गृहपृष्ठ अन्तत: ओम्नी समूह एक वर्षका लागि कालो सूचीमा
अन्तत: ओम्नी समूह एक वर्षका लागि कालो सूचीमा
स्वास्थ्य सामग्री खरिदमा सहभागी भइ ‘विवादास्पद’ बनेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) एक वर्षका लागि कालो सूचीमा परेको छ । स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
ओम्नी समूहलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । अब एक वर्ष सार्वजनिक निकायका कुनै पनि खरिद तथा ठेक्का प्रक्रियामा ओम्नी समूहले सहभागी हुन पाउने छैन ।
स्वास्थ्य सामग्री खरिदमा सम्झौताबमोजिम सामान आपूृति नगरेको भन्दै चौतर्फी आलोचना हुँदा समेत सरकारले ओम्नीलाई कालो सूचीमा राख्न नखोजेको भन्दै विरोध भएको थियो । अन्तत: स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।
कोरोना महामारी बढ्दै गएपछि विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन बिनाप्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदका लागि यो समूहसँग सम्झौता गरेको थियो । पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको थियो । ओम्नीले आपूर्ति गरेको र्यापिड टेष्ट किट पनि प्रयोगयोग्य नभएको पाइएको थियो । गत २ अप्रिलमा दोस्रो खेप सामान आइसक्नुपर्नेमा त्यो सम्भव नदेखिएपछि सरकारले सम्झौता भंग गरेको थियो ।

प्रकाशित समय १३:०० बजे

















