । कोभिड–१९ महामारीपश्चात सिर्जित समस्याका कारण पर्यटनको मूल आधार होटल व्यवसायमा गम्भीर प्रभाव परेको उनीहरूले बताएका छन् ।

महिनौँसम्म होटल बन्द गर्नुपर्दा होटल व्यवसायी पेसा पलायनको स्थितिमा पुगेका छन् । सयौँ कामदारको रोजगारी गुमेको छ । कोरोनाले सिर्जित समस्याका कारण होटल व्यवसाय घराशयी हुन थालेको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले बताए ।

‘पाँच महिनादेखि होटल व्यवसाय बन्द छ,’ उनले भने, ‘धेरै व्यवसायीले होटल सञ्चालनका लागि बैंकबाट कर्जा लिएका छन् । होटल नै सञ्चालन नभएपछि कर्जा तिर्न सकिने अवस्था छैन ।’ उनका अनुसार होटल व्यवसायीलाई बैंकको कर्जासँगै घर भाडा तिर्नसमेत समस्या भइसकेको छ ।

साना खाजा नास्ताका होटल व्यवसायीले होटल खोल्ने गरे पनि थोरै मात्र ग्राहक होटलमा आउने गरेका छन् । निश्चित समयभित्रै होटल बन्द गर्नुपर्ने भएकाले कारोबार न्यून छ । जसबाट घरभाडासमेत तिर्ने रकम जोहो गर्न सकिएको छैन । ठूला र स्तरीय होटल भने पाँच महिनादेखि बन्द छन् । ‘जिल्लामा रहेका एक हजार ३०० होटलको दैनिक कारोबार एक करोडमाथि हुने गरेको थियो,’ अध्यक्ष भण्डारीले भने, ‘जसबाट २० देखि ५० प्रतिशतसम्म मार्जिन आउने गरेको थियो । देशको अर्थतन्त्रको मूल आधारका रुपमा रहेको होटल व्यवसाय बन्द भएपछि निकै घाटा लागको छ ।’

बन्दाबन्दी खुलेपछि पनि अन्य व्यवसाय जस्तै गरी होटल व्यवसायलाई सञ्चालन गर्न सकिने अवस्था नभएको होटल व्यवसायीको भनाइ छ । संक्रमण अवधिभर नै व्यवसायमा ठूलो असर पर्ने भएकाले बिजुली, पानी, टेलिफोन, इन्टरनेटको महसुलमा छुटसँगै घरभाडा र बैंकको कर्जाको ब्याज मिनाहा गरिनुपर्ने होटल व्यवसायी धनञ्जय जोशीले बताए ।

‘ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी बन्दाबन्दी अवधिभरको ब्याज मिनाहासँगै कृषि उद्योगसरह सहुलियत ब्याजदर कायम गरिनुपर्छ,’ उनले भने, ‘शून्य ब्याजदरमा सहुलियत कर्जाको व्यवस्था गरिनुपर्छ ।’ विदेशबाट फर्केर आउने नेपालीलाई क्वारेन्टिनमा उनीहरुको इच्छाअनुसार स्थानीय स्तरका होटलमा बस्न पाउने व्यवस्थासँगै सरकारले जारी गरेको मापदण्डअनुसार सावधानी अपनाएर खोल्न पाउने व्यवस्था गरिनुपर्ने उनको माग छ ।

‘यातायातका साधन सञ्चालन हुँदा खाना र नास्ता खानकै लागि होटल यात्रुले भरिभराउ हुन्थ्यो,’ पूर्वपश्चिम राजमार्गको झलारीस्थित खड्का होटलका सञ्चालक दलबहादुर खड्काले भने, ‘कोरोनाभाइरस संक्रमण बढेसँगै यातायातका साधन बन्द हुँदा होटलको व्यवसायसमेत खस्किँदो अवस्थामा पुगेको छ ।’

जोखिम मोल्दै केही समयका लागि होटल खोले पनि थोरैमात्र ग्राहक आउने गरेका छन् । होटल व्यवसायी संघ कञ्चनपुरका अनुसार जिल्लामा रहेका एक हजार ३०० होटल व्यवसायमा निजी क्षेत्रको पाँच अर्ब रुपैयाँ लगानी छ । जसमा एक हजार २०० कामदारका ६० हजार परिवार आश्रित छन् ।

स्तरीय होटलको संख्या भने १०० को हाराहारीमा छ । तीनवटा स्टार होटलसमेत जिल्लामा छन् । सुदूरपश्चिम प्रदेशमा भने होटल व्यवसायमा २० अर्ब बढीको लगानी छ, जसमा करिब ४० देखि ४५ हजारले रोजगारी पाएका छन् । (रासस)

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु