गृहपृष्ठ न्यायालयबाट नै नेपाली भाषामाथिको अन्याय
न्यायालयबाट नै नेपाली भाषामाथिको अन्याय
भाषा मानव जीवनका सम्पूर्ण क्रियाकलाप, चिन्तन-मनन तथा अभिव्यक्तिहरूको सशक्त माध्यम हो । कुनै पनि राष्ट्रलाई चिनाउन भाषाको महत्वपूर्ण भूमिका हुन्छ । यसले राष्ट्र, राष्ट्रियता एवं राष्ट्रको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक अवस्था तथा समग्र मूल्य र मान्यतालाई चिनाउने काम गर्दछ । नेपाली भाषा पनि नेपाली जातिको मूल पहिचान हो । यसले नेपाल र नेपालीको राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन अहम् भूमिका निर्वाह गरेको छ ।
नेपाली भाषा लामो परम्परा, प्रचलन र प्रयोगबाट स्थापित र विकसित भाषा हो । नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हो । नेपालको संविधानमा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भनी स्पष्टसँग परिभाषित गरिएको छ । त्यसैले नेपाली भाषा नेपालको संविधानप्रदत्त भाषा हो। नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त देशमा नेपाली भाषा साझा सम्पर्कको भाषा हुनुका साथै शैक्षिक दृष्टिकोणले पठनपाठनको माध्याम भाषा पनि बनेको छ । नेपाली भाषा व्याकरण, शब्दकोश, पत्रपत्रिका, सञ्चारमाध्यम र विभिन्न साहित्यिक सिर्जनाका हिसाबले पनि उत्तिकै समृद्ध रहेको छ । नेपाली भाषाका भाषिक प्रयोक्ताहरू आज नेपाललगायत संसारका विभिन्न देशहरूमा छरिएर रहेका छन् । यसबाट के स्पष्ट हुन्छ भने आज नेपाली भाषा नेपालमा मात्र सीमित नरही यसले अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो भाषिक स्वरूप ग्रहण गरिसकेको छ ।
विगत केही वर्षदेखि नेपाली भाषामाथि नेपालभित्र र बाहिर पनि विभिन्न प्रकारका षड्यन्त्रमूलक प्रहारहरू भइरहेका छन् । भाषा र संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने विभिन्न सरकारी र अन्य निकायबाटै नेपाली भाषामाथि षड्यन्त्रपूर्वक प्रहार हुनु दुःखद र खेदजनक कार्य नै हो । यसको ज्वलन्त उदाहरणका रूपमा भर्खरै नेपालका सवारीसाधनहरूमा नेपाली भाषामा रहेका नम्बर प्लेटलाई हटाएर अंग्रेजी भाषामा मात्र इम्बोस्ड नम्बर राख्ने भन्ने सर्वोच्च अदालतको असंवैधानिक फैसलालाई लिन सकिन्छ । सर्वोच्च अदालतको यो फैसला अमर्यादित, असंवैधानिक र आपत्तिजनक रहेको छ ।
नेपालको राष्ट्रियता र अस्मितामाथि नै आँच आउने गरी गरिएको सर्वोच्च अदालतको फैसला हामी नेपाली जनतालाई स्वीकार्य छैन । नेपाली जनताले यस फैसलालाई संविधानको मर्म र नेपाली जनताको हितविरुद्धको निर्णयका रूपमा लिएका छन् । जुन वास्तविक र यथार्थ पनि हो । सवारीसाधनहरूमा नेपाली भाषाका सट्टा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर राख्ने सम्मानित अदालतबाट जारी भएको असंवैधानिक फैसलालाई बदर गरी तुरुन्तै नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला गरियोस् । यस्तो फैसला भयो भने मात्रै सम्मानित अदालतप्रति जनताको विश्वास कायमै रहिरहने छ । नेपाल र नेपाली जनतालाई सधैँ गर्वको अनुभूति भइरहने छ ।
हामीमा अहिले अंग्रेजी भाषाको भूत चढ्न थालेको छ । अंग्रेजी भाषाप्रतिको मोहका कारण हामीले हाम्रो भाषा र संस्कृतिलाई बिर्सिएर विदेशी भाषाकै सिको गर्दै गइरहेका छौँ । हामी हाम्रा छोराछोरीले नेपाली बोल्न र लेख्न जानेको होस् वा नजानेको होस् त्यसको मतलब राख्दैनौँ । तर, फरर एक/दुई वाक्य अंग्रेजीमा बोल्न र लेख्न सके खुबै जानेको ठहराउछौँ । त्यसैमा हामी गर्वको महसुस गर्छौं ।
कसैलाई जन्मोत्सवको शुभकामना दिनुपर्दा हामी ‘ह्याप्पी बर्थ डे’को प्रयोग गर्छौं तर, जन्मदिनको शुभकामना भनेर लेख्दैनौँ र भन्दैनौँ । जन्मोत्सवमा दियो (बत्ती) बाल्ने हाम्रो संस्कारलाई छोडेर बत्ती बालेर तुरुन्तै निभाउने अर्काको संस्कारको अनुकरण गर्न हामी कसरी पुग्यौँ ? कोही आफन्तको मृत्युमा समवेदना प्रकट गर्दा हामी ‘हार्दिक श्रद्धाञ्जली’को सट्टा ‘रिप’को प्रयोग गर्न किन हतारिन्छौँ ? यसरी नै आफ्नो भाषा र संस्कृतिमाथि जानाजानी वा नजानिँदो तरिकाले प्रहार गरेर विदेशी भाषा र संस्कृतिको प्रयोग गर्दै गयौँ भने के हाम्रो पहिचान रहिरहला त ? अब हामीले यतातिर पनि ध्यान दिनु अति आवश्यक छ ।
कुनै पनि शक्तिशाली देशहरूले कमजोर राष्ट्रलाई अधीनमा लिएर आफ्नो आधिपत्य जमाउन सबैभन्दा पहिला उक्त राष्ट्रको भाषा र संस्कृतिमाथि आक्रमण गर्ने गर्दछन् । यसरी भाषा र संस्कृतिमाथि आक्रमण गरिसकेपछि बिस्तारै सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक सिमानामा आफ्नो प्रभुत्व कायम राख्छन् । त्यसपछि विस्तारवादी भाषिक नीति अँगाल्दै कमजोर मुलुकको भाषिक अस्तित्व र देशकै अस्तित्वलाई समाप्त पार्दै जान्छन् ।
नेपाली भाषाको अस्तित्वमाथि लात मार्दै यतिबेला हामीले पनि अंग्रेजी भाषाको प्रभावलाई बलियो बनाउने आधार तयार पारिदिने हो भने विस्तारै नेपाली भाषामाथि अंग्रेजी भाषाले पनि आफ्नो शासन जमाउने निश्चित छ । अंग्रेजी भाषाको प्रभाव बढ्दै गएपछि नेपाली भाषाको अस्तित्वलाई यसले निमिट्यान्न पारिदिन्छ । त्योसँगै हामी नेपालीका मौलिक पहिचानहरू पनि हराउँदै जानेछन् । अन्ततः हामी, हाम्रो भाषा, संस्कृति र देशलाई नजानिँदो तरिकाले पराईलाई सुम्पिसकेका हुनेछौँ । विस्तारवादीले हाम्रो टाउकोमाथि टेकिसकेका हुनेछन् । त्यतिबेला हामीमा पश्चाताप गर्नुबाहेक अरू विकल्प हुने छैन ।
नेपाली भाषा हाम्री आमा हुन् । आमाको रक्षा गर्नु प्रत्येक छोराछोरीको कर्तव्य हो । त्यसैले हामी समयमै सचेत भएर न्यायालयबाटै भएको नेपाली भाषामाथिको यो असह्य प्रहारलाई तत्काल सच्याउनका लागि आवश्यक पहल गर्नु जरुरी छ । आफ्नो पहिचानको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबै नेपाली नागरिकको कर्तव्य र दायित्व हो । यो महान दायित्व पूरा गर्ने जिम्मेवारी समयले यतिबेला हामीलाई सुम्पिदिएको छ । अब हामी सबै नेपाली नागरिकहरू मिलेर यो अभिभारा पूरा गर्नै पर्दछ । नेपाली भाषाको संरक्षण र सम्वर्द्धनमा एकजुट भएर लाग्नै पर्दछ ।
प्रकाशित समय १४:४४ बजे

















