गृहपृष्ठ कोरोनासँग लड्ने कर्णालीका अस्पतालमा छैन पर्याप्त जनशक्ति
कोरोनासँग लड्ने कर्णालीका अस्पतालमा छैन पर्याप्त जनशक्ति
विशेषज्ञ चिकित्सकबिहिन सल्यानमा स्टाफ नर्स, हेल्थ एसिस्टेन्टको भरमा ३०६ जना कोरोनाका बिरामी
स्वास्थ्य सेवा कार्यालय कालिकोटमा १३ जनामात्रै जनशक्ति छ । ४७ जनाको दरबन्दी भएको अस्पतालमा १७ जना कार्यरत भए पनि दुई जनाको पोष्टिङ नभएको र दुईजना अध्ययन बिदामा गएपछि १३ जनाले मात्रै स्वास्थ्यकर्मीहरुले काम चलाउनुपरेको हो ।
निरन्तरको स्वास्थ्य सेवा र कोरोना भाइरस (कोभिड–१९) का लागि जनशक्ति अभावमा अस्पताललाई हम्मे हम्मे परेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार जिल्लाभर एक सयभन्दा बढी कोरोना भाइरसका बिरामी फेला परिसकेको र हाल २० जना सक्रिय संक्रमित जिल्लाभर रहेका छन् । तर, जनशक्तिको अभाव उस्तै भएको उनी बताउँछन् ।
‘कालिकोटमा सबैभन्दा बढी जनशक्तिकै अभाव छ,’ उनले भने, ‘कोरोना विशेष अस्पतालका लागि ५८ जना जनशक्ति आवश्यक पर्ने भएकोले सामाजिक विकास मन्त्रलायलाई मागी पठाएका छौं ।’ उनले स्थानीय पालिकामा समेत जनशक्तिका लागि माग गरेको बताए । कोभिडका लागि करारमा नियुक्त भएका नर्सहरुका कारण सेवामा केही राहत भएको उनले बताए ।
‘विशेषज्ञ डाक्टरको समेत अभाव छ,’ उनले थपे, ‘विशेषज्ञ डाक्टर नै नहुँदा कोरोना प्रतिकार्य तथा निरन्तर स्वास्थ्य सेवा दिन असहज भएको छ ।’ कालिकोटमा पचास बेडको कोरोना विशेष अस्पताल उद्घाटनका लागि तयारी भएको र सोको लागि २ करोड ८२ लाख ८२ हजार रकमसमेत आवश्यक पर्ने उनले जानकारी दिए ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत एक जना पनि विशेषज्ञ डाक्टर छैनन् । ६५ जनाको दरबन्दी रहेको अस्पतालमा १९ जना मात्रै स्थायी र अन्य करारका कर्मचारी छन् । कोभिड नर्सलगायतका जनशक्तिसमेत गरी करिब ९० जना जनशक्ति रहे पनि विशेषज्ञ डाक्टरहरु सहित अझै २० जना जनशक्ति अभाव रहेको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालसम्म सल्यान जिल्लामा ३०६ जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिसकेको र हाल २० जनाभन्दा बढी सक्रिय बिरामी रहेका छन् ।
‘हामीलाई जनशक्ति र भौतिक संरचनाको अभाव छ,’ उनले भने, ‘अस्पतालको भवन नभएर हामीहरुले सल्यान क्याम्पसमा आइसोलेशन निर्माण गरेका छौं ।’ उनले एक सय बेड क्षमताको आइसोलेसन भएको र हालसम्म कुनै पनि लक्षण नभएको बिरामी देखा परेकोले जनशक्ति अभावमा पनि काम गर्न सहज भएको बताए । औषधिसमेत अभाव भएको र टेन्डरको प्रक्रियामा गएको प्रमुख श्रेष्ठले बताए ।
स्थानीय तहहरुले क्वारेन्टिनको व्यवस्था गरेको र सक्रिय बिरामी कम भएकोले पनि काम गर्न सहज भएको उनले बताए । अभाव जनशक्तिका लागि सामाजिक विकास मन्त्रालयमा लेखी पठाएको श्रेष्ठले जानकारी दिए । अस्पतालका कोरोना फोकल पर्सन रिखाराम पुनले लक्षण सहितका बिरामी खासै नभएकोेले पनि त्रास कम भएको बताए ।
दुल्लु अस्पताल दैलेखमा २४ जनाको दरबन्दी भए पनि ३८ जना कार्यरत छन् । तर, कार्यरत जनशक्ति भने पुग जनशक्ति होइन । दरबन्दी नै कम भएको अस्पतालले निरन्तरको स्वास्थ्य सेवा र कोरोना भाइरससँग लड्दै आएको छ । विकास समिति तथा करारका कर्मचारीहरुबाट अस्पतालले सेवा दिँदै आएका प्रमुख डा. पुजा बि.सीले जानकारी दिइन् ।
‘मेडिकल अफिसरको अभाव छ,’ उनले भनिन्, ‘हाल १५ बेडको सेवा दिएको भए पनि पचास बेडको अस्पताल निर्माणको क्रममा रहेको छ ।’ उनका अनुसार हालसम्म दुल्लु नगरपालिकामा मात्रै १५६ जना संक्रमित पुगेको र सक्रिय संक्रमित भने १३ रहेका छन् । हालसम्म जटिल अवस्थाका बिरामीहरु नआएको र अक्सिजनभन्दा माथिको अवस्थालाई मात्रै बाहिर रिफर गर्ने गरेको उनले बताइन् । जनशक्ति अभावमा र कोरोनाका त्रासका बीच पनि सेवालाई निरन्तर गरेको बि.सीले बताइन् ।
यता सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले जनशक्ति र भौतिक संरचनाका लागि मन्त्रालयले ५ करोड बजेटको व्यवस्थापन गरेको बताए । ‘कर्मचारीसमेत पठाउने तयारी भएको छ,’ उनले भने, ‘अब खाली ठाउँका लागि विज्ञापन खुल्छ ।’ कर्णाली प्रदेशका विकट जिल्लाहरुमा जनशक्ति अभावमा समेत अस्पतालहरुले निरन्तरको स्वास्थ्य सेवा र कोरोना प्रतिकार्यसँग लडिरहेका छन् । कर्णालीका अधिकांश अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरु भने छैनन् ।
प्रकाशित समय ०९:५५ बजे

















