गृहपृष्ठ अख्तियारद्वारा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियारद्वारा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पदीय दुरुपयोग गरी गैरकानुनी तवरले सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुप्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको अकुत सम्पत्ति कमाएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोजनाका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुप्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदासम्म गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगका अनुसार गुप्ताको वैध आय एक करोड ११ लाख ६९ हजार ९६२ मात्रै हो भने १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ ।
वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेको पाइएको छ । आयोगले गुप्ताका आफन्तहरु अञ्जुकुमारी महतो, उदितनारायाणप्रसाद रौनियार, चन्द्रेश्वर महतो, धिरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोलेर १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको रकम लुकाइछिपाई राखेको पाइएको छ ।
आयोगले उनीहरुको सम्पत्ति जफत गरी हदैसम्मको कारबाहीको माग गरेको छ । यस्तै आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको अभियोगमा बिहीबार पक्राउ गरेको छ । आयोगले वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट पक्राउ गरिएको र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १९:५४ बजे

















