गृहपृष्ठ नेप्सेलाई तीन महिनामा धितोपत्र बोर्डको ६ वटा स्पष्टीकरण, होला त कारबाही ?

नेप्सेलाई तीन महिनामा धितोपत्र बोर्डको ६ वटा स्पष्टीकरण, होला त कारबाही ?

पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई तीन महिनामा ६ पटक स्पष्टीकरण सोधेको छ । नेप्सेको अनलाइन कारोबार सिस्टम (नट्स)मा देखिएको समस्याका सम्बन्धमा चासो राख्दै बोर्डले लिखित स्पष्टीकरण सोधेको हो ।

नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा पटक-पटक समस्या देखिएपछि जेठ २८ गते बोर्डले पहिलो पटक स्पष्टीकरण सोधेको थियो । त्यसयता नेप्सेको टीएमएसमा झन् धेरै समस्या देखिन थालेको छ । बोर्डले पनि हरेक समस्यामा देखिएका कमी-कमजोरीमाथि चासो राख्दै नेप्सेलाई स्पष्टीकरण सोध्ने गरेको छ ।

बोर्डले जेठ २८ गतेदेखि भदौ १४ सम्ममा पाँचपटक स्पष्टीकरण सोधेको थियो । तर, हरेक स्पष्टीकरणको जवाफ अल्मल्याउने किसिमको रहेको धितोपत्र बोर्डले जनाएको छ । गत साताको कारोबार हुने अन्तिम दिन बिहीबार (भदौ २५) पनि टिएमएसमा समस्या आएपछि करिब तीन घण्टा कारोबार हुन सकेन ।

आइतबार पनि समस्या देखिएपछि बोर्डले अर्को स्पष्टीकरण सोधेको प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘पटक पटक एउटै समस्या दोहोरिएपछि आज फेरि स्पष्टीकरण सोधेका छौँ,’ उनले भने । यसपटकको स्पष्टीकरणमा कारोबार समयमा किन पटक-पटक समस्या आइरहेको छ ? कसका कारण समस्या आएको हो ? अर्थात् समस्या निम्तिनुमा खास जिम्मेवार को हो ? लगायतका विषयमा किटान गरी जवाफ पेस गर्न बोर्डले नेप्सेलाई चिठी लेखेको छ ।

लगातार समस्या आएपछि बोर्डले यसअघि नै नेप्सेलाई प्रविधिको विकल्प खोज्नुपर्ने भए त्यसमा पनि धारणा बनाउन भनिसकेको छ ।

पहिल्यैदेखि समस्या

नेप्सेको कारोबार प्रणालीमा देखिएको समस्या नयाँ भने होइन । नेप्सेले पूर्ण अनलाइन कारोबार प्रणालीको हल्ला गरेको दुई वर्ष बितिसक्दा पनि अझै पूर्ण अनलाइन कारोबार हुन सकेको छैन ।

यस विषयमा बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले पनि पटक-पटक नेप्सेलाई लिखित र मौखिक स्पष्टीकरण नसोधेका होइनन् । तर, नेप्से नेतृत्व हरेक समस्यालाई ‘नयाँ समस्या’ भन्दै पन्छिने गरेको छ ।

भदौ १४ गते न्युज कारोबारसँगको कुराकानीमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले टिएमएममा नयाँ खालको समस्या आएको बताएका थिए । त्यसयता पनि उनले ‘नयाँ नयाँ समस्या’ देखिएको बताउने गरेका छन् । तर, बोर्डका प्रवक्ता गिरीले भने १४ गते यताको समस्या एउटै भएको बताए । उनले अनलाइन ट्रेडिङमा देखिएको समस्याले बोर्डलाई समेत अफ्ठ्यारोमा पारेको बताए । ‘लगानीकर्ताले बोर्डलाई प्रश्न गर्न थालिसकेका छन्,’ उनले भने, ‘अब यसमा नेप्सेले थप गम्भीरता देखाउनुको विकल्प छैन ।’

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले पनि अनलाइन ट्रेडिङमा देखिएको नियमितको समस्यालाई गम्भीरतापूर्वक लिएको बताए । ‘तारन्तार एकै प्रकारका समस्या देखिएका छन्, पटक-पटक स्पष्टीकरण सोधिएका छन् तर समाधान किन भइरहेको छैन ?’ उनले भने, ‘हामीसँग छिट्टै समस्याको दीर्घकालीन समाधान खोज्नुको विकल्प छैन ।’

ब्रोकर कम्पनीहरू पनि नेप्सेको सिस्टममा लगातार समस्या आएपछि हैरान भएका छन् । स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट सिस्टममा हरेक कार्यदिन जसोमा समस्या देखिँदा दिग्दार भइसकेको बताउँछन् । ‘लगानीकर्ता सीधा ठोक्किने हामीसँग हो, उनीहरूको प्रश्नको उत्तर दिन असमर्थ भइसकेका छौँ,’ उनले भने, ‘टिएमएस सिस्टम ल्याउने अन्तिम तयारीमा छौँ, चाँडै ल्याउँछौँ, त्यसपछि केही होला ।’ नेप्सेले ब्रोकरबाट समस्या आयो भन्दै पन्छिनु सरासर गलत भएको उनले बताए ।

अनियमितताको आशंका

अनलाइन ट्रेडिङ सिस्टममा पटक-पटक समस्या आइरहँदा पनि दीर्घकालीन समाधानको पहल नहुँदा नेप्से नेतृत्वलाई किन कारबाही नगरिएको भन्ने प्रश्न उठ्न थालेका छन् । साथै, अनलाइन ट्रेडिङ सिस्टम स्थापनाका क्रममै कतै ठूलो अनियमितता भएका कारण कमजोर प्रणाली जडान त भएको छैन भन्ने आशंका पनि उब्जिएका छन् । नेप्सेमाथिको नियमन कमजोर देखिएको भन्दै बोर्डकै कार्यक्षमतामाथि प्रश्न उब्जिन थालेपछि समिति नै गठन गरेर ‘नेप्सेले जडान गरेको अनलाइन ट्रेडिङ सिस्टम’का बारेमा अध्ययन गर्ने तयारीमा धितोपत्र बोर्ड रहेको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेप्से प्रमुख भन्छन्‑ टिएमएसमा होइन, नयाँ किसिमको समस्या आयो

नेप्सेको ‘कु‑प्रविधि’ले लगानीकर्तालाई सास्ती

प्रकाशित समय २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु