गृहपृष्ठ पहिरोमा परी बाह्रबिसे नगरपालिकामा मात्रै १३ जनाको मृत्यु, ३७ बेपत्ता
पहिरोमा परी बाह्रबिसे नगरपालिकामा मात्रै १३ जनाको मृत्यु, ३७ बेपत्ता
घुम्थाङ पहिरो।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा मात्रै मनसुन सुरू भएयता १३ जनाको ज्यान गएको छ भने ३७ जना बेपत्ता भएका छन् । गए रातिमात्रै नगरपालिकाको ७ नम्बर वडा घुम्थाङमा पहिरो ११ जनाको शव भेटिएको भने अझै २१ जना बेपत्ता छन् ।
नागपुजेकी ६२ वर्षीया भक्तिमाया श्रेष्ठ र ९८ वर्षीया ट्याक्सी शेर्पा, विक गाउँका २३ वर्षीया जुनुमाया विक, २४ वर्षीय शुकलाल विक, ८ वर्षीय बालक सन्देश विक र ४० वर्षीया सर्किनी नेवारको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । डीएसपी सापकोटाका अनुसार ६५ वर्षीय धनलाल नेवार, ६० वर्षीया हिरामाया नेवार र ४२ वर्षीया ज्ञानुमाया प्रधानको पनि शव फेला परेको छ ।
नगर प्रमुख निमफुन्जो शेर्पाका अनुसार लगातारको झरीका कारण गए राति भारी वर्षासँगै गएको पहिरोले घुम्थाङको नागपुजे, भीरखर्क र नेवार टोलमा घरहरु पुरिएका छन् । २४ वटा घर पूर्णरूपमा क्षति भएका छन् । बेपत्ताहरूको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाले खोजी गरिरहेका छन् ।
पहिरोमा परी घाइते भएका केहीलाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे ल्याइएको उनले बताए । ‘पहिरोपीडितलाई नजिकैको खुला ठाउँमा सारिएको छ । ४६ वटा टेन्टसहित राष्ट्रिय नेपाली युवा संघको टोलीले पीडितलाई खाने–बस्ने व्यवस्था गरेको छ,’ उनले भने । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले पनि घटनास्थलको अनुगमन गरेका छन् । उनले पनि राहतका लागि अश्वासन दिएका छन् ।
मनसुनयताको विनास
असार २५ गते पनि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बुमा पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भयो । पहिरोमा बेपत्ता भएका दुई जनाको शव फेला पर्यो भने १८ जनाको अहिलेसम्म पनि कुनै पत्तो छैन । नगरपालिका प्रमुख शेर्पाका अनुसार एक्कासि गएको पहिरोले २१ घरमा पूर्ण क्षति पुगेको थियो भने पक्की पुलसहित चौपायामा ठूलो संख्यामा क्षति भएको छ ।
पहिरोमा ज्यान गुमाउने दुई जना एकै परिवारका बुबाछोरी थिए । २५ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव फेला परेको थियो । बाँकी अहिलेसम्म भेटिएका छैनन् ।
असार २५ गते पहिरोमा बेपत्ता हुनेहरुमा बाह्रबिसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ छन् । यस्तै, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ र शलिना तामाङ पनि पहिरोमा हराइरहेका छन् । भोटेकोसी गाउँपालिका बुर्कुटेका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत पहिरोमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:४७ बजे

















