गृहपृष्ठ जगदम्बा स्टिल्स र मंगला सिमेन्टलाई कारबाही

जगदम्बा स्टिल्स र मंगला सिमेन्टलाई कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टिल्स प्रालि बारा र मंगला सिमेन्ट उद्योग प्रालि धादिङलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए । विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानुनी कारबाही गरेको जनाएको छ ।

जगदम्बा स्टिल्सको संकलित नमुनामा कार्बनको मान ०.३५ प्रतिशत हुनुपर्नेमा ०.३० प्रतिशत र सल्फरको मान ०.६० प्रतिशत हुनुपर्नेमा ०.५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टिल्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको र ती डण्डी बजारबाट फिर्ता ल्याइसकेको जनाएको छ ।

यस्तै मंगला सिमेन्टको संकलित नमुनाको १४ एमपीए र १९ एमपीए हुनुपर्नेमा त्योभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टिल्सको बिक्री–वितरणमा रोक लगाएको छ भने मंगला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेस गर्ने समय तोकेको छ ।

प्रकाशित समय २१:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु