गृहपृष्ठ चीनको उहानमा आन्तरिक हवाई उडान पूर्ण रूपमा सुरु
चीनको उहानमा आन्तरिक हवाई उडान पूर्ण रूपमा सुरु
कोरोनाभाइरस महामारीको केन्द्रका रुपमा चिनिएको चीनको उहान सहरबाट पूर्ववत रुपमा आन्तरिक उडानहरु सुरु भएको छ ।
उहानमा गत वर्षको अन्त्यतिर कोरोनाभाइरस संक्रमित पहिलो व्यक्ति भेटिएका थिए । त्यसपछि उक्त सहरलाई झण्डै ७६ दिन पूर्ण लकडाउनमा राखिएको थियो । शहरमा कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा फैलिइसकेको भन्दै सरकारले रातारात अस्पतालहरु पनि निर्माण गर्नुपरेको थियो ।
गत अप्रिल महिनाको सुरुमा आंशिक खुला भएको उहानमा जनजीवन विस्तारै खुकुलो हुँदै गएको छ भने आन्तरिक उडान नियमित हुन थालेका छन् । उहान तियान्हे अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले शुक्रबार एकै दिन ५०० वटा आन्तरिक उडानबाट ६४ हजार ७०० यात्रुले सेवा लिएको जानकारी दिए ।
यस विमानस्थलबाट चाँडै नै सियोल, सिंगापुर, क्वालालम्पुर र जकार्ताको उडान सुरु गर्न लागिएको सिन्ह्वा समाचार समितिले विमानस्थलका एक अधिकारी झु झियानीको भनाई उद्धृत गर्दै जनाएको छ । अन्तर्राष्ट्रिय कार्गो सेवा भने देशका प्रमुख औद्योगिक सहर तथा आम्स्र्टडम र नयाँदिल्ली जस्ता गन्तव्यमा सुरु भइसकेका छन् ।
चीनमा झण्डै एक महिनाभित्र स्थानीय रुपमा संक्रमणका कुनै पनि बिरामी भेटिएका छैनन् । आइतबार भेटिएका १० जना संक्रमितहरु अन्यत्रबाट आएका व्यक्ति रहेको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । चिनियाँ अस्पतालमा हाल १५१ जनाको उपचार भइरहेको र ३५७ जनालाई आइसोलेसनमा राखिएको छ । चीनमा कोरोना संक्रमितको कूल संख्या ८५ हजार १८४ जना रहेका र त्यसमध्ये चार हजार ६३४ जनाको मृत्यु भएको थियो । (एजेन्स)
प्रकाशित समय ०७:५२ बजे

















