गृहपृष्ठ नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो

कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवर्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो ।

मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको छ । उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथ स्थित सवस्टेशनमा जडान गरिएको आयोजनाका बोर्ड अफ डाइरेक्डर शिवकृष्ण श्रेष्ठले जानकारी दिए ।

आयोजना चैत पहिलो साता नै सम्पन्न भएको थियो । ‘आयोजना सम्पन्न भएर तीन दिनअघि राष्ट्रिय प्रसारणमा जडान गरेका छौँ, अबको १५ दिन परीक्षण काल रहनेछ,’ उनले भने । चिनियाँ थ्री गर्जेज कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारणलाइनमार्फत आयोजनाबाट उत्पादित विद्युत लेखनाथ पठाउनुपर्ने भएकाले चिनियाँ प्राविधिक आउन ढिलाइ भएको बताइएको छ ।

निर्देशक श्रेष्ठले आयोजना जडानमा पाँच महिना ढिलाइ हुँदा कम्पनीलाई १५ करोड रुपैयाँहाराहारी घाटा भएको बताए । ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको एक अर्ब ४७ करोड र लगानीकर्ता, सेयर निष्कासन तथा स्थानीयको ९० करोड गरी दुई अर्ब २७ करोड रुपैयाँमा आयोजना निर्माण गरिएको लगानीकर्ता रुद्र कुइँकेलले जानकारी दिए ।

आयोजनामा ६९९ जनाले ६७ करोड ५० लाख लगानी गरेका छन् । त्यसैगरी सर्वसाधारण सेयर १३ करोड ५० लाख र आयोजना प्रभावित मादी गाउँपालिकाका जनताका लागि नौ करोडको सेयर निष्कासन गरिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि २०६७ सालमै लाइसेन्स प्राप्त गरे पनि २०६९ सालमा मादीको सिल्दजुरेमा गएको पहिरोका कारण मादी नदी थुनिँदा पुनः सर्वेक्षण गर्नुपरेकाले काम सुरु गर्न ढिलाइ भएको थियो । आयोजनाभन्दा माथि ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण भइरहेको छ भने तल २५ मेगावाट क्षमताको अपर मादी २०७३ मंसिरमा सम्पन्न भएको थियो । (रासस)

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु